२०८१ श्रावण १२
                           

सामुदायिक क्याम्पस सञ्चालनमा देखिएको समस्या समाधान गर्न सरोकारवालाको जोड

 

देवराज सुवेदी

सिन्धुपाल्चोक- सामुदायिक क्याम्पस सञ्चालनमा देखिएको समस्या समाधान गर्न सबै तहका सरकारले ध्यान दिनुपर्नेमा सरोकारवालाको जोड दिएका छन । इन्द्रावती बहुमुखी क्याम्पस मेलम्चीले मंगलबार मेलम्चीमा आयोजना गरेको “उच्च शिक्षामा स्थानीय सरकारको भूमिका ”विषयक अन्तरक्रियामा बोल्दै उनिहरुले आर्थिक अभावका कारण क्याम्पस सञ्चालनमा धेरैनै समस्या देखिएको बताए । अधिकार प्राप्त सरकारले यथासिघ्र ऐन ल्याएर क्याम्पस हरुलाई अनुदान तथा पर्याप्त दरवन्दीको ब्वस्थापन गर्नुपर्ने प्राध्यापक चन्द्रबहादुर श्रेष्ठले बताउनुभयो । उहाँले खोजेको रोजेको विषय पढाउन सके ग्रामिण भेगका क्याम्पसमा विद्यार्थी संख्या बढने बताउनुभयो । उहाँले आयआर्जनको कामलाई पनि ध्यान दिन सके गाँउका क्याम्पस दिगो र बलियो हुनेमा जोड दिनुभयो । उहाँले क्याम्पसहरु आवश्कता अनुसार गाभ्नु पर्ने बताउनुभयो । त्यस्तै शिक्षाविद डा. चन्द्रप्रसाद लुइँटेलले नीति बनाएर स्थानीय सरकारले अनुदान दिने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।अल्झाउने तरिकाले सञ्चालन गर्नुभन्दा त्यस्ता क्याम्पस बन्द गर्नुपर्ने सुझाव दिनुभयो ।

मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले शिक्षालाई रोजगारीसँग जोड्नुपर्ने बताउनुभयो । तामाङले नीति बनाएर सामुदायिक क्याम्पस सञ्चालनमा नगरले आबश्यक सहजीकरण गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले नगर पालिकाले आगामी आर्थिक वर्षबाट कक्षा ९ र १० मा दिवा खाजा व्यवस्थापन गर्ने जानकारी दिनुभयो । कार्यक्रममा उपप्रमुख उमा प्रधान र प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धिताल लगायतले उच्च शिक्षा सञ्चालनमा स्थानीय सरकारले गर्न सक्ने सहयोगको विषयमा छलफल गरेर अघि बढ्ने बताउनुभएको थियो ।

नगरका सामाजिक विकास समितिका संयोजक मेलम्ची —१० का अध्यक्ष अमृत खनालले नगरले शिक्षा क्षेत्रमा गरेका कार्यको जानकारी गराँउदै विपन्नलाई छात्रबृत्ति प्रदान गरेर गाँउमै गुणस्तरिय शिक्षा दिनुपर्नेमा जोडदिनुभयो । तेर्से माध्यमिक विद्यालयका प्रधानाध्यापक योगबहादुर अर्याल लगायत अन्य प्रधानाध्यापक तथा शिक्षकहरुले ११ कक्षामानै विद्यार्थी संख्या न्युन रहेकोमा चिन्ता व्यक्त गर्नुभयो । कार्यक्रममा क्याम्पस प्रमुख राधाकृष्ण श्रेष्ठ, क्याम्पस सञ्चालन समिति अध्यक्ष सिपि दुलालले सडक, विजुली संगै शिक्षालाई पनि स्थानिय सरकारले उतिक्कै ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँहरुले अन्य स्थानमा अनुदान दिएको उदाहरण दिँदै मेलम्ची नगरले पनि यस तर्फ ध्यान दिन आग्रह गर्नुभयो । दुलालले नयाँ कार्यसमिति बने संगै आफुहरु गुणस्तरिय शिक्षाका लागि लागि परेको बताउनुभयो । कार्यक्रममा स्ववियू सभापति किसन दुलाल तथा अन्य पदाधिकारी , वडा अध्यक्षहरु क्याम्पस सञ्चालन समिति सदस्यहरु लगायतको उपस्थिति रहेको सञ्चालन समिति उपाध्यक्ष एकलाल श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्