चौतारा साँगाचोकगढी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा पाठेघरको मुखको क्यान्सर सम्बन्धि प्रारम्भिक जाँच एवं मोतियाविन्दु (आँखा सम्बन्धि ) १ दिने स्वास्थ्य शिविर वडा नं ६ स्थित वडाकार्यलय पिपलडाँमा सम्पन्न भएको छ ।
उक्त शिविरमा ७४ जना वडाबासिहरुले सेवा लिएका छन् । जसमध्ये महिला ६८ जना पुरुष ४ रहेका थिए । शिविरमा ४ जना महिलाहरुमा आङ खस्ने समस्या देखिएको छ भने जसमध्ये १ जनामा क्यान्सरका लक्षण देखिएको र विरामीलाई थर्मकोगुलेसन प्रविधिबाट उपचार गरिएको छ ।
आँखा परीक्षणमा ६ जनालाई मोतियाविन्दु भएको पाइएको जनस्वास्थ्य अधिकृत दिनेश नेपालले जानकारी दिनुभयो । यीमध्ये पनि २ जनाको दुवै आँखामा मोतियाविन्दु भएको पाइएको नेपालले बताए ।
यसै सन्दर्भमा चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्ण प्रसाद सापकोटाले मोतियाविन्दु भएकाहरुलाई नगरपालिकाले आयोजना गर्न लागेको निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविरमा सेवा लिन आग्रह गरे ।
मेयर सापकोटाले यस्तै शिविर अन्य वडाहरुमा पनि क्रमश सञ्चालन गर्ने जानकारी दिए । नगरपालिकाको सबै वडाहरुमा शिविर हुने भएकाले सेवा लिन नगरबासीलाई अनुरोध समेत गर्नुभयो । फागुन १५ गतेदेखि क्रमश प्रत्येक वडाको तोकिएको स्वास्थ्य संस्थाहरुमा निशुल्क स्वास्थ्य परिक्षण शिविर सञ्चालन भइरहेको छ ।
नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा पाठेघरको मुखको क्यान्सर सम्बन्धि प्रारम्भिक जाँच एवं मोतियाविन्दु आँखा सम्बन्धि निशुल्क शिविर हुने जनस्वास्थ्य अधिकृत नेपालका अनुसार फागुन १८ गते वडा नं १ स्याउले स्वास्थ्यचौकी, फागुन १९ गते वडा नं ३ बतासे स्वास्थ्यचौकी, फागुन २० गते वडा नं २ बतासे आधारभुत स्वास्थ्य सेवा केन्द्र, फागुन २१ गते वडा नं १० जल्किने स्वास्थ्यचौकीमा शिविर हुनेछ ।
उक्त शिविरमा पहिचान भएका मोतियाविन्दु विरामीहरुलाई नगरपालिकाको आयोजना र नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको प्राविधिक सहयोगमा फागुन २०,२१ र २२ गते निशुल्क शल्यक्रिया गरिने मेयर सापकोटाले बताए ।
प्रतिक्रिया दिनुहोस्