२०८२ माघ ६

भीडमाथि उभिएको भविष्य

यो तस्बिर केवल एक क्षणको दृश्य होइन, यो पुस्तान्तरणको गहिरो कथा हो । हरियो वनको पृष्ठभूमिमा, अनुभवी अनुहारहरूको भीडमाथि उभिएकी सानी बालिकाले समयको दुई किनारालाई एउटै फ्रेममा बाधिदिएकी छिन् । तल बसेका आमाबुबा र हजुरआमाका अनुहारमा जीवनका रेखाहरू स्पष्ट छन् । जसले संघर्ष, धैर्य र निरन्तरताको संकेत दिन्छ । उनीहरूकै काँधमा उभिएकी बालिका भने भविष्यको प्रतीक बनेर निश्चल आँखाले टाढा हेर्दैछिन् ।
बालिकाको दृष्टि जिज्ञासाले भरिएको छ । के उनी आफू उभिएको स्थानको अर्थ बुझ्छिन् ? सायद बुझ्दिनन् । तर त्यो स्थान आफैंले धेरै कुरा भन्छ, अघिल्ला पुस्ताले बोकेको जिम्मेवारी, गरेको त्याग र आगामी पुस्तामा सुम्पिएको आशा ।
भीडमा देखिने महिलाहरूका पहिरन, अनुहारका भाव र आपसी सम्बन्धले समुदायको सामूहिक जीवन झल्काउँछ । यहाँ व्यक्ति मात्र होइन, संस्कार बोल्छ, इतिहास मात्र होइन, वर्तमान बोल्छ । समाजले बच्चालाई काँधमा चढाउँछ, ताकि उसले अगाडि देखोस् । जहाँ पुग्न अघिल्ला पुस्ताहरू चाहन्थे तर पुग्न सकेनन् ।

प्रतिक्रिया दिनुहोस्