२०८१ श्रावण १२
                           

व्यापार सहजीकरण गर्न व्यवसायी र भन्सारबीच छलफल

रामकृष्ण थापा-

तातोपानी/ सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ र नेपाल हिमालय सीमापार वाणिज्य संघको नयाँ नेतृत्व टिमसँग तातोपानी भन्सार कार्यालयले शुक्रबार अन्तर्कि्रया गरेको छ ।

चीनसँगको व्यापारमा लामो समयदेखि क्रियाशील दुवै संस्थाको नयाँ नेतृत्व टिमलाई तातोपानी भन्सारले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएको तातोपानी भन्सारका सूचना अधिकारी सूर्यप्रसाद काफ्लेले जानकारी दिए ।

नेपाल हिमालय सीमापार वाणिज्य संघका सचिव युवा व्यवसायी आङ्दोर्जे शेर्पाले दिएको जानकारीअनुसार संघको नयाँ कार्यालय खोकुण्डोलमा स्थापना गरिएको र अध्यक्ष रामहरि कार्की, वरिष्ठ उपाध्यक्ष सागर घिमिरे र पदाधिकारी टिमले उद्घाटन गरेका छन् । संघले तातोपानी विभागको संयोजक शेर्पालाई नै तोकेको छ ।

नेपाल ट्रक कन्टेनर ढुवानी लिमिटेडका अध्यक्ष अर्जुनबहादुर सापकोटाले नेपाली कन्टेनर खासा प्रवेशबारे गहन छलफल भएको बताए । अन्तर्किया कार्यक्रममा तातोपानी नाकासंवद्ध व्यापारी र व्यवसायीले बाह्रबिसेदेखि लिपिङसममको सडक, सरकारी संरचना, पूर्वाधार, यार्ड व्यवस्थापन र कन्टेनर खासा प्रवेशबारे भन्सारसँग छलफल गरेको छ । ‘हामीले तातोपानी नाकाको व्यापार सहजीकरण कसरी गर्ने भन्ने विषयमा प्रारम्भिक छलफल गर्याैँ,’ सचिव शेर्पाले भने, ‘नेपाल र चीनबीचको असल व्यवहार जीवन्त राख्न दुवै देशका परराष्ट्रस्तरीय कूटनीतिक च्यानलले काम गर्न पर्छ भनेर सुझाव पेश गरिएको छ ।’ तातोपानी नाकालाई सहज पार्ने उपायबारे सरोकारवालाबीच छलफल जारी रहेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका महासचिव इश्वर गुभाजूले जानकारी दिए । आयातमात्रै होइन निर्यात र स्थानीयलाई व्यापारसँग कसरी जोड्ने भन्ने विषयमा संघले काम गरिरहेको उनले प्रष्ट्याए ।

खासा पुनर्निर्माण जारी रहेकोले नेपाली कन्टेनर प्रवेशको विषय तत्कालका लागि जटील रहेको भन्सारका सूचना अधिकारी काफ्लेले स्पष्ट पारे । तर, कन्टेनर संघका अध्यक्ष अर्जुन सापकोटाले दुवै देशलाई मान्य हुने गरि नेपाली कन्टेनर छिटो खासा प्रवेश गर्न सरकारले पहलकदमी लिनुपर्ने अडान दोहोर्याए । भन्सारको गोदाम, ट्रान्सपोर्ट कम्पनी, आयात÷ निर्यात सहज बनाउन व्यापारी र भन्सार कर्मचारीबीच सकारात्मक छलफल भएको छ । अघिल्लो महिना तीन नेपाली कन्टेनर खासा नजिक रमिते पुगेर फर्केका थिए । त्यसयता कन्टेनर प्रवेश भएका छैनन् । दुवैतर्फका व्यापारीबीच पार्किङ, जिउधनको सुरक्षा र समग्र विषयमा सहमति नभइ खासा जाँदा नेपाली पक्षलाई जोखिम आउने भएकोले यसतर्फ सचेत भएर सरकारले पहल लिनुपर्ने व्यापारी नेतृत्व तहको सुझाव छ । भूकम्पपछि हुक एण्ड ड्रप प्रणाली लागू गरिएको छ । जसकारण नेपाली कन्टेनर खासा जान पाएका छैनन्

प्रतिक्रिया दिनुहोस्