सिन्धुपाल्चोक– चौतारा साँगाचोकगढी नगरमा सम्पन्न नेकपा नगर कमिटीको आन्तरिक बैठकमा आगामी स्थानीय तह निर्वाचनका लागि जेनजी (Gen Z) उमेर समूहबाट मेयरको उम्मेदवार उठाउनुपर्ने विषय प्रमुख रूपमा उठेको छ ।
बदलिँदो राजनीतिक र सामाजिक परिवेशमा पार्टीलाई नयाँ पुस्तामुखी बनाउँदै युवाको ऊर्जा, सिर्जनशीलता र प्रविधिमैत्री सोचलाई नेतृत्वमा ल्याउनुपर्ने बैठकमा सहभागी मिलन लामाले बताएका थिए । `युवालाई उम्मेदवार बनाउनु आवश्यक छ किनकि उनीहरूमा नवीन सोच, ऊर्जा र परिवर्तनको नेतृत्व गर्ने क्षमता हुन्छ´ लामाले बैठकमा भनेका थिए ।
युवाप्रति आकर्षण बढाउन, संगठनलाई दीर्घकालीन रूपमा सशक्त बनाउन र समयको मागअनुसार राजनीति अघि बढाउन अब युवा नेतृत्वलाई प्राथमिकता दिनु अपरिहार्य भएको अर्का सहभागी सुवास गौतमले बताएका थिए । `बदलिँदो सामाजिक र राजनीतिक परिवेशलाई बुझेर समयसापेक्ष निर्णय लिन युवा पुस्ता बढी सक्षम छन्´ गौतमले बैठकमा भनेका थिए `युवा नेतृत्वले पार्टीप्रति नयाँ पुस्ताको आकर्षण बढाउने र दीर्घकालीन रूपमा सशक्त राजनीति निर्माण गर्न युवालाई उमेदवार बनाउनुपर्छ ।´
वर्तमान नेपाली राजनीतिमा पनि युवामै केन्द्रित हुने प्रवृत्ति बलियो बन्दै गएको स्पष्ट संकेत गरेको निष्कर्ष बैठकले निकालेको छ ।
बैठकमा केन्द्रीय सदस्य सोम सापकोटा, प्रेम सापकोटा, गोविन्द पराजुली, नगर इन्चार्ज समर तामाङलगायत नगर तथा जिल्ला कमिटीका नेताहरु सहभागी थिए ।
त्यस्तै बैठकले निर्वाचनको समिक्षा तथा आगामी स्थानिय निर्वाचनको तयारी र पार्टीको वडा स्तरसम्म बैठक तथा कार्यक्रमहरु संचालन गर्ने निर्णय गरेेको छ ।
नेपाल सन्दर्भबाट
प्रतिक्रिया दिनुहोस्