२०८१ श्रावण १२
                           

पत्रकार महासंघलाई सदस्यता टुंगो नलगाई अधिवेशन नगर्न प्रेस युनियनले ज्ञापनपत्र बुझाए

चैत्र २१,चौतारा । नेपाल प्रेस युनियन जिल्ला शाखा सिन्धुपाल्चोकले पत्रकार महासंघको सदस्यता प्राप्त गर्नेहरुको टुँगो नलगाउँदासम्म जिल्ला अधिवेशन नगर्न माग गरेको छ ।

नयाँ आवेदन दिएका र पुराना सदस्य समेत सबैको टुँगो लगाएर मात्र महासंघको साधारणसभा गर्न माग गरेको छ । साथै युनियनले महासंले चालेका हरेक गतिविधिमा सहकार्य गर्न आफू तयार भएपनि सदस्यताको विषय टुँग्याएर साधारणसभा र अधिवेशन गर्न माग गर्दै बुधवार पत्रकार महासंघ जिल्ला शाखामा ज्ञापनपत्र बुझाएको हो ।

महासंघका अध्यक्ष जिवन प्रसाद श्रेष्ठसंग भेट गरी प्रेस युनियनका शाखा अध्यक्ष किशोर बुढाथोकी सहितको टोलीले ज्ञापनपत्र बुझाएका हुन् ।
‘जिल्लामा रहेका सञ्चारमाध्यममा श्रमजिवी पत्रकार ऐन कार्यान्वयन, न्यूनतम पारिश्रमिक वृद्धि, पारिश्रमिकको नियमित भुक्तानी, पेशागत सुरक्षा, सामाजिक सुरक्षा बारे ध्यान दिन पनि अनुरोध गर्दछौं’–ज्ञापनपत्रमा भनिएको छ ‘पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको सदस्यता टुंगो नलगाई अधिवेशन सम्बन्धी कुनै पनि गतिविधि अगाडि नबढाउन अनुरोध छ ।’

महासंघले गरेको सदस्यता शुद्धिकरण अभियानले अहिले पूणर्ता पाएको छैन । सिन्धुपाल्चोक शाखाको हकमा पुरानो सदस्य को रहने, को नरहने भन्ने अझै अन्योल छ । नयाँ सदस्यताको पनि उस्तै अवस्था रहेको छ । सिन्धुपाल्चोकमा रहेर पत्रकारिता गरिरहेकाहरुले पछिल्लो १० वर्षदेखि सदस्यता पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्