२०८१ जेष्ठ ५

हाइड्रोमाथि लगातार आक्रमण

जलबिरे- जुगल गाउँपालिकामा १३ वटा जलविद्युत आयोजनाको काम सञ्चालनमा छ । तर, केही स्थानीयको अबाञ्छित गतिविधिले आयोजनासंवद्ध व्यवसायी निराश बनेका छन् ।

व्यवसायी र निर्माणको ठेक्का पाएका निर्माण व्यवसायीलाई धम्क्याएर अनावश्यक रकम माग्ने गरेकोले निर्माणाधीन जलविद्युतको सुरुकै काममा ठूलो असर परेको हो । काम सुरु गर्न आयोजना गरिएका सार्वजनिक सुनुवाईमै आक्रमण गर्ने, ढुंगामुढा गर्ने र व्यवसायीलाई हतोत्साही बनाउने गरिएको छ ।

गत महिनामात्रै बिजी इन्भेष्टमेन्ट प्रालिले आयोजना गरेको सार्वजनिक सुनुवाईमा ढुंगाले आक्रमण गरेर लगानीकर्ता र ठेकेदारलाई निराश पारिएको थियो । ३५ मेगावाट क्षमता रहेको बिजी हाइड्रोमा ढुंगामुढा गर्ने बोल्देका स्थानीय पासलाल तामाङ र जंग तामाङको टोलीले बिहीबार पनि अर्को हाइड्रोमा आक्रमण गरेका छन् ।

३५ मेगावाट क्षमताको सीता हाइड्रोपावर कम्पनीले बिहीबार आयोजना गरेको सार्वजनिक सुनुवाईमा तामाङद्वयबाट पुनः ढुंगामुढाले आक्रमण भएको हो । कार्यक्रममा पुगेको प्रहरीलाई समेत दबाबमा राखेर आक्रमण भएपछि सुरक्षा संवेदनशीलता बढेको छ । हाइड्रोको सुरक्षा संवेदनशीलतालाई प्रहरीले बुझेको र त्यहीमुताबिक आगामी दिनमा प्रहरी परिचालन हुने जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । ‘सुरक्षा संवेदनशीलता हाम्रो प्राथमिकतामा पर्छ,’ काफ्लेले भने ।

जुगलमा निर्माणको अवस्थामा रहेका हाइड्रोपावरलाई सुरक्षा खाँचो परेको व्यवसायी तथा सीता हाइड्रोपावरका प्रमुख सीताराम तिमल्सिनाले बताए । लगानीकर्ता र व्यवसायीसँग रकम बार्गेनिङ गरेर दुःख दिने काम भइरहेको उनले प्रष्ट्याए । जुगलमा निर्माणाधीन जलविद्युत राष्ट्रिय गौरवकै आयोजना हुन् भन्दा पनि फरक पर्दैन । यी आयोजना सम्पन्न भएपछि जुगलको मुहार फेरिने र जनताको जीवनस्तर माथि उठ्ने जुगल गाउँपालिकाका सामाजिक अभियन्ता रेशम स्याङ्बोले बताए । आक्रमण रोक्न र आक्रमणकारीलाई कानूनी कठघरामा ल्याउन व्यवसायीले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्