रामकृष्ण थापा/ सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको एघारौं अधिवेशन सन्निकट छ । अध्यक्ष र महासचिवका उम्मेदवारमा आकांक्षा राख्ने व्यापारी र व्यवसायीले व्यापार, व्यवसाय र उद्यमीलाई केन्द्रमा राखेर विभिन्न एजेन्डा प्रस्तुत गरेका छन् । अध्यक्षका आकांक्षी बुद्धराज बस्नेत, सुमन खत्री, अमृत कार्की र शम्भु तिमल्सिनाले आफ्नो एजेन्डामा केही नयाँ विषय समावेश गरेका छन् । महासचिवमा दाबी गरिरहेका ईश्वर गुभाजुले पनि आफ्नो एजेण्डा राखेका छन् ।
दशौँ अधिवेशनबाट सर्वसम्मत निर्वाचित वर्तमान अध्यक्ष राजकुमार बस्नेत ( होमबहादुर ) ले संघको हितका लागि थुप्रै काम सम्पन्न गर्न सफल भए । लगभग आधा कार्यकाल कोरोना महामारीमा बिते पनि बिगतमा भन्दा यो पटक अध्यक्ष बस्नेतले बढी काम गरे । कोरोना कालमा १२ वटै पालिकामा स्वास्थ सामग्री पुर्याएको संघले इमर्जेन्सी समयमा गाउँगाउँमा राहत सामग्री सहयोग र ढुवानीमा समय खर्च गरेको थियो ।
मेलम्ची र हेलम्बुका बाढी प्रभावितलाई राहत सामग्री हस्तान्तरण गर्याे । बाटो सबै बाढीले बगाएको बेला सुरक्षा निकायसँग मिलेर खाद्यान्न र अत्यावश्यक सामग्री ढुवानी गर्न सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ सधैँ अग्रसर रह्यो । भिमटारस्थित माझी गाउँमा मेसिन लगेर त्यहाँका किसानलाई अतिरिक्त समयमा आम्दानी गर्ने बनायो ।
संघले खेलकुद क्षेत्रमा धेरै सहायता गरेको छ । उद्धार र राहतमा धेरै समय दिएर सहयोग पुर्याएकोले नेपाल उद्योग वाणिज्य महासंघले सिन्धुपाल्चोकलाई अग्रस्थानमा राखेको छ । कर शिक्षा प्रदान गरेर व्यापारी , व्यवसायी र उद्यमीलाई सचेत पारिएको छ । ‘समग्रमा हामीले जिल्लाको सबै क्षेत्र, पेशा र व्यवसायलाई साथ दियौँ र सँगै रहेर काम गर्याैँ’, बस्नेतले भने । बाह्रबिसे र चौतारामा संघको कार्यालय स्थापना भएको र आगामी दिनमा मेलम्चीमा पनि स्थापना गर्ने उनले बताए ।
आकांक्षीका एजेण्डा
बुद्धराज बस्नेत
१.भौगोलिक कारणले ठूला उद्योगहरु सन्चालन गर्न नसके पनि जिल्लामा सञ्चालनमा आएका साना वा घरेलु उद्योगहरुसँग समन्वय गरि कार्य गर्ने र बजारको व्यवस्थापन गर्न सहयोग गर्ने ।
२.१०३ वटै वडाका साना ठूला उद्योगी,व्यवसायीहरुलाई संघमा समेटेर जिल्लाभर संघको पहुँच पुर्याउने ।
३.भूकम्पपछि बन्द भएर भर्खरै खुलेको तातोपानी नाकालाई पहिलाको जस्तै पूर्णरुपमा सञ्चालन गर्न सम्बन्धित निकायहरुसँग छलफल गर्ने ।
४.कृषिलाई आधुनिकीकरण गरी व्यावसायिक रुपमा अगाडि बढाउन संघले पहलकदमी लिने ।
५.सम्पूर्ण व्यापारी व्यवसायीहरुसँग समन्वय र छलफल गरि संघको आर्थिक अवस्था मजबुत बनाउने ।
सुमन खत्री
१.नेपालबाट “थर्ड कण्ट्री” बीच हूने व्यापारलाई सहजीकरण गर्न । डामाडोल अर्थतन्त्रको सुधार तथा राज्यबाट व्यापारी माथि हुने असमान व्यवहारको अन्त्य गर्न जोड दिने ।
२.सरकारी निकाय र उद्यमी बीचको बेमेलको अन्त्य गर्ने । मूलतः सिन्धुलाई नेपाल–चीन बीचको व्यापारिक हब निर्माणका निम्ति काम गर्ने ।
३.सिन्धुमैं स–साना उद्यम गर्ने देखि मझौला तथा ठूला उद्यम गर्ने वातावरण निर्माण गर्ने । “उद्यम” र “उद्यमी” को दीर्घकÞालीन हितका लागि लड्ने ।
४.दलीय भिजनभन्दा माथि उठेर संस्थाको गतिविधिलाई “उद्यमी र उद्योग” को हितमा सदुपयोग गर्ने । सरकारलाई उद्यमीका पक्षमां “राय–सुझाव र आवश्यक पर्दा दवाब” दिन सक्ने नेतृत्व सिन्धुले खोजी रहेछ, जून नेतृत्व दिन सामूहिक भावना चाहिन्छ । त्यो मेरो प्राथमिकताको विषय हो ।
५.“हलो देखि हाइड्रो” र नेपाल–चीन बीच आयात–निर्यातको विषय मूल रूपमा सिन्धुको उद्योग बाणिज्य संघसँग जोेडिने भएकोले यो विषयमा सामूहिक भिजन प्रस्तुत गरेर संघको गरिमा उठाउने विषयमा आफूलाई केन्द्रित गर्ने छु ।
अमृत कार्की
१.हाम्रो छिमेकी मुलुक चीन र भारतबाट हुँदै आएको आयातलाई ब्यवस्थित र सभ्य बनाएर राज्यलाई बढी फाइदा दिलाउने ।
२.आयातको साथसाथै निर्यात प्रवद्र्धनमा जोड दिने । नेपाली वस्तु निर्यातका लागि भूमिका खेल्ने ।
३.मैले सञ्चालन गरेको अरनिको पेपर, मैथु पेन्ट्स र ब्ल्याक हर्स सुज जस्तै उद्योग स्थापना गर्ने । जिल्लामा उद्योग सञ्चालन गरेर युवालाई रोजगार दिने ।
४.कृषिमा आधारित उत्पादनलाई बढाएर कृषिजन्य उद्योग स्थापना गर्न जोड दिने । यसबाट हजारौँ युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ । मेरो कार्यकालमा कृषिमा आधारित साना, मझौला र ठूला उद्योग स्थापनाका लागि राज्यका निकायसँग अनुरोध र समन्वय गर्ने ।
५. सम्पूर्ण उद्योगी, व्यवसायी , व्यापारी र कृषिमा आधारित उद्यमीसँग सम्मेलन गरेर निर्यात गर्ने वस्तु उत्पादनको नीति तयार गर्ने ।
शम्भु तिमल्सिना
१.जिल्लाभरिका साना, मझौला र ठूला व्यापारी, व्यवसायी र उद्योगीलाई संघ छ भन्ने आभाष दिलाउँछु ।
२.चीनको तिब्बतसँग जोडिएको जिल्ला भएकोले ठूलो देशको नजिकको बजारलाई लक्षित गरेर भूगोलअनुसार उत्पादनलाई जोड दिने ।
३.संघको सेवा केन्द्रीय कार्यालय बाह्रविसे, शाखा कार्यालय चौतारा र मेलम्चीबाट दिदै आएकोमा अब १२ वटा स्थानीय तहबाट सेवा दिने प्रबन्ध मिलाउने छु ।
४.संघलाई आर्थिक रूपमा मजबुत बनाउन दीर्घकालीन आयश्रोतको योजना बनाउने ।
५.संघ जिल्लाभरिका उद्योगी,व्यापारी र व्यवसायीको छाता संगठन भएतापनि आमउपभोक्ता जनतासँगको जीवनशैलीमा जोडिने विषय र जिम्मेवारी भएको कारण उपभोक्तामैत्री वातावरण सिर्जना गर्ने । एक व्यक्ति एक सदस्यको अवधारणा ल्याउने ।
ईश्वर गुभाजु
१.युवाहरुलाई उद्यमी बनाउन लागि पर्ने र संघबाट प्रेरित गर्ने ।
२.कालोबजारी अन्त्य गर्ने नीति बनाउने र कडाइपूर्वक लागू गर्ने ।
३.सिन्धुपाल्चोक जिल्लामा कर कार्यालय स्थापनाको लागि राज्यका सम्बन्धित निकायमा पहल गर्ने ।
४. सबै उद्योगी, व्यवसायी र व्यापारीलाई सिन्धुपाल्चोक उद्योग वाणिज्य संघप्रति आशा र विश्वास बढाइ प्रगाढ सम्बन्ध कायम गर्ने ।
५. व्यवसाय दर्तामा प्रोत्साहन दिएर करमुखी बनाउने ।
प्रतिक्रिया दिनुहोस्