२०८१ असार २

ठूली आमा

अनुशील सापकोटा – ठूली आमाको उदास अनुहार मलाई कहिल्यै याद भएन। उमेरसँगै चाउरी बढे पनि मुहारमा कान्ति घटेको पनि देखिनँ। मुटुका टुक्रारूपी दुई छोरालाई पालैपालो गुमाउँदा मनमा सल्केको आगोको धुवाँले पनि उहाँलाई अँध्यारो बनाएन। हुन त झिल्को मात्रै त के हुनु र? उहाँको जीवनमा एकपछि अर्को डढेलो नै लागेको थियो। भएका दुई छोरापछि आफ्नो जीवनसाथीले पनि ठूली आमालाई बीच बाटोमै छोडेर जानुभयो।

ठूली आमालाई सम्झँदा उहाँले पकाएको चिप्ले भिँडी र आलुको तिउन भुल्नै सक्दिनँ। खाना खाँदै गर्दा आफूले सानो बेलामा चामलको भात खान दसैं तिहार वा त्यस्तै अवसर कुर्नुपरेको बताउँदा पत्याउनै मुस्किल पर्थ्यो।

४५÷४६ सालतिर गाउँमा पहिलो पटक पानीबाट चल्ने मिल आउनुअघिको कुरा गर्नुभएको होला।

’हाम्रो पालामा त कति गाह्रो थ्यो नि बाबै! अहिलेजस्तो धेरै धान हुँदैनथ्यो चाडबाडलाई राखिन्थ्यो। धान कुट्ने मिल थिएन, रातभरी ढिकी कुट्यो अनि सबैरे घरधन्दा सकेर घाँस काट्न जानुपर्थ्यो’ भन्दै गर्दा उहाँमा अनौठो भाव देखिन्थ्यो।

सायद अहिलेको जस्तो प्रविधि भएको भए उतिबेलाको जीवन त्यति कठिन हुँदैनथ्यो भन्ठान्नुभएको हो कि!

’चाडबाड बाहेकका दिन त झन् कति धेरै गाह्रो नि! घरधन्दा भ्याइओरी जँघारे (घरबाट झण्डै डेढ घण्टा टाढा) पुगेर घाँस ल्याइपु¥याउँदा त दिउँसो भइसक्थ्यो, ढिँडो चिसो भइसक्या हुन्थ्यो’ भन्दै गर्दा कता कता हराएको जस्तो देखिनुहुन्थ्यो।

ीबहmष् दबलप
माइली छोरी भए पनि आठ वर्षको उमेरमा जेठी बुहारी बनेर भित्रिनुभएकी ठूली आमालाई आफ्नो बिहे भएको त थाहा भयो तर बिहे भनेको के हो चाहिँ थाहा थिएन। बिहे भएपछि केही वर्ष माइतीमा नै बसेर फर्किनुभएको थियो अरे।

२००२ सालमा जन्मनुभएकी ठूली आमा जस्तै त्यतिबेलाका आमाहरूको बिहे कलिलैमा हुन्थ्यो।

’केटाकेटीमा के थाहा हुन्थ्यो र कान्छा (मलाई कान्छा भनेर बोलाउनुहुन्थ्यो) बिहे भन्या के हो भनेर? वरिपरि मान्छे– मान्छे, बाजागाजा, डोलीमा चढेर आउँदा त रमाइलै थ्यो नि’ आफ्नो बिहेलाई सम्झने कोसिस चाहिँ गर्नुहुन्थ्यो। हुन पनि उहाँलाई के थाहा त्यही बिहेले आमाको काख छुटाउँछ भनेर। सधैंलाई पराई घर जानुपर्छ भनेर। भाँडाकुटी खेल्दाखेल्दै साँच्चिकै भात–भान्सा, दाउरा–घाँसको कुटी जीवनभरिको भारी बनेर आउँछ भनेर।

मलाई ठूली आमासँगका सम्झना ५४ सालपछिको मात्रै अलिक गाढा छ। त्यसअघिका केही धुमिल याद मात्रै छन्। हाम्रा बुवाहरू चार दाजुभाइको व्यवहार अलग भएता पनि घर भने एउटै थ्यो। लामोघर भन्थे। सबभन्दा बायाँपट्टी ठूली आमाको परिवार बस्थ्यो। उहाँको नाम युवमाया हो तर सबैले ठूली आमा नै भन्थ्यौं।

उहाँका चार सन्तानमध्ये दुई छोरीहरूको विवाह भइसकेको थियो। आफूसहित श्रीमान (ठूलाबा), जेठो छोरा (रेवती दाई), बुहारी (रेवती दाइको जीवनसाथी) र कान्छो छोरा (प्रेम दाइ) हुनुहुन्थ्यो। रेवती दाइको एक छोरी र एक छोरा थिए। ५२ साल पश्चात जनयुद्धको प्रभाव परेपछि रेवती दाइ भूमिगत हुनुभएछ।

दाइ कहिलेकाहीँ मात्रै घर आउनुहुन्थ्यो। दाइको छोरी त अलिक ठूलै भइसकेकी थिइन्। छोरा चाहिँ ५३ साल माघमा जन्मेका हुन्। रेवती दाइ ५४ सालको अन्तिमतिर घर आउनु भएको थियो। साँझपख आउँदा छोरा सुतेको बेला परेछ। दाइले निदाएको बेला किन उठाउनु भनेर हेरेर मात्रै फर्किनुभएछ। त्यसको दुई महिनापछि ५५ साल जेठ ३२ गते त प्रहरीसँगको झडपमा दाइ बित्नुभएको खबर आयो।

खबर आउँदाको क्षण राम्रोसँग याद नभए पनि दाइको श्रद्धाञ्जली कार्यक्रम भने सम्झन्छु। हाम्रो घर माथ्लो पट्टी समीको बोट मुनि चौतारी थियो। चर्को गर्मीमा समीको रूखले शीतलता दिन्थ्यो।त्यही चौतारीमा भएको श्रद्धाञ्जली कार्यक्रममा दाइको सम्झनामा सबैजना भावविह्वल थियौं। अरूलाई के भयो कुन्नी ठूली आमाको भत्भती पोलेको मन समीको बोटले शितल बनायो कि बनाएन होला!

समीको पातभरी छोराको मात्रै चित्र आउँदा पातलाई छोउँ–छोउँ भयो कि भएन होला? हुन त छोराको चित्र हेर्दा–हेर्दै हावाले पात हल्लाइ दिएपछि झसङ्ग पो हुनुभयो कि! शायद हल्लिँदा–हल्लिदै त्यो पातबाट दाइ कतै विलिन भए होलान्।

ठूली आमालाई सन्तानले छोडे पनि दुःखले कहिल्यै छोडेन। झन् थपिँदै गयो। घर व्यवहार त छँदै थियो। दैनिकजसो पाहुनाहरू आइरहन्थे। सबैरै घरधन्दा, दिउँसो घाँस–दाउरा अनि साँझ बिहान पाहुनालाई पनि भात भान्सा गर्नुपर्ने बोझले झन् थिच्दै गयो।

कहिलेकाहीँ त खान्की बनाएर लगिदिनुपर्ने पनि हुन्थ्यो। त्यस बीचमा मैले उहाँलाई बेचैन भने कहिल्यै पाइनँ। प्रेम दाइ पनि जेल परेर फर्किनुभएको थियो ५७ सालमा। उहाँ पनि भूमिगत हुने कुरा चल्यो। छोराले जान्छु भनेपछि ठूली आमाले नाइँ त भनिहाल्नु भएन। तर मनमनै कति चोटी भन्नुभयो होला ’बाबु नजाऊ’ भनेर!

बाँकी भएको एउटा छोरालाई फेरि भूमरीमा कसरी पठाउँ भन्ठान्नु भयो होला!

’तिम्रो दाजु पनि बित्यो, उसका केटाकेटी सानै छन्, म बुढी आमालाई छोडेर नजाऊ न बाबु’ भन्न खोज्नुभएको थियो त होला नि!

फेरि एकदिन ठूली आमाको जीवनमा बज्रपात प¥यो।

५८ साल मंसिरमा कान्छो छोरा पनि बितेको खबर आयो। १० गते सोलुखुम्बुको सल्लेरीको लडाइँमा प्रेम दाइ बित्नुभएछ। हुर्केका सबै छोरा पालैपालो बित्दा एउटी आमालाई कस्तो अनुभूति हुन्छ होला? खबर सुन्ने बित्तिकै मनमा आएको आँधी कसरी थामियो होला? आफ्नो छोरालाई काँडा बिझ्दा आत्तिने मन आज गोली नै लागेको सुन्दा कसरी सम्हालिनुभयो होला? ठेस पनि नलागोस् भनेर जतन गरी हुर्काएका छोराहरू नै अब कहिल्यै नफर्किने गरी अस्ताए भन्ने सुन्दा पत्याउनु भयो कि भएन होला? कान्छो छोराको बिहे गर्ने धोको पनि अधुरै रह्यो ठूली आमाको।

खबर सुनेर सबै वेचैन थियौं। फुपाजु, माइलाबा, माइलीआमाहरू ठूलीआमालाई सम्झाउँदै हुनुहुन्थ्यो।

केही दिनपछि नै मैले ठूलीआमालाई सामान्य अवस्थामा नै देखेँ। बरू कान्छो छोरा पनि बितेपछि ठूलाबा चाहिँ झोक्राएर बस्नुहुन्थ्यो। टोलाइरहने, खानपानमा असाबधानी र औषधि पनि नियमित रूपमा नखाने हुँदा रोगले च्याप्दै लग्यो र ६१ सालमा उहाँ पनि बित्नुभयो। त्यतिबेला म ठूलाबाको अन्तिम बिदाइमा घर पुग्न त पाइनँ तर पछि ठूलीआमासँग भेट्दा एकपछि अर्को आफ्ना प्रियजन गुमाउँदा पनि उहाँमा आत्मबल गुमेको भने पाइनँ। पीडा जति सबै सकिएर शून्य हुनु भएको पो हो कि? वा सायद जतिसुकै ठूलो प्रलय आए पनि जीवनको गाडी त गुडाउनै पर्छ भन्ठान्नुभयो कि?

ठूली आमाले आफ्नी बुहारी अनि दुई नातिनातिनाको अभिभावकत्वमा कहिल्यै कमी हुन दिनुभएन। परिवारको भरथेग, प्रतिनिधित्व र प्रतिरक्षा गरीनै रहनुभयो। आत्मबल दरिलो बनाउन कोसिस गर्नु भए पनि उहाँलाई दमको दीर्घ रोग थियो। पछि मुटुको रोग पनि थपियो। कहिले सिभिल अस्पताल, कहिले केएमसी र कहिले गङ्गालाल अस्पताल गर्नुपर्थ्यो। अस्पतालमा बस्दा ’मेरो लागि किन यस्तो दुख गर्छौं कान्छा?’ भनिरहनुहुन्थ्यो।

’पिर नगर्नु न आमा यो त हाम्रो कर्तव्य हो नि त– बरु आत्मबल दह्रो बनाउनुहोला औषधिले मात्रै त झन् कमजोर बनाउँछ’ भन्दा उहाँमा अलिकति भरोसा मिलेको जस्तो भएर पो हो कि अनुहारमा उज्यालो छाउँथ्यो।

६५ सालमा माइली आमाहरू इण्डिया घुम्न जाने कुरा चल्यो। ठूलीआमा बिरामी नै हुनुहुन्थ्यो। ठूलीआमा सँगै जान सक्नुहुन्न झन् साह्रो हुन्छ भन्ने छलफल चल्दा चल्दै पनि उहाँलाई सोध्दा सक्छु र जान्छु भन्नुभयो। तर हामीलाई चाहिँ उहाँको स्वास्थ्य अवस्था झन् जटिल होला भन्ने पिर चाहिँ पर्यो। घुमेर फर्केपछि सोचेभन्दा फरक उहाँ त पुनर्ताजगी भएर पो आउनुभयो। आफ्नो उमेर समूहसँगको घुमघामले उहाँलाई मनका घाउमा खाटा बसाउन मद्दत मिलेछ क्यार! वा इच्छाशक्ति भएपछि शारीरिक कठिनाइ बाधा बन्दैन भन्ने कुराको पुष्टि भएको पो हो कि? अथवा त्यो अवधि स्वास्थ्य विज्ञानको प्रक्रिया अन्तर्गतको एउटा चरण पो थियो कि त?

केही समयपश्चात ठूली आमालाई आफ्नो दीर्घ रोगले बल्झाइ नै हाल्यो।औषधि त नियमित छँदै थियो, विस्तारै च्याप्दै लगेपछि अस्पतालको आउजाउ अनि बसाइँ बढ्दै गयो। बुढ्यौली उमेर, धेरैथरी रोग, मनभरीका पीडा बोकेर उहाँले बाँच्नुभएको जीवन उसै पनि सहज थिएन। आत्मबलले मात्रै पनि नधानिने रहेछ। आड भरोसाले मात्रै पनि थाम्ने रहेनछ। उपचारको सबै विकल्प र प्रयास असफल भयो। आफुभित्र बलेको ज्वाला थुनेर अरूलाई शीतलता दिने छहारी ढल्यो। बुहारीको अभिभावक गुम्यो अनि नातिनातिनाको भरोसा र बाँकी हामी सबैको प्रेरणा।

अन्ततः २०७३ साल वैशाखमा ठूलीआमा हामी सबैबाट सधैंका लागि टाढा हुनुभयो।

माथि टाढा आकाशबाट तारा बनेर हेरिरहनुभएको छ भने सुनाउन मन लाग्छ, ’हेर्नुस् त ठूलीआमा– तपाईंका नाति नातिना आफ्नै खुट्टामा उभिने भएका मात्रै छैनन् बरू इमानदार र स्वाभिमानी पनि छन्।’

माथिबाट सुन्नुहुन्छ भने त, ’तपाईंका छोराहरूको बलिदानसँग जोडिएको संघर्षबारे भविष्यमा लेखिने इतिहासले नै बताउँला तर उनीहरूको इमानदारी र निष्ठामा कसैको पनि प्रश्न छैन’ भनेर ठूलो स्वरमा भन्न पनि मन लाग्छ।

अझै थपी– थपी सुनाउन मन लाग्छ– ठूली आमा, ’तपाईको स्वाभिमानपूर्ण जीवन हामीलाई प्रेरणा त हुँदै हो, जीवनमा आँधी चलिरहँदा पनि त्यसलाई आफूभित्र समेटेर अडिरहने तपाईंको कथा अब आउने पुस्तौं पुस्ताले पढ्नेछन्, लेख्नेछन्, सुन्नेछन्।’

प्रतिक्रिया दिनुहोस्