२०८० फाल्गुन १४

लोपोन्मुख मारुनी नाच संरक्षणमा जुट्दै सिन्धुपाल्चोकका नेवार समुदाय

जीवन श्रेष्ठ ,सिन्धुपाल्चोक – हुन त मारुनी नाच मगर, कुमाल, खस जातिहरूको मुख्य संस्कृति हो । तर सिन्धुपाल्चोकका अधिकांश नेवार समुदायमा पनि यो नाचको परम्परा रहँदै आएको छ ।

पौराणिक कथामा आधारित गीतहरू गाएर, मादलका तालसँगै भर्खरका केटाहरूलाई केटीको शृङ्गारपटारसहित लुगा लगाउन दिएर मारुनी बनाइ नाच्ने नचाउने मारुनी नाच पछिल्लो समयमा भने लोपोन्मुख अवस्थामा पुगेको छ । आधुनिक एवम् पाश्चात्य गीत संस्कृतिको चपेटामा परेर जसरी नेपालका अन्य मौलिक संस्कृति लोप भएका छन् त्यसरी नै मारुनी नाच पनि लोपोन्मुख अवस्थामा पुगेको छ । तर सिन्धुपाल्चोकका अधिकांश नेवार समुदाय भने नाचको संरक्षण र संवद्र्धन जुटेको पाइन्छ ।

खासगरि दसैतिहारमा नाच्ने यो नाच सिन्धुपाल्चोकका नेवार समुदायभित्र भने धान्यपूर्णे, माघे संक्रान्ति र त्यसपछिका स्थानीय मन्दिरमा लाग्ने जात्रा पर्वमा नाच्ने परम्परा छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा न १३, जंगलछापमा माघे सङ्क्रान्तिका दिनमा परापूर्वकालदेखि यो नाच नाच्दै आएको स्थानीय मङ्गल श्रेष्ठले जानकारी दिनुभयो । सो दिन स्थानीय सेतीदेवी मन्दिरमा जात्रा लाग्ने र सोही जात्रामा रातभरि यो नाच नाच्ने गरेको श्रेष्ठको भनाइ छ । नाचको संरक्षणका लागि आवश्यक मादल, बाँसुरी, भेषभूषा र श्रृंगारपटारका सामाग्रीहरू आपसी आर्थिक सहयोग उठाई सञ्चालन गर्दै आइरहेको छ । परम्परा धान्न मुश्किल भए पनि बाउबाजेले चलाउँदै आएको परम्परा र संस्कृतिको जगेर्ना गर्नुपर्ने उहाँको भनाइ छ ।

त्यस्तै वडा न १३ कै  बोजिनि र हर्रेमा परापूर्वकालदेखि नै मारुनी नाचको परम्परा चल्दै आएको छ । स्थानीय शिकारीदेवी, कालीदेवी, माङ्गकाली देवी र सिंहदेवीको जात्रामा यो नाच नचाउने चलन रहँदै आएको स्थानीय सुनिल श्रेष्ठले जानकारी दिनुभयो । हरेक माघ कृष्ण चतुर्थीको दिनबाट सुरु भई माघकृष्ण पञ्चमीको दिनसम्म नाच्ने गरिन्छ ।

यो परम्परागत नृत्य बुढापाकाहरूले मात्र जानेका र नयाँ पिँढीले झन्झट मान्ने गरेकै कारण लोपोन्मुख भएको श्रेष्ठ भनाइछ । त्यसो त कतिपय समुदायमा लोप नै भइसकेको यो परम्परा चौतारा साँगाचोकगढी नगरपालिकाकै वडा न ९ को गोर्सु, लप्से जस्ता नेवार समुदायमा भने परापूर्वकालदेखि चल्दै आएको छ । परम्परागत नृत्यको जगेर्ना गर्नुपर्छ भन्ने विचारले नै आफूहरू मारुनी नाचको संरक्षणमा जुट्दै आएको लप्सेका रुद्र श्रेष्ठ बताउनुहुन्छ ।

मारुनी नाचका परम्परागत नियमहरू हुन्छन् । ती नियमहरूमा एकरुपता पाइएता पनि नाचमा प्रयोग हुने लय, भाषा र शब्दमा भने स्थान र समुदाय अनुसार फरक हुने गर्दछ । खासगरि महाभारत, रामायण लगायतको धार्मिक ग्रन्थहरूका कथालाई लोक गाथामा मिलाएर गाउने प्रचलन रहेता पनि कतिपय स्थानमा भने आफ्नै परम्परागत र चलनचल्तीकै शब्दहरू गीतमा प्रयोग गर्ने गर्दछ ।

त्यसो गाउँदा गाउँदै गीतको बीच बीचमा ख्याली र टप्पा गाएर रमाइलो गर्ने, डाँडी गीत गाउने चलन पनि छ तर  पछिल्लो समयमा भने  लोकगीतहरू समावेश गरि नाच्ने परम्परा पनि बढ्दो छ । अहिलेको पुस्ताले महाभारत र रामायण जस्ता धार्मिक ग्रन्थहरूको अध्ययन नगर्नाले पनि लोकगीतमा भर पर्नुपर्ने बाध्यता रहेको  सुनिल श्रेष्ठ बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्