सुषमा तिमल्सिना, साउन ११
लार्के क्षेत्रको मुख्यस्थल ड्रागन गुफाभित्रको एउटा ढुंगाबाट दुधजस्तो पदार्थ बगिरहने रहेछ । ‘घ्याम्पोको दुध ढिस्को बनेर बसेको र, त्यसले पखालेमा पाप मेटिने जनविश्वास समेत रहेको पाइन्छ ।
कहिलेकाहीं सोच्छु म किन यहाँ अल्झिरहेकी छु । अनि फेरि सोच्छु, अक्सर मान्छे त्यहीं अल्झिदो रहेछ । जहाँ ऊ खुशी छैन । जहाँ ऊ सन्तुष्ट हुँदैन । यसरी आफूलाई भुलाउँदा-भुलाउँदै, सम्झाउँदा-सम्झाउँदै धेरै थोक छुटेको ,धेरै थोक भुलेको अनुभव मलाई मात्र हुन्छ कि तपाईंहरूलाई पनि हुन्छ ?
यो दैनिकी, यो व्यस्तता, यो झन्झट, अहो यो कत्ति अप्ठ्यारो जीवन दिमागमा आउन थाल्दा मलाई कतै फुत्त निस्कन मन लाग्छ, कतै टाढा पुग्न मन लाग्छ । जहाँ म काठमान्डुको भिडभाडबाट निस्कन सकुँ । आनन्दको अनूभुति लिन सकुँ । र, बाँचेको महसुस गर्न सकुँ । यसरी बेलुकीको समयमा हामीले तीन दिनको समय निकाल्यौं र, पुग्यौ कतै पर । जहाँ हामी न कहिले पुगेका थियौं, न सायद नै अब पुग्नेछौं ।
तल बगेको खोला । पहाडै-पहाड । कतै ओरालो त कतै उकालो । हामीले न फोनलाई साथी बनाएका थियौं, न आफू सँगै हिंडेका साथीहरुलाई । हामीले त मात्र बाटोलाई साथी बनाएका थियौं । यसरी अँध्यारो समयको अप्ठ्यारो यात्रा तय गर्दै-गर्दै हामी सिन्धुपाल्चोकको थाङपाल गाउँपालिकाको भवनमा पुग्यौं । जहाँ हामी ७ जनाको निम्ति बस्ने व्यवस्था मिलाइएको थियो । त्यहाँसम्मको यात्रामा हामीले करीब ६ घन्टा बसमा बिताएका थियौं । थाकेको शरीर उक्त गाउँपालिकाको न्यानो आतिथ्यता हामी खानपिनपछि मस्त निदायौं । भोलिपल्ट हेर्दा हामी वरिपरी डाँडैडाँडाले घेरिएको भिरालो जमिनमा बनेको भवनमा थियौं । एकाबिहानैको मीठो चिया पछि हामीले हाम्रो उर्जाशील यात्रा तय गरेका थियाैं ।
पाँचपोखरी थाङपाल गाउँपालिकाको वडा ३ भोताङ लार्केको जंगलमा रहेको ‘ड्राइगन गुफा’ लाई गन्तव्य बनाएर हिंड्दै गर्दा हामीलाई दुई दिनमा जसरी हुन्छ त्यहाँ पुगेर फर्किनु थियो । त्यहाँ पुगेर फर्किने हतारोमा हामीले भोक बिर्स्याैँ, तिर्खा बिर्स्याैँ र थकान पनि बिर्सिसकेका थियौं । कतै फराकिलो बाटो हुन्थे भने कतै साँघुरो बाटो । कतै घना डर लाग्दो जङ्गल हुन्थे भने कतै खुल्ला आकाश मुनि चौर भेटिन्थ्यो । सुरुको दिन हामी जङ्गलको बीचमा एक्लै भैंसी पालेर बसेका बुढा ‘बा’सँग बस्यौं । उनैले पकाएको सिस्नु र ढिँढो खाँदै हामीले उनका मीठामीठा गफ सुन्यौं । त्यसपछि थाकेको हाम्रा टोली खुल्ला चौरमा आकाशको छानो ओढेर मस्त निदाएकाे थियाे ।
कतै बुढो रुखको भेदमा आराम गर्दै, कतै खोलाको संगीतमा हराउँदै त कतै पहाडको टुप्पोमा हराउँदै हामीले ड्राइगन गुफालाई त्यो दिन छिट्टै नै भेट्टाई छाड्यौं । वरिपरी भव्य घना जंगलबीच एउटा ओरालो भीर । भीरको भित्ताभर कुदिएकोझैं लाग्ने अनौठो कलात्मक शिला । बौद्ध परम्पराको ध्वजापताका दर्जुले सजिएको भिरसँगैको गुफा झनै आर्कषक देखिएकाे थियो । चर्चित ‘ड्राइगन गुफा’लाई ह्योल्मो भाषामा ‘डुग रेन्जेन’ अर्थात् ‘ड्राइगनको शिला’ भन्ने गरिँदाे भने यसको तल्लो गुफालाई तामाङ भाषामा ‘नाङ्गु थिवा’ पनि भन्ने गरिदोँ रहेछ । यसलाई स्थानियले ‘घ्याम्पो फुटेको’ अर्थ पनि लगाउँदा रहेछन् । लार्के क्षेत्रको मुख्यस्थल ड्रागन गुफाभित्रको एउटा ढुंगाबाट दुधजस्तो पदार्थ बगिरहने रहेछ । ‘घ्याम्पोको दुध ढिस्को बनेर बसेको र, त्यसले पखालेमा पाप मेटिने जनविश्वास समेत रहेको पाइन्छ ।
पाँचपोखरी ३, भोताङका झाँक्री रेडी तामाङ लोप्चनका अनुसार, दुई शब्तादी पहिले त्यहाँ एउटा ठुलो भिर र भित्तोको थुम्कोजस्तो मात्रै थियो । त्यहाँ केही चौरी गोठाला मात्रै बस्थ्ये । पूर्णिमाको रातमा त्यहाँ अचानक चौरीको गोठबाट भागमभाग गर्न थाले । जब गोठाला र झाँक्रीले भीरमा ठुलो आगोको ज्वालासहित कुनै सर्पजस्तै जीव आनन्द लिएर नाच्दै थियो । डराएर उनीहरूले टाढैबाट त्यो घटना हेरे । ‘भोलिपल्ट ती गोठालाले ड्राइगन आकारमा ढुंगामा कुदेको कलात्मक स्वरुप भेटे, यसलाई ठूलो दैवी शक्ति मानेर पुजा गर्दै आएका छौं, ’ उनले भने ।
प्रत्येक मसिंर पूर्णिमाको बेला भव्य मेला लाग्ने यस ड्राइगन गुफाभित्र पसेर धामी, झाँक्री/बोन्पो सिद्ध बन्ने विश्वासमा काँप्दा रहेछन् । ‘हन्ड्रेड डेस्टिनेशन’ मा परिसकेको पाँचपोखरीसँगै रहेको अचम्मको ‘ड्राइगन गुफा’ लाई पर्यटनमा जोड्दै पदमार्ग बनाउनमा कस्सिरहेको स्थानियले हाम्रो सोधबुझमा बताएका थिए । पानी, बिजुली, बत्ति, बाटोको असुविधा भएको उक्त ठाउँ केही विकट जस्तो पनि देखिन्छ । बस्तीबाट टाढा घना जङ्गलको बीचमा रहेको उक्त गुफामा जान राम्रो बाटोघाटोको व्यवस्था गर्न सकियो भने त्यहाँ अन्तराष्ट्रिय पर्यटक पनि सजिलै भित्र्याउन सकिन्छ ।
त्यहाँ पुगेर दाउराहरू बटुलेर खाना खाइसकेपछि हामी फर्कियौं । बाटोमा अँध्यारो हुँदै गर्दा हामीले बस्नको निम्ति एउटा गोठ फेला पार्यौं । जहाँ एक दम्पत्ति र उनको एक छोरी थिइन् । उनीहरूको समस्या, उनीहरूको जीन्दगीको अनुभव, भाेगाई सुन्दै-सुन्दै हामीले फेरि त्याे दिन पनि खुल्ला आकाशमुनि रात बितायौं र, भोलीपल्ट हामी काठमाडाैं फर्कियाैं ।
प्रतिक्रिया दिनुहोस्