२०८१ श्रावण १२
                           

राँगो राजनीति

भरत पाेखरेल- सन १९९७ जुनमा अमेरिका फ्लोरिडा विश्वविद्यालयका प्राध्यापक नन्द श्रेष्ठको पुस्तक “इन द नेम अफ डेभलपमेन्ट: अ रिफ्लेकसन अन नेपाल” युनिभर्सिटी प्रेस अफ अमेरिकाबाट प्रकाशित भयो । यो पुस्तकले नेपाली बुद्धिजीवहारूलाई सम्मोहित नै गर्‍यो । “नेपाल इन क्राइसिस” को हाराहारीमा यो पुस्तकको चर्चा चल्यो ।

यो पुस्तकको ओज यसबाट पनि पुष्टि हुन्छ कि यसमा सानो मन्तव्य पौल स्वेजीले लेखेका छन् । अमेरिकी डलरमा मँहगो मोल रहेको पुस्तक आम नेपाली पाठकमा पुग्न समस्या बुझेर लेखकले सदासयतासाथ पहिला नेपाली अनुवाद प्रकाशनको प्रयास गरेका थिए सो सम्भव नभएपछि अंग्रेजी संस्करण नै एजुकेसनल इन्टरप्राइजबाट सन १९९८ डिसेम्बरमा सहज नेपाली मूल्यमा प्रकाशनको ब्यवस्था मिलाए र धेरै नेपालीहरूले पुस्तक पढ्न पाए ।

पुस्तकमा लेखक र चितवन, रामपुर कृषि क्याम्पस पढाउने मिचिगन विश्वविद्यालयका प्राध्यापक पौलले सन १९८० मा सुनाएको एउटा रमाइलो सम्बाद प्रसङ्ग छ जुन नेपालमा अमेरिकी सहयोग नियोग युएसएडको परियोजना नेपाली गाई र अमेरिकी साँढेको छ । सबैलाई थाहा भएकै कुरा हो नेपालका गाईहरूको कदकाठी सानो नै हुन्छ जसका कारण दुध कम दिने गर्छन् । अमेरिकीहरूले मिटिङ गरेर अमेरिकाबाट पशु विशेषज्ञ बोलाउने निधो गरे । विशेषज्ञलाई दिनको २५० अमेरिकी डलर र काठमाडौं पाँचतारे होटलमा बस्ने ब्यवस्था गरियो । विशेषज्ञले नेपाली गाईहरूको नस्ल सुधार गर्न अमेरिकी साँढे ल्याउने सल्लाह दिए ।

सोही सल्लाह अनुसार अमेरिकाबाट प्लेन चार्टर गरि केही साँढे नेपाल ल्याइए । साँढेलाई गाउँ लगियो र नेपाली गाईहरूसँग क्रसबृडिङ गर्ने भनियो । एकाबिहानैदेखि गाउँलेहरूले साँढे राखिएको ठूलो चौरमा गाईहरू ल्याए । अमेरिकी साँढे गाईको वरिपरि घुमिमात्र रहे काम बनेन । गाउँलेहरू होहल्ला गर्न थाले, अमेरिकीहरूको अनुहार रातोपीरो हुन् थालिसकेको थियो । बेलुका हुन् लाग्यो साँढेले काम गरेनन् । भीडबाट एउटाले गाउँ नजिक एकजना जोगी छन्, ऊनी पशुबोली बुझ्छन् ऊनलाई ल्याउनु पर्ने सुझाव दिए ।

अमेरिकीहरूले तुरुन्त जोगी मगाउने अनुरोध गरे । जोगीलाई कन्सलट्यान्टको फि दिने बाचा पनि गरे । जोगी आए, साँढेलाई सुमसुमाए । साँढेले कान र गर्दन हल्लायो । अमेरिकीहरूले जोगीलाई सोधे साँढेले के भन्यो ? जोगीले साँढे नेपाल काम गर्न आएको होइन अमेरिकीहरू जस्तो सल्लाह मात्र दिन आएको भन्यो भने । यो सुनेर अमेरिकीहरूको भागाभाग भयो ।

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चारदिने जेठ १७-२० को भारत भ्रमण सकिएको छ । सतहमा धेरै कुराहरू ट्रोल भएका छन् । भारत जानेदिन राष्ट्रपतिको हडबडमा गरिएको गडबड नागरिकता विधेयकको कीर्ते प्रमाणीकरण, दिल्ली विमानस्थलमा राज्यमन्त्री मीनाक्षी लेखीको अगुवाइ, नर्तकीहरूको नाच, उच्च सुरक्षा कूटनीतिक वार्तामा प्रधानमन्त्रीकी छोरीको मात्र उपस्थिति, उज्ज्यन महाकालेश्वर मन्दिरमा गेरुवावस्त्र धारण र अहिले मुर्रा राँगोको प्रसङ्ग । हिजोमात्र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको मुर्रा राँगोको विज्ञप्ति ।

मानिसहरू कुरा गर्न थालेका छन् ती राँगाको पनि उही हविगत हुने त होइन जुन अमेरिकी साँढेहरूको भएको थियो । प्रधानमन्त्री भारत भ्रमणका मुद्दाहरू १९५० को सन्धि, इपिजी प्रतिवेदन, सार्क सम्मेलन, कालापानी लिम्पियाधुरा सीमा, भारतीय संसदको नक्शा, अग्निपथ आदि हुनुपर्ने थियोे । खुद्रा मसिना कुरामा भ्रमण सकियो, निष्कर्ष राँगो राजनीति ।

प्रतिक्रिया दिनुहोस्