२०८१ श्रावण १२
                           

चौताराका कसजूले पत्ता लगाएको विरुवा ‘विश्वमै नयाँ’ भएको पुष्टि

बेलायतबाट प्रकाशित हुने ‘क्यू बुलेटिन’ मा ‘थुनबर्जिया कसजूआना’ बारे लेखेको ४ पृष्ठ लामो अनुसन्धानात्मक लेख ।

चौतारा- वनस्पतिमा रुचि राख्ने सिन्धुपाल्चोकको चौतारामा जन्मिएका वैज्ञानिक सरोजकुमार कसजूले नगरकोट क्षेत्रमा फेला पारेका विरुवा विश्वमै नयाँ भएको पुष्टि भएको छ ।

कसजूले पत्ता लगाएको विरुवाको नाम ‘थुनबर्जिया कसजूआना’ राखिएको छ । बेलायतको रोयल बोटानिक गार्डन एडिनबरा (आइबीजीई) ले विरुवाको नाम राखेको हो । कसजूले आफूले देखेका, चिनेका विरुवाहरुको तस्वीर खिचेर विभिन्न संस्थामा पठाउने गर्थे । त्यसै क्रममा उनले झण्डै चार वर्ष अघि एउटा नौलो तस्वीर खिचेर आइबीजीईमा पठाए । कसजूले पत्ता लगाएको विरुवा नौलो भएको कारण आइबीजीईमा कार्यरत डा. भाष्कर अधिकारी र जोन उडले त्यस विरुवाको थप अध्ययन गरेर बेलायतबाट प्रकाशित हुने ‘क्यू बुलेटिन’ नामक जर्नलमा लेख छपाएपछि विरुवाको औपचारिक पहिचान मिलेको हो ।

‘संसारको विभिन्न देशमा नागरिक वैज्ञानिकहरुले वनस्पतिशास्त्रको अध्ययनमा निकै योगदान पुर्याएका हुन्छन्’, आइबीजीईमा कार्यरत डा. अधिकारीले भने– ‘तर नेपालमा नागरिक वैज्ञानिकले नयाँ प्रजातिको विरुवा भेट्टाउने कुरा विरलै हो । हामी कसजूप्रति आभारी छौं ।’ अधिकारीका अनुसार एसियाको भारत र भुटानमा पनि पाईने सो जातिका विरुवा नगरकोटामा फेला पारेकोजस्तो प्रजातिको नभएको र पहिचान समेत गरिएको थिएन ।

२०१४ साल माघ २५ गते चौताराको पुरानोबजारमा जन्मिएका उनले श्रीकृष्ण विद्याश्रम प्रारम्भिक शिक्षा सुरु गरेका थिए । पद्मोदय माविबाट एसएलसी दिएका उनले अमृत साईन्स क्याम्पसमा आइएस्सी गरेका थिए । कसजूलाई सिन्धुपाल्चोकमै पहिलो पटक एसएलसी पहिलो श्रेणीमा उत्र्तीण गर्ने व्यक्तिको रुपमा समेत चिनिन्छ । उनले त्रिभूवन विश्वविद्यालयबाट डीपीए र एमपीए गरेका छन् । २०३३ सालबाट नेपाल बायुसेवा निगममा संलग्न कसजू त्यहाँको वाणिज्य विभागको निर्देशक समेत भए । ३८ वर्ष बायुसेवा निगममा काम गरी अवकासप्राप्त उनी अहिले काठमाण्डौको ज्ञानेश्वरमा बस्दै आइरहेका छन् ।

‘मार्टिन लुथर किङ्ग भन्ने गर्थे– ‘मेरो एउटा सपना छ, जसले मलाई सपना देख्न प्रेरणा दिने गर्थ्यो । कि कुनै पनि सपना सानो या ठूलो हुँदैन,’ उनले जुगलखबरसँग टेलिफोन सम्वादमा भने– ‘त्यसै अनुरुप म जस्तो एक साधारण व्यक्तिले विशाल वनस्पती संसारमा सानो पाइलो टेक्ने सपना पूरा भएको छ ।’ आफूले विश्वमा नै नयाँ प्रजातिका वनस्पती थुनबर्जिया कसजूआना’ नामाकरण गरिएको बिरुवा पत्ता लगाउन पाएकोमा औधी खुशी भएको बताए ।

‘रोयल बोटानिकल गार्डन एडिनबराका डा. भाष्कर अधिकारीबाट यस बिरुवाको अन्वेषण गरी नामाकरण गर्ने कार्यलाई पूर्णता दिनु भएकोमा र मलाई एउटा नयाँ परिचय दिनु भएकोमा धन्यवाद प्रकट गर्दछु’, कसजूले भने । आफ्नो सपना पूरा गर्न सधैं निस्वार्थ रुपले समर्थन गर्ने श्रीमती मीरा, छोरी स्वस्तिका र छोरा समीरप्रति आभार प्रकट गर्दै उनले आफ्नो खोजलाई स्वर्गीय पिता भैरबराम, आमा जुलुम, जन्मस्थल चौतारा र कसजु समुदाय प्रति समर्पण गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्