२०८१ श्रावण १२
                           

कोरोनाको संक्रमण रोक्न चौसागढी नगरपालिकाको पहल

चौतारा – कोरोनाको भाइरस (कोभिड–१९) को सम्भावित संक्रमण नियन्त्रणका लागि चौतारा साँगाचोकगढी नगरपालिकाले विशेष पहल गरिरहेको छ ।
नगरपालिकाले अहिले क्वारेन्टाइन, आइसोलेसन निर्माण, विदेशबाट आएकाहरुको अभिलेखीकरण, स्वास्थ्य सामग्री वितरणमा तिब्रता दिईरहेको छ । संक्रमण नियन्त्रणका लागि नगरपालिकाले मेलचौरमा क्षेत्रीयस्तरको क्वारेन्टाइन निर्माण गरेको छ । १४ शैयाको क्वारेन्टाइनमा अहिले विदेशबाट आएका ५ जना सुरक्षित बसिरहेका छन् । क्वारेन्टाइनमा बसेकालाई फ्रि वाइफाई, सुरक्षित शौचालय, हेरचाह अनि खाना बनाइदिने मान्छेको समेत व्यवस्था गरेको नगरपालिकाका प्रमुख अमानसिं तामाङले बताए । त्यस्तै नगरभित्र जिल्ला अस्पतालमा ६ बेड र जिल्ला समन्वय समितिमा ४ बेडको आइसोलेसन कक्ष निर्माण भएको छ ।
भाइसरको जोखिमलाई मध्यनजर गर्दै नगरभित्र रहेका १८ वटा स्वास्थ्य केन्द्र सबैमा पीपीइ पुर्याईसकिएको छ । ‘अहिलेको अवस्थामा मूख्य कुरा भनेको स्वास्थ्य हो’, तामाङले भने– ‘अहिले हामी कोरोनाको संक्रमण कसरी नियन्त्रण गर्न सकिन्छ भनेर निरन्तर लागिपरिरहेका छौं ।’ संक्रमण फैलन नदिन नगरभित्रका प्रमुख चोकर नगर प्रवेश गर्ने नाकाहरुमा किटनाशक विषाधी छर्किएको उनले जानकारी दिए । नगरलाई चाहिने आवश्यक स्वास्थ्य सामग्रीको जोहो पनि भइसकेको पनि उनले बताए ।
‘हाम्रा नागरबासीको स्वास्थ्यलाई ध्यान दिँदै हामीले सुरुवातदेखिनै टोलटोलमा माइकिङ गरेर संक्रमण फैलन नदिने अभियानको सुरुवात गरेका थियौं’, उनले भने– ‘लगत्तै हरेक वडामा मास्क, सेनेटाईजर वितरण गर्यौं ।’ विदेशबाट आएकाहरुलाई क्वारेन्टाइनमा आएर बसिदिन अपिल गर्दै कोरोनाबारे चेतना प्रवाह गरिरहेको प्रमुख तामाङले सुनाए । कुनै पनि बेला आपतकालीन बैठक बस्नुपर्ने या कतै संक्रमित भेटिने र गाउँवासीलाई केही वस्तु या सामग्री आवश्यक पर्न सक्ने सम्भावना भएकाले उनले नगरभित्रका १४ वटै वडाका अध्यक्षहरुलाई वडा नछाड्न निर्देशन दिएको बताए ।
अहिले नगरपालिकाले कोरोना रोकथाम कोष खडा गरेको छ । चौतारामा रहेको नेपाल बैंक लिमिटेडमा रहेको खाता नं. ०५७००१०६४२०४११०००००१ मा जो कसैले पनि रकम जम्मा गर्न सकिने उनले जनाए । उनले सबै जतालाई आफू सुरक्षित रहन र घरभित्रै बस्न सुझाएका छन् । नगर भित्र रहेको क्वारेन्टाइनको समय समयमा निगरानीसमेत गरिरहेका तामाङ भाइसर नियन्त्रण गर्न स्वयम् व्यक्तिहरु सचेत हुन जरुरी रहेको बताउँछन् ।
प्रमुख तामाङले अपिल नै जारी गरेर लकडाउनलाई पूर्ण पालना गर्न र नागरिकहरुलाई सचेत रहन आग्रह गरेका छन् । उनले कोरोना रोकथाम तथा नियन्त्रणको लागि सम्पूर्ण क्षेत्र क्रियाशिल रहन समेत आह्वान गरेका छन् ।

हेर्नुहोस् नगर प्रमुख तामाङद्वारा जारी अपिलः

प्रतिक्रिया दिनुहोस्