२०८१ मंसिर २३
                           

चौतारामा सोनाम ल्होसार भब्य रुपमा सम्पन्न

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा २८५६औं सोनाम ल्होसार भव्य रुपमा सम्पन्न गरिएको छ । चौताराको टुँडीखेलमा हजारौंको संख्यामा तामाङ जातीका व्यक्तिहरु भेला भई ल्होसार पर्व मनार्ईएको हो ।

२८५६ औं सोनाम ल्होसार २०७६ तथा तामाङ साँस्कृतीक कार्यक्रममा प्रमुख अतिथि शेर बहादुर तामाङले ल्होसार तामाङ जातीको मात्रै नभई सिंगो नेपालीको महान् चाड भएको बताए । ‘हामिलाई विखण्डन गराउन चाहनेले अनेक आरोप लगाएपनि वौद्ध धर्म मान्नेले पनि दशैं तिहार मनाए जस्तै ल्होसार पनि सबै नेपालीको महान् चाड हो ।’ प्रतिनिधि सभा सदस्य एवं पुर्व कानुन मन्त्रि तामाङले भने –‘यसलाई पनि राष्ट्रिय चाड बनाउन आवश्यक छ ।’

पुर्वमन्त्रि तामाङले सरकारले ल्होसारमा दिइने सार्वजनिक विदा कटौती गरेकोमा दुख व्यक्त गर्दै तराई मधेशमा रहेका जनतालाई ल्होसार पर्वको बारेमा जानकारी दिन र यसलाई आप्mनै पर्वको रुपमा अपनत्व लिनको लागि समेत देशैभरी सार्वजनिक विदा दिइनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ठ पार्टी नेकपा केन्द्रिय सदस्य तथा सिन्धुपाल्चोकका सचिव दावा तामाङले आज तामाङको भेलबाढी आएकोले यसले जुनसुकै शक्तिलाई बढार्न सक्ने बताए । ‘हामीले अहिले प्राप्त गरेको अधिकार ठुलो संघर्षबाट प्राप्त भएको हो ।’ तामाङले भने –‘यसको संरक्षणका लागि सबै तामाङ एकजुट हुनुको अर्को विकल्प छैन ।’ जिल्ला सचिव तामाङले नेपाल भ्रमण वर्ष २०२० को सफलताको लागि एउटै जातीको संस्कृतीले मात्रै अपुग हुने भएकोले सबै जातजाती र धर्म संस्कृतीको संरक्षण गर्न आवश्यक रहेको बताए ।

चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिंह तामाङले अहिले देशको कुनाकुनामा सोनाम ल्होसार पर्व मनाइदै आएको र यसलाई अझ विस्तार गरिनुपर्ने बताए । जाँडरक्सी सेवन गर्दा मानिस घरमा बाँधेको कुकुर जस्तै जे सिकायो त्यही मात्रै गर्ने र आफ्नो विचार राख्न नसक्ने हुनाले सबै तामाङलाई जाँडरक्सी नखान आग्रह गरे । तामाङको यसअघिको पुस्ता जाँडरक्सीकै कारण पछाडी परेको आरोप लगाउँदै उनले अब तामाङ जाती पनि राज्यको निर्णायक तहमा पुगेर आफ्नो क्षमता देखाउन थालीसकेको बताए ।

कार्यक्रममा चौतारा नगरपालिका भित्रका हजारौं तामाङहरुको उपस्थितीको साथै तामाङका विभिन्न कला र संस्कृती झल्काउने झाँक्री नाच, लामा नाच तथा अन्य झाँकीहरु समेत प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्