२०८१ मंसिर २३
                           

मेरो पुस्तक ब्यक्तिगत जीवनी नभएर देशकै जीवनी हो

साउन  ७ — आफ्नो जीवनको सपना र लक्ष्यलाई कठिन परिस्थितिको बाबजुद पनि इच्छाशक्ति र निरन्तर मेहनत गर्न सकियो भने प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण हुन्, डाक्टर पूर्ण बहादुर सिलवाल । वि.सं. २०१७ साल माघ १५ गतेका दिन विकट जुगल गाँउपालिका वडा नं २ नाम्फामा जन्मेर, गाँउको दुखमा हुर्केर, पढेर नेपाली सेनाको विशिष्ट श्रेणी पद मेजर जनरल (उपरथी) समेत बनेका सिलवालले रणनीतिक अध्ययन अन्तरगत “नेपालको राष्ट्रिय सुरक्षा” मा पि.एच.डि समेत गरेका छन् । नेपाली सेनाबाट अवकाश प्राप्त गरेका डाक्टर सिलवाल हाल लेखन कार्यमा सक्रिय छन् । उनले लेखेको Nepal’s instability conundrum navigating poilitical, military, economic  and diplomatic landscape पुस्तक अहिले निकै चर्चित छ । डा. सिलवाल राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय घटना क्रमहरूको विश्लेषणमा दक्षता राख्छन् । सामाजिक कार्यहरूमा पनि संलग्न उनी नयाँ पुस्ताका लागि प्रेरणाको श्रोत हुन् । जीवनका हरेक मोडमा नयाँ उद्धेश्य बोेकेर दत्तचित्त भई लाग्ने सिलवालको बाँकी अनुभवको आरोह र अवरोह उनकै शब्दमा ः

‘चुनौतिको बीच अवसरको खोजीनै सफलतामा पु¥याउने भ¥याङ हो’
म बाल्यकालमा धेरै नबोल्ने र केही लज्जालु स्वभावको थिएँ । पढाईमा मध्यम थिए । नाम्फाको सिलवाल गाउँमा जन्मिएँ । ६ वर्षको हुँदा आमा बितेपछि म बतासे मामाघरमा आए । आमा नै नभएपछि नाम्फा जन्मघर जाने खासै वातावरण बनेन । कक्षा ७ सम्म तत्कालीन आनन्द निम्न माध्यामिक विद्यालय (हालको आनन्द माध्यामिक विद्यालय ) जलविरेमा अध्ययन गरेँ । बतासेबाट जलविरे ओरालो करिव आधा घण्टामा पुगिन्थ्यो । फर्कँदा उकालो एक घण्टा जति हिड्नु पथ्र्यो । कक्षा ८ देखि १० सम्म श्री कृष्ण ब्यवसायिक माद्यमिक विद्यालय (हालको श्री कृष्ण रत्न गंगा मा.वि.) चौतारामा अध्ययन गरी एस.एल.सि उतीर्ण गरेँ । चौतारामा कोठा भाडामा लिएर पढेको हुँ । अहिले त्यहि श्री कृष्ण रत्न गंगाको प्राङ्गणमा आमाको स्मृतिमा सरस्वतीको मन्दिर निर्र्माण गरी हस्तान्तरण गरिसकेको छँु । सेकेण्ड डिभिजनमा २०३४ सालमा एस.एल.सि उतीर्ण गरे । अध्ययनमा निकै मेहनत गरिन्थ्यो । सानो छँदा मेरो त्यति ठूलो लक्ष त थिएन, तर भविष्यमा नेपाल सरकारको कुनै निकायमा अधिकृत भएर नै सेवा गर्छु भन्ने कुरा मेरो दिमागमा खेलिरहन्थ्योे । आफूले मनमनै राखेको त्यही लक्ष हासिल गर्न धेरै कठिनाईका बिच पनि संघर्ष गर्दै अविचलित भई अघि बढेँ ।

नेपाली सेनामा प्रवेश र अनुभव
तात्कालीन शाही नेपाली सेनाको अधिकृत क्याडेट पदको छनौँट परीक्षामा पहिलो प्रयासमै उतिर्ण भई २०३८ साल चैत्र २९ गते सरकारी सेवामा प्रवेश गरे । अधिकृत क्याडेट तालीम पूरा गरी वि.स २०४० साल असार १४ गते सेकेण्ड लप्टन पदमा नियुक्ती पाएँ । जम्मा ३५ वर्ष १० महिना सक्रिय रुपमा देशको सेवा गरँे । मैले सेनामा प्रवेश गरेको केही बर्षपछि मुलुकमा राजनैतिक परिवर्तन आयो, बहुदलीय प्रजातन्त्र र संबैधानिक राजतन्त्रको पुनस्र्थापना भयो । २०५२ साल माओबादीले शुरु गरेको सशस्त्र विद्रोह नियन्त्रण गर्न २०५८ सालसम्म नेपाल प्रहरी परिचालन भएको थियो । २०५८ मंसिर २८ गते माओवादीले दाङ ब्यारेकमा हमला गरेपछि नेपाली सेना पनि द्वन्द्वमा तानियो । त्यतिवेला म श्री जलदल गण, छाउनीमा गणपति थिएँ । सेना परिचालन भएसंगै राष्ट्रिय सुरक्षा परिषद् सचिवालय गठन भयो । जगदल गणबाट म त्यस सचिवालयमा सरुवा भएँ । सचिवालयको काम देशभरबाट प्राप्त सूचना संकलन गर्ने, विश्लेषण गर्ने र त्यसको निचोड सरकारका सम्बन्धित मन्त्रालय, विभाग र सुरक्षा निकायहरुलाई दिने हुन्थ्यो ।

जागीरसँगै अध्ययनको निरन्तरता
सेनामा प्रवेश गरेपछि मैले त्रिभुवन विश्वविद्यालयबाट सन् १९९५ मा अर्थशास्त्रमा स्नातकोत्तर र सन् २०१७ सालमा नेपालको राष्ट्रिय सुरक्षा विषयमा पि.एच.डि. (विद्यावारिधि) गरँे । संयुक्त राज्य अमेरिकाको नेशनल डिफेन्स युनिभर्सिटी, वाशिंगटन डीसीबाट सन् २०१३ मा राष्ट्रिय सुरक्षा रणनीतिमा स्नातकोत्तर(MS in National Security Strategy) र बंगलादेशको राष्ट्रिय विश्वविद्यालय, ढाकाबाट सन् १९९८ मा प्रतिरक्षा सम्बन्धि विषयमा स्नातकोत्तर (Master’s in Defense Studies) गर्ने अवसर पनि पाएँ ।

अवकास पछि पुस्तक लेखन
मैले अंग्रेजी भाषामा लेखेको पुस्तक Nepal’s instability conundrum navigating political, military, economic  and diplomatic landscape गत साल साउनमा प्रकाशित भएको छ । धेरै पाठकहरुको अनुरोधमा पुस्तकलाई अध्यावधिक गरी नेपाली भाषामा प्रकाशनको तयारी पनि गरिरहेको छु । अब यहि दशैँ पछि पाठकले यो पुस्तक नेपाली भाषामा समेत पढ्न पाउनुहुनेछ । दक्षिण एसियाका मुलुकहरु मध्ये नेपाल सबैभन्दा अस्थिर मुलुकको श्रेणीमा पर्ने भएकोले मैले यो पुस्तकमा नेपालको अस्थिरताको भित्रि रहस्यलाई विभिन्न कोणबाट केलाएको छु । पुस्तकमा ७ वटा अध्यायहरु छन् । अध्याय २ मा नेपालमा राष्ट्रिय सुरक्षाको अवधारणाको विकासक्रम, हाम्रो मूल्यमान्यता, राष्ट्रिय हित, राष्ट्रिय एकता र त्यसमा आउने चुनौतिहरुको वारेमा प्रकाश पारेको छु । अध्याय ३ मा नेपालमा राजनैतिक अस्थिरताका कारणहरु र संस्थाहरुको राजनीतिकरण कसरी भयो भन्ने पक्षमा खोजी गरिएको छ । केही दशकको अन्तरालमा हुने व्यबस्था परिवर्तन र हरेक बर्षजसो हुने सरकार परिवर्तनले बढाएको राजनीतिक अस्थिरताले युवा वर्गमा नैराश्यता छाएको छ र रोजगारीको लागि विदेश पलायन हुनुपर्ने वातावरण बनेको छ । अध्याय ४ मा द्धन्द्ध व्यवस्थापनमा राज्यको रणनीतिको पाटोलाई केलाएको छु । माओवादी शान्ति प्रक्रियामा आएपछि पनि विप्लव समुह र सिके राउत समुहको उदय र ती समुहसंग भएको शान्ति सम्झौतालाई समेत केलाएको छु । नेपालमा भारत, अमेरिका, चीन र बेलायतको नेपालमा स्वार्थ र उनीहरुले अपनाएको रणनीति विषयमा छैठौँ अध्याय केन्द्रित छ ।

पुस्तक ब्यक्तिगत जीवनी नभएर देशकै जीवनी हो 
नेपाली सेना एउटा अनुशासित र गैर राजनीतिक संस्था भएकोले त्यहाँ सेवारत रहँदा सार्वजनिक रुपमा आफ्ना अनुभवहरुबारे बोल्न मिल्दैन । मेरो यो पुस्तक शोधमुलक भएपनि विभिन्न घटनाहरुको विश्लेषण गर्दा ३६ वर्षको सैनिक सेवाको अनुभवको केही प्रभाव देखिनु स्वाभाविक हो । यो पुस्तक मेरो जीवनी नभएर देशको जीवनी हो भन्दा अत्युक्ति नहोला । सेवा अवधिमा मैले विभिन्न देशहरुमा भ्रमण गर्ने अवसर पाएँ । साथै चीन, भारत, बंगलादेश, पाकिस्तान, अमेरिका र नर्वेमा तालीम र अध्ययन गर्ने अवसर समेत पाएको छु । नेपालको स्थायी नियोग, न्यूयोर्कमा सैनिक सल्लाहकार भएर तीन बर्ष काम गरँे । त्यतिबेला, मैले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको शान्तिसेनामा योगदानसंग सम्बन्धित सबै कार्यहरु गरेँ ।
हामी नेपालीहरु पछाडि पर्नुको कारण इतिहासलाई राम्रोसंग लेखेर नराख्ने, रणनीतिक महत्वका नक्सा र दस्तावेजहरु संग्रह गरेर सुरक्षितसंग नराख्ने र इतिहासबाट पाठ सिकेर अघि नबढ्ने हाम्रो संस्कारले गर्दा पनि हो । सुगौली सन्धीको ओरिजिनल सन्धि खोज्दा फेला पर्दैन । राजा महेन्द्रले कालापानी भारतलाई केही समयको लागि मात्रै प्रयोग गर्न दिँउ भनेर दिइएको भनिन्छ, तर त्यसका लागि भारतका प्रधानमन्त्री जवाहरलाल नेहरुले अनुरोध गरी राजालाई लेखेको पत्र फेला पर्दैन । इतिहासमा भएका घटनाहरुलाई दस्तावेजको रुपमा नराख्ने, ईतिहास नलेख्ने, नपढ्ने, प्रचलन राम्रो होईन । मलाई लाग्छ यस्ता विषयहरुलाई समेटेर राजनीतिज्ञ, कर्मचारी, प्रोफेसर, पत्रकार सवैले पुस्तक लेखेको खण्डमा भावी पुस्तालाई राष्ट्रको पक्षमा ठीक निर्णय सघाउ पुग्नेछ । साना देशलाई निर्णय प्रक्रियामा के कस्तो वाह्य दबाब र चुनौतिहरु आउने रहेछ, त्यस्ले हाम्रो निर्णयमा के कस्तो प्रभाव पा¥यो र त्यसले देशलाई हित ग¥यो वा गरेन भनेर त्यस्ता पुस्तकहरुबाट भावी पुस्ताले धेरै कुरा थाहा पाउँछन् । इतिहासमा घटेका घटनाहरु र विश्लेषणलाई दस्तावेजीकरण गरेर मैले देशलाई आफ्नो दक्षता र अनुभवको आधारमा सकेजति गर्नुपर्छ भन्ने भावनाबाट अभिप्रेरित भएर नै मैले यो पुस्तक लेखेको हुँ । भावी पुस्तालाई यो पुस्तक सहयोगी बन्ने विश्वास मैले लिएको छु ।

अस्वभाविक रुपमा विदेशी हस्तक्षेप
अब महाशक्ति राष्ट्रहरुबीच युद्ध भईहाल्यो भने एसियामै हुन्छ भन्ने अनुमान छ । अवको युद्ध महाशक्ति राष्ट्र अमेरिका र अर्को उदयीमान महाशक्ति राष्ट्र चीनबीच हुन सक्छ । यसको अर्थ अबको सैनिक द्वन्द्व टाढा होइन, हाम्रै आँगन वा सँघारमा हुने प्रवल सम्भावना छ । चीन र भारतसँग सीमा जोडिएको हुनाले हाम्रो राष्ट्र युद्धको असरबाट अछुतो रहन सक्दैन । नेपाललाई जसले सक्छ उसले प्रयोग गर्ने सम्भावना हुन्छ । तर राष्ट्रिय रुपमा सवै नेपाली एक ढिक्का भयौँ, दिर्घकालीन सोच राख्यौँ, कतै नढल्कीकन असंलग्न रहन सक्यौँ भने हामी सुरक्षित रहन सक्छौँ ।
सेनाको उच्च तहमा रहेर सेवा गरेको अनुभव, स्वदेश लगायत विभिन्न देशमा गरेको तालीम र अध्ययनबाट आर्जित ज्ञान र दक्षतालाई निस्वार्थ भावले समाज र राष्ट्रको सेवामा उपयोग गर्ने प्रण गरेको छु । यस शिलशिलामा आगामी दिनहरुमा राष्ट्रिय स्तरमा बौद्धिक कोणबाट र आफू जन्मेको जिल्ला सिन्धुपाल्चोकमा समाज सेवाको कोणबाट योगदान दिने मेरो लक्ष रहेको छ ।

प्रतिक्रिया दिनुहोस्