विराटनगर, १७ असोज । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले सरकारको हरेक गतिविधि र निर्णयहरु राष्ट्र र जनताको पक्षमा लिनुपर्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा शुक्रबार बिहान पत्रकारहरुसँग उपसभापति गच्छादारले सरकारले संविधानको मर्म र भावना अनुरुप काम गर्नुपर्ने स्पष्ट पारे ।
उपसभापति गच्छदारले सरकारले प्राप्त गरेको यो ऐतिहासिक अवसरलाई गुम्न नदिन साझेदारी मनस्थितिबाट सरकार सञ्चालन गर्नुपर्ने सुझाव दिँदै प्रेस लोकतन्त्रको गहना भएकाले यसको सङ्कुचन गर्न नहुने तर्क गरे ।
जनताले संविधानबाट पाएको अधिकार उपयोग गर्न सरकार बाधक बन्नु नहुने धारणा राख्दै सरकारले जनतासँग गरेको वाचालाई पूरा गर्न ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए ।
उपसभापति गच्छदारले नेपाली काङ्ग्रेसका नेतामाथि भर्खरै भएको निन्दनीय घटनाप्रति दुःख व्यक्त गर्दै आफूले विगतमा नेतृत्व गरेको पार्टी एकीकरण हुँदा भएको सम्झौताअनुसार पाएको केन्द्रीय समितिमा जाने सदस्यहरुका नाम छिट्टै सार्वजनिक गर्ने जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्