पाैष २३/ चौतारा साँगाचोकगढी नगरपालिकाको १२ नम्बर वडामा शनिबार ज्येष्ठ नागरिक क्लिनिक सम्पन्न भएको छ । नगरपालिकाको आयोजनामा सञ्चालन गरेको ज्येष्ठ नागरिक क्लिनिकमा १ सय ५४ जनाले सेवा लिएका छन् ।
स्वास्थ्य परिक्षण तथा देखिएको स्वास्थ्य समस्या पहिचान गरि औषधिसमेत दिदा स्थानिय नागरिक खुसी भएका छन् । स्थानीय मनमाया गिरीले आफुले सेवन गर्दै आएको औषधिसमेत नगरपालिकाद्वारा सञ्चालित क्लिनिकमा पाउदा खुशी व्यक्त गर्नुभयो ।
स्वास्थ्य परीक्षणका क्रममा १६ जनामा उच्च रक्तचाप देखिएको नगर स्वास्थ्य शाखा प्रमुख शिव पुरीले बताउनु भयो । १ सय २३ जनाको रगत परीक्षण गर्दा ६ जनामा मधुमेह देखिएको छ । १ सय ४५ जनाको आँखा परीक्षणका क्रममा १० जनामा मोतियाविन्दु देखिएको छ ।
स्वस्थ रहनका लागि चेतना सबैभन्दा महत्वपूर्ण भएको हुँदा हरेक टोलमा पुगेर जनचेतनामूलक ज्येष्ठ नागरिकलाई स्वास्थ्य क्लिनिक सञ्चालन जारी रहेको जनस्वास्थ्य अधिकृत दिनेश नेपालले बताउनुभयो । नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद सापकोटाले ज्येष्ठ नागरिकले उपचारका लागि सास्ती भोग्न थालेपछि टोल टोलमै गएर स्वास्थ्य परीक्षण गर्ने नीति तथा कार्यक्रम नगरपालिकाले बनाएको उल्लेख गर्दै रु.२५ लाख रकम विनियोजन गरेर काम सुरु गरेको बताउनुभयो ।
आर्थिक अवस्थाले उपचार नै नपाएका, स्वास्थ्य संस्थामा पुग्ने अवस्था नभएका बिरामी पहिचान गर्दै विशेष कार्यक्रम नगरपालिकाले सञ्चालन गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्