२०८२ श्रावण १६

विदेशमा बस्ने नेपालीबाट अपाङ्गता भएकाहरुलाई सहयोग

चौतारा/ विदेशमा रहेका नेपालीहरुले अपाङ्गता भएका बालबालिकाका लागि सहयोग गरेका छन् । चौतारा साँगाचोकगढी नगरपालिका वडा ५ स्थित श्री कृष्ण आधारभूत विद्यालयमा अध्ययन गरिरहेका बालबालिकाका लागि न्यानो कपडासहित रु एक लाख नगद सहयोग गरेका हुन् ।

राष्ट्रिय ब्याडमेन्टन खेलाडी टासी शेर्पाको पहल र समन्वयमा सो सहयोग उपलव्ध भएको बौद्धिक अपाङ्गताका अभिभावक संघ, सिन्धुपाल्चोकका अध्ययक्ष जानकी श्रेष्ठले जानकारी दिनु भयो । बुधबार खेलाडी एवम् समाजसेवी शेर्पाले संघका अध्यक्ष श्रेष्ठलाई रु एकलाख नगद र ८ जना अपाङ्गता भएका बालबालिकालाई न्यानो कपडा वितरण गर्नुभयो ।

बाह्रबीसे घर भएकी खेलाडी शेर्पाले अपाङ्गता बालबालिकालाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउनु भयो । आफू चौतारा आउँदा अध्यक्ष श्रेष्ठसँग भेटेको र अपाङगता बालबालिकाको दयनीय अवस्था देखेर सहयोग गरेको उहाँको भनाई छ ।

संयुक्त राज्य अमेरिका र दक्षिण कोरियामामा बसोबास गर्दै आएका निमा ग्याल्जेन शेर्पा,नुर्पु मोक्तान, अनिल तामाङ, अरुण लामा, निमा शेर्पा, राजु अधिकारी, पेम्बा शेर्पा, ङ्गवाङ पाल्देन शेर्पा, पासाङ डोल्मा शेपेर्नी, निमा शेर्पा खम्बचे, सालाका दावा, अरुण शेर्पा, लोब्साङ शेर्पा, आशिष लामा, बलराम सुनुवारले उक्त रकम सहयोग उपलव्ध गराएको पनि खेलाडी शेर्पाले जानकारी दिनु भयो ।

बौद्धिक अपाङ्गताका आभिभावसंघद्वारा अपाङ्गता भएका करिब १५ बालबालिकाहरुलाई सो विद्यालयमा आवाससहित अध्ययनको व्यवस्थापन गर्दै आएको छ । पर्याप्त आर्थिक स्रोतको अभावका कारण विद्यालयमा अनेक समस्या झेलिरहेको बेला विदेशमा बस्ने सिन्धुपाल्चोकबासीहरुले गरेको सहयोगले आफूहरुलाई हौसला मिलेको संघका अध्यक्ष जानकी श्रेष्ठले बताउनु भयो । उहाँले समन्वय गरि सहयोग उपलव्ध गराई दिनु हुने राष्ट्रिय खेलाडी एवम समाजसेवी टासी शेर्पाले लगाएको गुण कहिल्यै चुक्ता गर्न नकिने पनि बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्