एकदिनको कुरा हो । माथि कौशीमा, नानीहरु “चैट्, चैट्” भनेर कराउन थाले । त्यो आवाजले माहिला दाइलाई पनि तान्यो । कोठाबाट निस्केर माहिला दाइ पनि माथि कौशीमा उक्ले । अनि बिस्तारै जिउ तन्काउँदै, केटाकेटीलाई भन्न थाले, “छिपीं मस्त ला गुलि न्ह्ययपुक भोतमाली ब्वयका च्वन का। जि ला मनै थामे या थाकुल । जि न छक घौ सी छिपीं लिसे भोतमाली ब्वयके न्हि ?” (तपाईंहरु त कति रमाईलो गरि चङ्गा चेट खेलिराख्नु भएको, बा ! मलाई त मनै थाम्न गाह्रो भो । म पनि तपाईहरु संगै एकै क्षण चङ्गा उडाउँ है ?)। त्यसपछि, उहाँले खल्तिबाट चार आना पैसा निकालेर दुई आनाको चुरोट र दुई आनाको मिठाई चकलेट किनेर ल्याउनुस है भनेर एक जना भाईलाई भन्नू भो । चङ्गा उडाउँदै गरेको भाइले लट्टाई माहिला दाईको हातमा ठम्याएर चुरोट र मिठाई किन्न गए । माहिला दाइ लट्टाइ घुमाउँदै चङ्गालाई आकाशतिर उकाल्दै नानीहरुसंग खेल्न थाल्नु भो । नानीहरु माहिला दाइलाई हौस्याउँदै, “त्यो हरियो, अनि त्यो रातो-रातो जस्तो चङ्गालाई चैट् गरिदिनुस् न” भन्दै अनुरोध गर्थे । तर उहाँ भने नानीहरुलाई सम्झाउँदै भन्नु हुन्थ्यो ” अरुहरु जुध्न आएन भने, किन चैट् गर्ने ? बरु संगसंगै खेल्नु पो मजा हुन्छ, हैन र ? “नाँई नाँई, अस्ति न उनीहरुले हाम्रो नयाँ चङ्गा चेट् गरेको के त !? चैट् गर्नुस, न माइला दाइ, प्लिज !” भन्दै नानीहरु अनुनय विनय गर्थे ।
त्यही बेला पसलमा गएको भाइ पनि चुरोट र “पेपर्मेण्ट चकलेट” (सुन्तला केस्रा खाले) किनेर फर्के । केटाकेटीहरु मिठाई मिठो मान्दै खान थाले । माहिला दाइ चाहिँ उडिरहेको चङ्गाको लट्टाई त्यही पहिलेको भाइलाई फिर्ता दिएर, चुरोट सल्काउँदै बिस्तारै तल कोठामा झरे ।
यो चाखलाग्दो रमाइलो कुरा जसले मलाई सुनाउनु भो, उहाँ त्यसबेलाको त्रिभुवन विश्वविद्यालयको प्रोफेसर हुनुहुन्थ्यो। मैले स्नातक गर्दाखेरीको पब्लिक यूथ क्याम्पसमा उहाँले हामीलाई पढाउनु हुन्थ्यो । म त्यसबेला लोकतन्त्रको निम्ति भएका ऐतिहासिक बिद्यार्थी आन्दोलनको एक सकृय अभियन्ता थिंए । क्याम्पसमा हुने गरिने विभिन्न शैक्षिक र अतिरिक्त कृयाकलापहरुमा भाग लिने र पुरस्कारहरु जित्ने कारणले क्याम्पसमा शिक्षक, बिद्यार्थी साथीहरु र कर्मचारीहरुले मलाई चिन्थे । उहाँले पनि मलाई सोही सन्दर्भमा चिन्नु भएको हुनुपर्छ । उहाँले मलाई माहिला दाइको बारेमा समय समयमा विभिन्न चाखलाग्दो कुराहरु सुनाउनु हुन्थ्यो । उहाँ मेरो मनपर्ने प्रोफेसर मध्येको पनि हुनुहुन्थ्यो । उहाँको भनाईमा माहिला दाइ असाध्य सरल र सामान्य जीवन बिताउनु हुन्थ्यो । उहाँको कोठाभरी किताबहरु यत्रतत्र छरिएको हुन्थ्यो । लेख-पढ र अध्ययनमा उहाँको ठूलो दिलचस्पी थियो । बालबालिकालाई कहिलेकाही उहाँ नागरिक शिक्षा र अंग्रेजी पनि पढाउनु हुन्थ्यो। उहाँको अंग्रेजी असाध्य राम्रो थियो । चुरोटको अम्मली हुनुहुन्थ्यो, तर कहिलेकाही उहाँसंग चुरोट तान्ने पैसा पनि हुँदैनथ्यो । कहिलेकाही उहाँ केटाकेटीहरु चङ्गा खेलेको ठाउँमा आएर, ” खै खै, तपाईहरुसंग पैसा छ ? छ भने मिठाई किनेर खानु र मलाई एक खिल्ली चुरोट पनि किनेर ल्याई दिनुस है । म पछि फेरि मिठाई किनेर खुवाइ हाल्छु नि,” भन्नुहुन्थ्यो । केटाकेटीहरु कहिलेकाही आफुसंग भएको पैसाले उहाँलाई चुरोट किनेर ल्याइदिन्थे। उहाँ पनि केटाकेटीलाई औधी नै माया गर्नु हुन्थ्यो र समय समयमा मिठाई किनेर ल्याई दिनुहुन्थ्यो । अहिले भएको भए केटाकेटीलाई चुरोट किन्न पठाउने हिम्मत त उहाँले पनि गर्न हुन्न्थ्यो होला ।
“माइला दाइ !” अर्थात श्रद्देय पुष्पलाल । सहिद गंगा लालको माहिलो भाइ । श्रद्देय वामपन्थी नेता सहाना प्रधानको जीवन-साथि । नेपान कम्युनिष्ट पार्टिको संस्थापक महासचिव । नेपालको जनवादी आन्दोलनको प्रणेता अर्थात नेपाली संयुक्त जन-आन्दोलनको विचारक । आज उहाँको पुण्यतिथिमा यो संक्षिप्त “सुनेको कुरा” पस्कंदै उहाँप्रति हार्दिक न्यानो तथा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु ।
नोट: मैले जसबाट माथिको कुरा सुनें । उहाँ मेरो आदरणीय प्रोफेसर हुनुहुन्छ । २०३७ सालतिरको कुरा हो । एकदिन उहाँले आफ्नै घरमा मलाई चिया खान बोलाउनु भो र मसंग लामो संवाद गर्नु भो । उहाँले, त्यसबेला, मलाई माहिला दाइको बारे बालापनको उपरोक्त रमाइलो प्रसङ्ग सुनाउनु भएको थियो। साथमा, “मार्क्सवाद” सम्वन्धी एउटा पुरानो पुस्तक पनि मलाई पढ्न दिनु भो । वास्तवमा, उहाँसंग भेट्न नपाएको पनि धेरै बर्ष भैसक्यो । यस संक्षिप्त लेख मार्फत म उहाँमा पनि हार्दिक न्यानो अभिवादन व्यक्त गर्दै उहाँको सुस्वास्थ्य र दिर्घ जीवनको हार्दिक कामना गर्न चाहन्छु । उहाँले अनुमति दिनु भएमा कुनै दिन उहाँको नाम पनि यस सन्दर्भमा उल्लेख गर्ने छु । अहिलेलाई यति नै । धन्यवाद !
लेखक गौरी प्रधान
प्रतिक्रिया दिनुहोस्