कार्तिक २४ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य यस्मिन ढुंगानाको नेतृत्वमा एक सय भन्दा बढी राप्रपा नेता कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । आज (विहिबार) एक कार्यक्रमकाबीच पूर्व गृह मन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधि र सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का उम्मेदवार मोहन बहादुर बस्नेतले ढुंगानाको नेतृत्वमा रहेको टिमलाई टिका माला लगाएर काँग्रेसमा प्रवेश गराउनुभयो ।
नेता निधिले यस्मिन ढुंगाना सहितको समुहको पार्टी प्रवेशले नेपाली काँग्रेसलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो । पार्टी प्रवेशपछि सम्बोधन गर्दै नेतृ ढुङ्गानाले पारीवारीक पृष्ठभूमि कांग्रेस भएपनि द्येरै ठुलो आशा राखेर राष्ट्रिय प्रजातन्त्र पार्टीमा आफु लागेको तर नया नेतृत्वबाट संचालित गतिविधि चित्त बुझ्न नसकेरै पार्टी परित्याग गरेको बताउनुभयो । सिद्दान्त विपरीत पार्टीका गतिविधि चलेपछि आफुलाई पार्टीमा रहिरहन उचित नलागेको उहाँले प्रतिक्रिया दिनुभयो । आराम विरामलाई पर राख्दै सामाजिक सेवामा खटिएको पात्र मोहन बस्नेतबाट प्रभावित भएको समेत नेतृ ढुंगानाको भनाई थियो ।
यस्तै नेता मोहन बहादुर बस्नेतले लोकतन्त्रको रक्षा,विकास र समृद्धिका लागि मंसिर ४ को निर्वाचनमा आफूले उम्मेदवारी दिएको बताउनुभयो । भुकम्प, कोभिड बाढी पहिरोमा जसरी सक्रियताका साथ काम गरियो त्यसै गरी क्षेत्र नम्बर २ को मुहार फेर्न आफुले काम गर्ने बस्नेतले बताउनुभयो । युवा वृद्ध देखि सबैको आशा आफूप्रति देखिएको बताउदै बस्नेतले यसले आफुलाई उत्साह र काम गर्ने जोश दिएको बताउनुभयो ।
काँग्रेसमा प्रवेश गर्नुभएको ढुङ्गाना राष्ट्रिय प्रजातन्त्र पार्टीको लोकप्रिय मतका साथ केन्द्रिय सदस्यमा निर्वाचित बन्नुभएको थियो । टिकटकै विषयमा पनि रुष्ट बन्नुभएको ढुङ्गाना सहित फणीन्द्र प्रसाद दाहाल र योगेन्द्र राज सिग्देलले उम्मेदवारी फिर्ता लिनुभएको थियो । यस अघि राप्रपाका क्षेत्रीय अध्यक्ष समेत रहेका फणिन्द्र दाहाल सहितका नेताहरु कांग्रेस प्रवेश गरिसकेका छन् । आजै राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देन मेलम्चीमा आउदै गर्दा काठमाडौमा प्रभावशाली नेताहरुले पार्टी छाड्दा हल्लीखल्ली मच्चिएको छ ।
प्रतिक्रिया दिनुहोस्