२०८३ कार्तिक २१

चौथो ठुलोसिरुवारी खेलकुद महोत्सव सुरु, गाउँका प्रतिभालाई मञ्च

सिन्धुपाल्चोक | चौतारा साँगाचोकगढी नगरपालिका-१३, ठुलोसिरुवारीमा चौथो खेलकुद महोत्सव सुरु भएको छ । नगरभित्रका युवा र विद्यार्थीको खेल प्रतिभालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवको उद्घाटन नगर प्रमुख कृष्णप्रसाद सापकोटाले गरे ।

नगरपालिकाले खेलकुदको विकास र खेलाडीको क्षमता अभिवृद्धिमा निरन्तर लगानी गर्दै आएको र आगामी दिनमा पनि यस्ता प्रतियोगितालाई प्रोत्साहन गर्ने उनले बताए । “खेलकुदले युवालाई अनुशासित बनाउनुका साथै नगरको नाम राष्ट्रिय स्तरमा चिनाउन मद्दत गर्छ,” उनले भने ।

कार्यक्रमको अध्यक्षता गरेका वडा नं. १३ का अध्यक्ष तथा सामाजिक विकास संयोजक रामप्रसाद गौतमले स्थानीय तहमा हुने यस्ता महोत्सवले गाउँगाउँमा लुकेका प्रतिभालाई बाहिर ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए । वडा तहबाट खेल पूर्वाधार विकासमा कुनै कसर बाँकी नराखिने उनको प्रतिबद्धता थियो ।

सिन्धुपाल्चोक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रामकृष्ण दंगालले नगरपालिका र वडाले खेलकुदलाई दिएको प्राथमिकताको प्रशंसा गरे । “मोफसल र ग्रामीण तहबाटै खेलाडीको जग बलियो बनाउन यस्ता महोत्सवले ठूलो ऊर्जा थप्छन्,” उनले भने । जिल्ला समिति दलीय आस्थाभन्दा माथि उठेर जिल्लाभरिका खेलाडी पहिचान र पूर्वाधार विकासमा प्रतिबद्ध रहेको र स्थानीय प्रतियोगितालाई आवश्यक समन्वय तथा सहयोग उपलब्ध गराइने उनको भनाइ थियो ।

वडास्तरीय खेलकुद विकास समितिका संयोजक तथा एसियन गेम्सका चर्चित प्रशिक्षक गंगालाल श्रेष्ठले खेलमा व्यावसायिकता र सही प्रशिक्षणको महत्त्व औँल्याए । भोलिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी यस्तै स्थानीय प्रतियोगिताबाट जन्मिने भएकाले खेलाडीलाई उच्च मनोबल र अनुशासनसहित खेल्न तयार पारिएको उनले जानकारी दिए। यो महोत्सव निरन्तर चौथो पटक भइरहेको उनले बताए ।

वडास्तरीय खेलकुद विकास समितिको सह-आयोजनामा सञ्चालित महोत्सवअन्तर्गत नगरस्तरीय माध्यमिक विद्यालयका जुनियर कराँते तथा दौड प्रतियोगिता-२०८३ पनि हुँदैछ । उत्कृष्ट स्थान हासिल गर्ने खेलाडी र टोलीलाई नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, खेलप्रेमी, प्रशिक्षक, अभिभावक र विद्यार्थीको ठूलो उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्