बराम्ची/ जुगल गाउँपालिकाले प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पर्यटकीय स्थलको पहिचान, संरक्षण, प्रवर्द्धन र प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले ‘जुगल भ्रमण वर्ष २०८३’ सञ्चालन गर्ने तयारी अघि बढाएको छ।
भ्रमण वर्षलाई प्रभावकारी, व्यवस्थित तथा उपलब्धिमूलक बनाउन गाउँपालिकाले सरोकारवालासँग छलफल तथा सुझाव संकलन कार्यक्रम आयोजना गर्ने भएको छ। गाउँपालिकाले सूचना जारी गर्दै भ्रमण वर्षको तयारीसम्बन्धी छलफल कार्यक्रममा सहभागी हुन विभिन्न क्षेत्रका सरोकारवालालाई आह्वान गरेको हो।
गाउँपालिकाका अनुसार जुगल क्षेत्रभित्र रहेका प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पर्यटकीय स्थलको पहिचान गरी तिनको संरक्षण, प्रवर्द्धन तथा प्रचारप्रसारमार्फत पर्यटन गतिविधि विस्तार गर्ने योजना अघि सारिएको छ। पर्यटन विकासमार्फत जुगललाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुका साथै स्थानीयस्तरमा आर्थिक गतिविधि बढाउने गाउँपालिकाको लक्ष्य छ।
भ्रमण वर्षको कार्यक्रम तर्जुमा गर्दा पर्यटकीय गन्तव्यको प्रवर्द्धन, पर्यटन पूर्वाधार विकास, प्रचारप्रसार, पर्यटकीय सेवा विस्तार तथा स्थानीय समुदायको सहभागितालगायत विषयमा सरोकारवालाको सुझाव संकलन गरिने गाउँपालिकाले जनाएको छ।
छलफल कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष, वडाध्यक्ष, कार्यपालिका सदस्य, गाउँसभा सदस्य, राजनीतिक दलका प्रतिनिधि, विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा प्रधानाध्यापक, सहकारी संस्थाका प्रतिनिधि, आमा समूह, पर्यटन तथा होटल व्यवसायी, गैरसरकारी संस्थाका प्रतिनिधि, पत्रकारलगायत सरोकारवालाको सहभागिता रहनेछ।
गाउँपालिकाले ‘जुगल भ्रमण वर्ष २०८३’ लाई जुगलको पर्यटन विकासका लागि महत्वपूर्ण अभियानका रूपमा अघि बढाउने जनाएको छ। स्थानीय समुदाय, व्यवसायी, राजनीतिक दल, सञ्चारकर्मी तथा अन्य सरोकारवालाको सहभागिताले अभियानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गाउँपालिकाले गरेको छ।
प्रतिक्रिया दिनुहोस्