२०८३ आश्विन ११

चेतना मातृशिशुको १७औं वार्षिक साधारणसभा सम्पन्न

चौतारा । चेतना मातृशिशु बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चौतारा साँगाचोकगढी नगरपालिका–५ को १७औँ वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ।

साधारणसभाको उद्घाटन गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख एवं कार्यक्रमका प्रमुख अतिथि कृष्णप्रसाद सापकोटाले चेतना मातृशिशु सहकारीले छुट्टै विशेषता बोकेको बताउँदै सहकारीको सिद्धान्तअनुसार अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

उहाँले सहकारीले वित्तीय कारोबारसँगै जनचेतनामूलक गतिविधिलाई पनि अगाडि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताउनुभयो। विशेषगरी मातृशिशुसम्बन्धी चेतना विस्तारका लागि सहकारीको भूमिका महत्वपूर्ण रहेको उहाँको भनाइ थियो।

हाल सहकारीको शेयर पूँजी १ करोड २ लाख रुपैयाँ रहेको तथा ७४१ जना सदस्य रहेको जानकारी दिइएको छ। आगामी वर्ष सदस्य संख्या ७६५ पुर्‍याउने लक्ष्य संस्थाले लिएको छ।

साधारणसभामा सहकारीको प्रगति प्रतिवेदन सहसचिव विमला सापकोटाले प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष अप्सरा भुजेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईंले सहकारीले आफ्नो नामअनुसार मातृशिशुको क्षेत्रमा जनचेतनामूलक तथा अन्य कार्यक्रम सञ्चालन गरिरहेकोमा प्रशंसा गर्दै सफलताको शुभकामना व्यक्त गर्नुभयो।

चौतारा साँगाचोकगढी नगरपालिका–५ का वडाध्यक्ष शिव श्रेष्ठले नगरभित्र ११४ वटा सहकारी दर्ता भएर सञ्चालनमा रहेको जानकारी दिँदै चेतना मातृशिशु सहकारीको आफ्नै विशेषता रहेको बताउनुभयो। सहकारीले सिद्धान्तअनुसार काम गर्न सके निम्न वर्ग तथा किसानलाई सहयोग पुग्ने उहाँको भनाइ थियो।

कार्यक्रममा वडा नं. ५ का पूर्ववडाध्यक्ष एवं नगर सहकारी सञ्जालका अध्यक्ष नरमान श्रेष्ठ, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका पूर्वअध्यक्ष जीवन श्रेष्ठलगायत विभिन्न सहकारीका प्रतिनिधिहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

वक्ताहरूले वार्षिक साधारणसभालाई सामान्य रूपमा नलिई सदस्यहरूले संस्थाका गतिविधि तथा कारोबारप्रति निरन्तर ध्यान दिनुपर्नेमा जोड दिएका थिए। सदस्यहरूले संस्थाका गतिविधिप्रति चासो नदिँदा सहकारीमा थप समस्या आउन सक्ने उनीहरूको भनाइ थियो।

साधारणसभाका अवसरमा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी तथा एसईईमा उत्कृष्ट अंक ल्याउने सदस्यका छोराछोरीलाई सम्मान गरिएको थियो।

संस्थाका अध्यक्ष गुणकेसरी श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन उपाध्यक्ष रोजिना घतानीले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्