२०८३ आश्विन १०

कांग्रेस अधिवेशन : मेलम्चीका मेयर तामाङको खुला महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

सिन्धुपाल्चोक । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई भव्य र सफल रूपमा सम्पन्न गर्ने संकल्पसहित आइतमान तामाङले सिन्धुपाल्चोक क्षेत्र नं २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधितर्फ उम्मेदवारी दिएका छन्।

लामो समयदेखि नेपाली कांग्रेसको संगठन निर्माण र पार्टी गतिविधिमा सक्रिय रहँदै आएका तामाङले पार्टीका विभिन्न तह र जिम्मेवारीमा रहेर काम गरिसकेका छन्। उनी हाल मेलम्ची नगरपालिकाका नगर प्रमुखका रूपमा जिम्मेवारी सम्हालिरहेका छन् भने नेपाली कांग्रेसको सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं २ का क्षेत्रीय सभापतिको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।

२०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट मेलम्ची नगरपालिकाको प्रमुखमा निर्वाचित भएका तामाङले नगर नेतृत्वसँगै पार्टी संगठनलाई अघि बढाउने जिम्मेवारीमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।

पार्टी संगठनमा निरन्तर सक्रियता, कार्यकर्तासँगको सहकार्य र संस्थागत जिम्मेवारीबाट हासिल गरेको अनुभवलाई थप प्रभावकारी रूपमा उपयोग गर्ने उद्देश्यसहित महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएको तामाङको भनाइ छ। उनले संगठनलाई थप व्यवस्थित र सुदृढ बनाउने, कार्यकर्ताबीच निरन्तर संवाद र समन्वय कायम गर्ने तथा पार्टीको लोकतान्त्रिक मूल्य, विधि र विधानलाई आत्मसात् गर्दै आफ्नो भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

तामाङले अग्रजको अनुभव, कार्यकर्ताको भावना र नयाँ पुस्ताको ऊर्जालाई एकै ठाउँमा जोड्दै कांग्रेस संगठनलाई थप गतिशील र जनतासँग नजिक बनाउने आफ्नो प्राथमिकता रहेको बताएका छन्। “संगठनमा गरेको निरन्तर काम, कार्यकर्तासँगको सहकार्य र पार्टीका विभिन्न जिम्मेवारीबाट प्राप्त अनुभवलाई अब अझ प्रभावकारी रूपमा संगठन निर्माणमा लगाउने मेरो प्रतिबद्धता हो,” तामाङले भने, “सबै कांग्रेसजनको सुझाव, साथ, सहकार्य र अमूल्य मतको अपेक्षा गरेको छु।”

कांग्रेसको १५औँ महाधिवेशनलाई नेतृत्व चयनसँगै संगठन सुदृढीकरण, आपसी एकता र लोकतान्त्रिक अभ्यासलाई थप मजबुत बनाउने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिँदै तामाङले महाधिवेशनलाई भव्य र सफल बनाउन सबै प्रतिनिधि तथा कांग्रेसजनमा आह्वान गरेका छन्।

प्रतिक्रिया दिनुहोस्