२०८१ आश्विन २
                           

उपाध्यक्ष बस्नेतको नेतृत्वमा हिमालय सीमापार वाणिज्य संघको टोली चीन जाँदै

श्रावण २९, काठमाडौ । नेपालस्थित चिनियाँ राजदूतावासको निमन्त्रणामा नेपाल हिमालय सीमापार वाणिज्य संघको टोली आज चीन प्रस्थान गर्दैछ । संघका उपाध्यक्ष सुजित बस्नेतको नेतृत्वमा १८ जनाको टोली चीन जान लागेको हो ।

नेपालस्थित चिनियाँ राजदूतावासको निमन्त्रणामा चीनको वाणिज्य मन्त्रालयद्वारा आयोजित बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआइ) सम्बन्धी बैठक तथा तालिममा भाग लिन टोली जान लागेको उपाध्यक्ष बस्नेतले जानकारी दिए । बिआरआइका सदस्यहरुका लागि आयोजना गरिएको अन्तर्राष्ट्रिय व्यापार सम्बन्धी तालिममा भाग लिन टोली चीन जाँदैछ । बिआरआइमा आवद्ध विभिन्न देशका व्यापारी र व्यवसायीलाई चीनले १४ दिन लामो तालिम प्रदान गर्न लागेको हो ।
उत्तरी नाका भएर लामो समयदेखि सामान आयात/निर्यात गर्दै आएको हिमालय सिमापार वाणिज्य संघको अहिलेसम्मकै ठूलो टिमलाई तालिमका लागि आमन्त्रण गरेको संघका अध्यक्ष रामहरि कार्कीले बताए ।

६/६ जनाको ३ वटा टोलीलाई छुट्टाछुट्टै तालिम दिने चिनियाँ कार्यतालिका रहेको छ । उपाध्यक्ष बस्नेतले चीन सरकारले हाम्रो संघलाई प्राथमिकता दिएर निमन्त्रणा गरेकोमा खुसी व्यक्त गरे । ‘हामी ६÷६ जनाको टोलीले फरकफरक विषयमा बिआरआइको तालिम लिनेछौं,’ उनले भने । बिआरआइ नेपालका लागि आवश्यक रहेको उनले बताए । वयरहाउसिङ, प्याकेजिङ, अन्तर्राष्ट्रिय व्यापार र एक ठाउँबाट अर्को ठाउँसम्म सामान लानेजस्ता विषयमा तालिम प्रदान गरिने उनले प्रष्ट्याए ।

उपाध्यक्ष बस्नेतको नेतृत्वमा संघका महासचिव रामचन्द्र पराजुली, वरिष्ठ सचिव भरतबहादुर अर्याल, सचिव तुलसी राउत, कोषाध्यक्ष लालबहादुर बस्नेत, सह–कोषाध्यक्ष सुमन श्रेष्ठ, कार्यसमिति सदस्यहरु क्षितिज गौतम, पुस्कर गिरी, नारायण पराजुली, बाल्मीकिनाथ पराजुली, राजेश भण्डारी, रामचन्द्र थापा, जितेन्द्रप्रसाद दाहाल, सन्तोष खत्री, बसन्त नेपाल, राजकपुर खत्री, साधारण सदस्यहरु सुजन पौडेल र कार्यालय प्रसाशनिक सहायक सूर्य पौडेलले तालिममा भाग लिनेछन् ।

बिआरआइका लागि चीनले हाम्रो संस्थालाई विश्वास गरेर तालिममा सहभागी गराउने निमन्त्रणा गर्नु अत्यन्तै राम्रो काम भएको वरिष्ठ उपाध्यक्ष गंगा घिमिरे सागरले टिमलाई बिदाइ गर्ने क्रममा बताए ।

प्रतिक्रिया दिनुहोस्