सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा तथा असल अभ्यास कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको आयोजनामा संघ, प्रदेश र स्थानीय तहअन्तर्गत भएका कामको प्रगति, उपलब्धि तथा कार्यसम्पादनको समीक्षा गर्दै कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा जिल्लाका १२ वटै स्थानीय तहसहित संघ र प्रदेश मातहतका २४ वटा कार्यालयले सहभागिता जनाएका थिए । सहभागी कार्यालयहरूले आफ्नो कार्यालयको अवस्था, आर्थिक वर्षभरि भएका काम, हासिल गरेका उपलब्धि तथा कार्यसम्पादनका क्रममा देखिएका समस्या र चुनौतीबारे प्रस्तुति दिएका थिए ।
त्यसैगरी, सेवा प्रवाह तथा कार्यालय सञ्चालनका क्रममा अपनाइएका प्रभावकारी र अनुकरणीय अभ्यासबारे समेत सहभागी कार्यालयहरूले जानकारी गराएका थिए । असल अभ्यासको आदानप्रदानले जिल्लाका विभिन्न तह र कार्यालयबीच सिकाइ तथा सहकार्यको वातावरण बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कार्यक्रमले संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठले बताए । विकास निर्माण र सार्वजनिक सेवा प्रवाहका कामलाई थप व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन यस्ता समीक्षा तथा अनुभव आदानप्रदान आवश्यक रहेको उनको भनाइ थियो ।
वार्षिक समीक्षा कार्यक्रममार्फत जिल्लामा भएका कामको अवस्था पहिचान गर्नुका साथै आगामी दिनमा सुधार गर्नुपर्ने पक्षबारे समेत छलफल गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्