जीवन श्रेष्ठ |भारतको पुणेमा जारी आठौं विश्व गोजु–रियो कराँते च्याम्पियनसिपको पहिलो दिन नेपालले ऐतिहासिक र शानदार सुरुवात गरेको छ । प्रतियोगिताको प्रारम्भमै नेपाली टोलीले ४ स्वर्ण, ४ रजत र ३ कांस्य गरी कुल ११ पदक जितेको छ ।
नेपाल गोजु–रियो कराँते संघका प्रमुख प्रशिक्षक बलराम मित्रको नेतृत्वमा गएको नेपाली टोलील रेफ्री तथा कोच सेमिनार समापन गरेसँगै बुधबार मुख्य फाइट (कुमुते) र काता स्पर्धाको पहिलो दिनमै यो गौरवमय सफलता हासिल गरेको हो ।
नेपाली टोलीका तर्फबाट मैदानमा उत्रिएकी सिन्धुपाल्चोककी १५ वर्षीया सन्ध्या श्रेष्ठले ४८ केजी तौल समूहको कुमुते (फाइट) तर्फ ऐतिहासिक स्वर्ण पदक जितेकी छन् । पुणेको राष्ट्रिय रंगशालामा भएको निकै रोमाञ्चक र कडा प्रतिस्पर्धामा सन्ध्याले घरेलु मैदानको फाइदा उठाइरहेकी बलियो प्रतिस्पर्धी भारतकी खेलाडीलाई फाइनलमा सोझो सेटमा पराजित गर्दै विश्व च्याम्पियनको उपाधि चुमेकी हुन् ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाबाट बिदाइ भएर गएकी सन्ध्याको यो जीतले सिंगो जिल्ला र देशकै शीर उँचो बनाएको मेयर कृष्णप्रसाद सापकोटाले बताए । पुणेमा टोलीका साथमै रहेका सिन्धुपाल्चोकका प्रशिक्षक निराजन थापा मगरका अनुसार सन्ध्या श्रेष्ठसँगै नेपालका अन्य तीन खेलाडीहरू- मनिषा मगर, विवेक शाही र रविका धामीले पनि आ–आफ्नो तौल समूहमा स्वर्ण पदक जितेर राष्ट्रको नाम चम्काएका छन् ।
त्यस्तै कुमुते (फाइट) तर्फ पारस बडैली, जनल सार्की, ओनिशा श्रेष्ठ, अन्भी शाहीले रजत पदक जित्न सफल भएका छन् भने आङ शाही,मुजोलाइङ लिम्बु, आशिका विकले कास्य पदक हात पारेका छन् ।
प्रतिक्रिया दिनुहोस्