२०८३ आश्विन २१

कफीमा बढ्दो आकर्षण, रोजगारीको नयाँ सम्भावना : सिन्धुपाल्चोकमा बरिस्ता तालिम

सिन्धुपाल्चोक । युवालाई कफी तथा बेकरीसम्बन्धी सीप प्रदान गर्दै रोजगारी र स्वरोजगारसँग जोड्ने उद्देश्यले सिन्धुपाल्चोकमा आधारभूत बेकरी तथा बरिस्ता तालिमको उद्घाटन गरिएको छ ।
असोज २० गतेदेखि २८ गतेसम्म न्यू अरनिको रिसोर्टमा सञ्चालन हुने तालिम अरनिको एग्रो टुरिजम कर्पोरेट प्रा.लि., चौतारा, सिन्धुपाल्चोकको आयोजनामा तथा उद्योग तथा वाणिज्य कार्यालय, सिन्धुपाल्चोकको सहयोगमा आयोजना गरिएको हो ।


तालिमको उद्घाटन गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद सापकोटाले कफी विश्व बजारमै राम्रो सम्भावना भएको कृषि उत्पादन रहेको बताए । कफीको उत्पादनसँगै यसको प्रशोधन तथा बजारीकरणसम्बन्धी सीप विकास गर्न सके यस क्षेत्रमा रोजगारीका प्रशस्त अवसर सिर्जना गर्न सकिने उनको भनाइ थियो ।


नगर प्रमुख सापकोटाले कफी उत्पादन, प्रशोधन र त्यसबाट हुने आर्थिक गतिविधिलाई स्थानीय स्तरमै प्रवर्द्धन गर्न आवश्यक रहेको बताउँदै यस्ता व्यावहारिक तथा सीपमूलक तालिमले युवालाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।


त्यस्तै, नगर उपप्रमुख सीता थापाले कफीलाई उद्योगका रूपमा विकास गर्ने उद्देश्यले गरिएको लगानी महत्वपूर्ण उपलब्धिका रूपमा स्थापित हुने बताइन् । कफीलाई स्थानीय उत्पादन र व्यवसायसँग जोडेर अगाडि बढाउन सके यसले स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने उनको भनाइ थियो ।


चौतारा साँगाचोकगढी नगरपालिका-५ का वडाध्यक्ष शिव श्रेष्ठले अन्य तालिमभन्दा यस प्रकारको सीपमूलक तालिम पृथक रहेको बताए । नगरपालिकाले विभिन्न समयमा विभिन्न प्रकारका तालिम सञ्चालन गर्दै आए पनि कतिपय तालिमको प्रतिफल सन्तोषजनक हुन नसकेको उनले उल्लेख गरे ।
“तालिमका लागि मात्र तालिम सञ्चालन गर्ने प्रवृत्तिभन्दा तालिमपछि त्यसको प्रतिफल देखिनुपर्छ,” वडाध्यक्ष श्रेष्ठले भने । यस तालिमले सहभागीलाई प्रमाणपत्र वितरणमा मात्र सीमित नराखी रोजगार तथा स्वरोजगार सिर्जनातर्फ अघि बढाउने उद्देश्य बोकेको उनको भनाइ थियो ।
तालिमका प्रशिक्षक दिपेश खत्री स्वयं यसै क्षेत्रबाट सीप हासिल गरी व्यावसायिक रूपमा अघि बढेको उदाहरण प्रस्तुत गर्दै वडाध्यक्ष श्रेष्ठले तालिमको उपलब्धि प्रशिक्षककै रूपमा कार्यक्रममा उभिएका खत्रीले प्रमाणित गरेको बताए ।


कार्यक्रममा उद्योग वाणिज्य कार्यालय प्रमुख त्रिपुरारी बखरेलले कफीसम्बन्धी तालिम तुलनात्मक रूपमा महँगो हुने भए पनि सहभागीले निःशुल्क रूपमा तालिम लिन पाएको अवसरको पूर्ण लाभ उठाउन सहभागीहरूलाई आग्रह गरे । युवामा कफीप्रतिको आकर्षण बढ्दै गएको बताउँदै उनले कार्यालयसमेत यस्ता सीपमूलक कार्यक्रमप्रति सकारात्मक रहेको उल्लेख गरे ।
विश्व बजारमा कफीको माग निरन्तर बढ्दै गएको अवस्थामा तालिमलाई रोजगारी र स्वरोजगारसँग जोडेर अघि बढाउनुपर्ने बखरेलको भनाइ थियो । तालिमले सहभागीलाई कफी तथा बेकरीसम्बन्धी आधारभूत सीप प्रदान गर्नुका साथै स्थानीय स्तरमै व्यवसाय सञ्चालन गर्ने वातावरण निर्माणमा सहयोग पुग्ने आयोजकको अपेक्षा छ । कफी संस्कृतिको विस्तारसँगै बरिस्ता, बेकरी तथा आतिथ्य सेवाका क्षेत्रमा बढ्दो सम्भावनालाई उपयोग गर्दै युवालाई व्यावसायिक सीप प्रदान गर्ने लक्ष्यसहित तालिम आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्