चौतारा । जिल्लाको खेलकुद विकासमा नयाँ आयाम थप्ने अपेक्षासहित २०७६ सालमा निर्माण सुरु गरिएको चौताराको मिनी रंगशाला अहिले अन्तिम चरणमा पुगेको छ । मैदान, प्यारापिट र अधिकांश भौतिक संरचना तयार भइसकेका छन् । बाहिरबाट हेर्दा रंगशाला सञ्चालनको प्रतीक्षामा रहेको जस्तो देखिए पनि भित्रको वास्तविकता भने फरक छ । निर्माण सम्पन्न हुन अब धेरै काम बाँकी छैन, तर बाँकी रहेका कामहरू आर्थिक अभावका कारण सुस्त बनेका छन् ।
निर्माण व्यवसायीले पाउनुपर्ने करोडौँ रुपैयाँ भुक्तानी रोकिँदा फ्लडलाइट जडान, फिनिसिङ तथा अन्य अन्तिम चरणका काम प्रभावित भएका छन् । निर्माण व्यवसायीको भनाइमा समस्या काम गर्ने इच्छाको नभई भुक्तानीको हो । सरकारले सम्झौताअनुसार उपलब्ध गराउनुपर्ने रकम समयमै नआउँदा निर्माणलाई निरन्तरता दिन कठिन भएको उनीहरूको गुनासो छ ।

यही अवस्थाको वस्तुस्थिति बुझ्न बागमती प्रदेशकी युवा तथा खेलकुद मन्त्री उर्मिला नेपाल, मन्त्रालयका सचिव, सामाजिक विकास कार्यालयका प्रमुख तथा प्राविधिकसहितको टोलीले केही समय अघि निर्माणस्थलको स्थलगत अनुगमन गरेको थिए । टोलीले निर्माणको प्रगति, बाँकी रहेका काम, आर्थिक जटिलता तथा परियोजना सम्पन्न गर्ने कार्ययोजनाबारे निर्माण कम्पनी र सम्बन्धित निकायसँग छलफल गरेका थियो । तर बाकी रहेको रकम भुक्तानी बारे भने कुनै ठोस निर्णयमा पुग्न सकेको देखिदैन ।
यो परियोजनाको यात्रा सुरुदेखि नै सहज रहेन । प्रारम्भिक ठेक्का सुनकोशी-गिरि जेभी कन्स्ट्रक्सनले प्राप्त गरे पनि निर्धारित समयमा काम सम्पन्न हुन सकेन । पटक-पटक म्याद थपिए पनि अपेक्षित प्रगति हुन नसकेपछि दोस्रो पक्ष गिरि कन्स्ट्रक्सनले निर्माण सम्पन्न गर्न नसक्ने अवस्था सिर्जना भयो। त्यसपछि मुख्य कम्पनी सुनकोशी कन्स्ट्रक्सन नेपाल प्रा.लि. ले २०८१ साल जेठदेखि परियोजनाको जिम्मेवारी पूर्ण रूपमा ‘टेकओभर’ गर्दै निर्माणलाई पुनः गति दिएको हो ।
तर, निर्माणले गति लिन थालेकै बेला अर्को समस्या थपियो । मन्त्रिपरिषद्को १३औँ संशोधनपछि म्याद थप हुन नसक्दा केही समय काम पूर्ण रूपमा रोकियो। सार्वजनिक खरिद नियमावलीको १४औँ संशोधनमार्फत विशेष व्यवस्था गरी पुनः म्याद थपिएपछि निर्माण कार्य अघि बढ्यो। यद्यपि, अहिले समयभन्दा ठूलो चुनौती आर्थिक व्यवस्थापन बनेको छ ।
निर्माण व्यवसायी तथा सुनकोशी कन्स्ट्रक्सनका आधिकारिक प्रतिनिधि जे.बी. लिम्बूका अनुसार कम्पनीले सम्पन्न गरेको कामको करिब दुई करोड रुपैयाँ बराबरको बिल भुक्तानी अझै प्राप्त भएको छैन । त्यस्तै, ठेक्का सम्झौतामा उल्लेख भएको ३० महिनाको अवधिभित्र भएको मूल्यवृद्धि बापत करिब १० प्रतिशत रकम समेत सम्बन्धित कार्यालयबाट निकासा हुन बाँकी छ ।
उनका अनुसार उक्त मूल्य समायोजन रकममध्ये करिब आधा अर्थात् झण्डै ८० लाख रुपैयाँ भने यसअघि गिरि कन्स्ट्रक्सनले प्राप्त गरिसकेको छ । बाँकी रकम सुनकोशी कन्स्ट्रक्सनले पाउनुपर्ने भए पनि हालसम्म भुक्तानी हुन नसक्दा कम्पनी आर्थिक दबाबमा परेको छ ।
“पछिल्ला वर्षहरूमा सिमेन्ट, फलाम, डिजेल, ढुवानीदेखि श्रमिकको ज्यालासम्म उल्लेखनीय रूपमा बढेको छ । लागत निरन्तर बढिरहेको अवस्थामा कानुनले व्यवस्था गरेको मूल्य समायोजनको रकम नपाउँदा निर्माण व्यवसायीलाई काम निरन्तर अघि बढाउन निकै कठिन भइरहेको छ,” लिम्बूले बताए ।
उनका अनुसार अहिले फ्लडलाइट जडान, विद्युतीय प्रणाली, अन्तिम फिनिसिङ, रंगरोगन तथा केही प्राविधिक काम सम्पन्न हुन बाँकी छन् । आवश्यक भुक्तानी समयमै उपलब्ध भए छोटो अवधिमै रंगशाला पूर्ण रूपमा सञ्चालनयोग्य बनाउन सकिने उनको दाबी छ ।
चौतारा सदरमुकाममा निर्माणाधीन यो मिनी रंगशाला सञ्चालनमा आएपछि जिल्लामा प्रदेशस्तरीय तथा राष्ट्रियस्तरका खेलकुद प्रतियोगिता आयोजना गर्न सहज हुने अपेक्षा गरिएको छ । यसले स्थानीय खेलाडीलाई आधुनिक अभ्यासस्थल उपलब्ध गराउनुका साथै खेल पर्यटन र खेलकुद गतिविधिको विस्तारमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।
तर, सात वर्षदेखि विभिन्न कारणले ढिलाइ हुँदै आएको यो परियोजनाको भविष्य अहिले फेरि सरकारी भुक्तानी र आर्थिक व्यवस्थापनमै निर्भर देखिएको छ । संरचना लगभग तयार भए पनि बाँकी रकम निकासा हुन ढिलाइ भए बहुप्रतीक्षित मिनी रंगशाला फेरि अर्को प्रतीक्षाको प्रतीक बन्ने चिन्ता स्थानीय खेलप्रेमी र सरोकारवालामा बढ्दो छ ।
प्रतिक्रिया दिनुहोस्