२०८० मंसिर १४

किताब नपढ्ने हामी नेपाली !

 

इन्टरनेटको सूचनाले के बताउँछ भने मुस्लिम बहुल देशहरुमा बाहेक अरुतिर ज्ञानगुनका पुस्तक पढ्ने दर निकै माथि छ । मुस्लिम बहुल देशहरुमा सरकार आफैंले आयातीत पुस्तकमा सेन्सर गर्ने, देशमा भित्रिन योग्य पुस्तकमा उच्च कर लगाउने र धार्मिक विषयलाई मात्र महत्व दिने भएका कारणले पुस्तक पढ्ने दर कम देखिएको हो ।

यसबाहेक, युद्धको चपेटामा परेका देशका नागरिकहरुमा पुस्तक पढ्ने जाँगर देखिँदैन । तर, नेपालजस्तो देश, जहाँ न कुनै युद्ध छ, न पुस्तक पढ्न कुनै कानुनी बन्देज छ, त्यो देशमा साक्षरता दर बढिरहँदा पुस्तक पढ्ने दर घटिरहनुले केको सङ्केत गर्छ ?

‘यो भनेको देश असफलतिर गइरहेको सङ्केत हो ।’ पुस्तक अभियन्ता एवं नागरिक अगुवा केदारभक्त माथेमा भन्छन्, ‘जुन देशका नागरिकमा नयाँ कुराप्रति जिज्ञासु हुन्नन्, उनीहरुमा  ज्ञानको तीब्र भोक हुन्न, त्यस देशमा विज्ञान, कला  र आधुनिक खोज सम्भव हुन्न । तर, यसको दोष नागरिकलाई भन्दा सरकारलाई जान्छ ।’

माथेमाको आक्रोश सरकारले पुस्तकमाथि लगाएको १० प्रतिशत करसँग सम्बन्धित छ । यसलाई उनी मुस्लिमबहुल देशका सरकारले पुस्तकमाथि लगाएको सेन्सर नीतिसँग तुलना गर्छन् ।

तर, नागरिकको दोष पनि कम्ति छैन । उनको विचारमा जबसम्म पढ्नु भनेको इम्पोजिङ् होइन, जिज्ञासु हुनु हो भन्ने आम नागरिकले बुझ्दैनन्, तबसम्म स्कुल कलेज पास गर्नुलाई नै मानिसले पढ्नु भनेको बुझ्नेछन् । अहिले अध्ययन गर्ने प्रबृत्तिमा देखिएको संकट पनि त्यही हो ।

यही कुरालाई फरक शैलीमा मनोविज्ञ करुणा कुँवर भन्छिन्, ‘हामीले हाम्रा बालबालिकालाई स्कुल कलेजमा पढ्न यति धेरै कर गर्‍यौं कि ती परीक्षा पास गरुञ्जेलसम्म उनीहरुलाई पुस्तकप्रति नै वितृष्णा उत्पन्न हुन पुग्छ । जबकि पढ्नु भनेको सास फेरेजस्तै नियमित प्रक्रिया हो ।’

अघिल्लो साता भृकुटी प्रकाशनका प्रमुख तथा पुस्तक व्यवसायी लिखतप्रसाद पाण्डेले दाबी गरेका थिए, एउटा नेपालीले वर्षमा जम्मा २० रुपैयाँ मात्र ज्ञानगुनमा खर्च गर्छ । स्कुल कलेजमा पढाइने पाठ्यपुस्तक, त्यसका गाइड र लोकसेवा आयोगका पुस्तकहरुमा एउटा नेपालीले सरदर १२० रुपैयाँ खर्च गर्दा वाङ्मयमूलक ज्ञानका लागि जम्माजम्मी २० रुपैयाँ खर्च गर्ने पाण्डेको हिसाब छ । यही कारण पुतलीसडकका  कलेज र लोकसेवा आयोगका ट्युसन सेन्टरहरु विद्यार्थीले भरिभराउ हुँदा त्यही बाटोमा पर्ने पाण्डेको पुस्तक पसलमा एक जना पनि विद्यार्थी छिरिरहेका थिएनन् ।

यो अवस्था पुतलीसडकको मात्र थिएन । त्यो दिन मैंले काठमाडौंका पुस्तक हब मानिएका प्रदशर्नीमार्ग, बागबजार, भोटाहिटी र नाचघर क्षेत्रका धेरैजसो पुस्तक पसलहरु चाहारेँ । अधिकांश व्यवसायीहरुको करिब-करिब एउटै निष्कर्ष थियो- आगामी १० वर्षमा नेपालका धेरैजसो पुस्तक पसलहरु बन्द हुनेछन् ।

आफ्नो व्यवसाय बचाउने हो भने सबै ब्यापारीले स्कुल कलेजका पुस्तक र गाइड बेच्न सुरु गर्नुपर्नेछ । अहिले पनि काठमाडौंमा भएका ९५ प्रतिशत पुस्तक पसलहरुको मुख्य आयश्रोत स्कुल कलेजका पाठ्यपुस्तक हुन् । अझ उपत्यकाबाहिर यो सत्प्रतिशत भएको दावी उनीहरुको छ ।

एक महिनाअघि शिक्षा मन्त्रालय र युनेस्कोले संयुक्तरुपमा गरेको पत्रकार सम्मेलनमा मुलुकको साक्षरता ८० प्रतिशत पुगेको तथ्य पेश गरिएको थियो । उनीहरुले एक दशकभित्रै नागरिक साक्षरता ९६ प्रतिशत पुग्ने दावी गरिरहेका थिए ।

अहिले नै नेपालका ४६ जिल्लामा सतप्रतिशत साक्षर भइसकेको छ । यो समाचार हात परेपछि मेरो मस्तिष्कमा आएको पहिलो प्रश्न थियो- विश्वका कतिवटा यस्ता देश छन्, जसको साक्षरता प्रतिशत ८० हुँदा ज्ञानगुनका पुस्तकमा केवल २० रुपैयाँ मात्र खर्च गरिन्छ ?

शक्तिशाली देशका नागरिक

एक ताका बेलायतले सबैभन्दा बढी पुस्तक प्रकाशन गर्दथ्यो । उसले प्रकाशन गरेका पुस्तक संसारभर पुग्थे । त्योबेला बेलायत विश्वकै शक्तिशाली देश थियो । जसै अमेरिकाले विद्वानहरुलाई अमेरिकी नागरिकता दिएर आकर्षित गर्न थाल्यो, बेलायतको शक्ति अमेरिकामा सर्‍यो । अहिले संसारमा सबैभन्दा बढी अध्ययन अनुसन्धानमा खर्च गर्ने देश अमेरिका छ ।

भारतका प्रकाशन गृहले आफ्नो ७० प्रतिशत ब्यापार डिजिटल भर्सनमा गर्न थाले पनि नेपाली प्रकाशनले अझैसम्म नयाँ प्रविधि सुरु गरेका छैनन् । यही कारण मोबाइल पुस्ताको अधिकांश फुर्सदको समय युट्युब र सोसल मिडियामा खर्च भइरहेको छ

आजको दिनसम्म अमेरिका विश्वको शक्तिशाली देश बन्न सफल छ । यही कुरा चीन र भारतको सन्दर्भमा लागू हुन्छ । अहिले अमेरिकापछि सबैभन्दा बढी पुस्तक प्रकाशन गर्ने देशका रुपमा चीनको गणना हुन थालेको छ । त्यसलाई भारतले पछ्याउँदैछ ।

पछिल्लो तथ्यांकअनुसार चीन र भारतमा युरोप र अमेरिकी पुस्तक प्रकाशकहरु बसाइँ सरेका  छन् । जब ठूलो पूँजी भएका बहुराष्ट्रिय कम्पनीहरु कुनै देशमा भित्रिन्छन्, सम्झनुपर्छ, त्यहाँको ब्यापारको सम्भावना अपार छ ।

अहिले भारतमा अमेजन र फ्लिपकार्ट नामक दुई ठूला कम्पनीले पुस्तक बेचेरै अर्बौंको व्यापार गरिरहेका छन् । त्यसमध्ये अमेजनले कुल पुस्तक ब्यापारको ६० प्रतिशत बजारमा कब्जा गरिसकेको दाबी टाइम्स अफ इन्डियाले दिएको रिपोर्टमा उल्लेख छ ।

दोस्रो ठूलो कम्पनी फ्लिपकार्टले पनि पुस्तक ब्यापारमा राम्रै उपस्थिति जनाएको छ । फ्लिपकार्ड कम्पनीलाई अमेरिकाको वालमार्टले किनेपछि यसले भारतीय पुस्तक बजारमा हस्तक्षेपकारी भूमिका निभाउन थालेका छन् । सन् २०१५ मा यी दुई कम्पनीको पुस्तक ब्यापार २ सय ६१ मिलियन भारतीय रुपैयाँ थियो । सन् २०२० मा यो रकम बढेर ६ सय ४० मिलियन पुग्ने अनुमान गरिएको छ ।

भारतमा यी दुई कम्पनीले भारतका सबैजसो विद्वानलाई भिन्न-भिन्न विषयमा पुस्तक लेखाइरहेका छन् र यसको प्रवर्द्धनमा करोडौं रुपैयाँ खर्चिरहेका छन् । यो चापमा परेर स्थानीय प्रकाशन गृहहरु भने अप्ठ्यारोमा पर्दै गएका छन् । टाइम्स अफ इन्डियाले दिएको रिपोर्ट अनुसार भारतभर ९ हजार पुस्तक प्रकाशक छन्, जसले निकाल्ने कुल पुस्तक मध्ये ७० प्रतिशत डिजिटल भर्सनमा विक्री  हुन्छन् ।

नेपालमा भने अवस्था ठीक उल्टो छ । भारतभन्दा २३ गुणा सानो नेपालमा मुस्किलले दुई दर्जन प्रकाशन गृह छन् । दुई देशको प्रकाशन गृहको अवस्थाबाटै पठन  संस्कृतिको अनुमान लगाउन सकिन्छ । भारतका प्रकाशन गृहले आफ्नो ७० प्रतिशत ब्यापार डिजिटल भर्सनमा गर्न थाले पनि नेपाली प्रकाशनले अझैसम्म नयाँ प्रविधि सुरु गरेका छैनन् । यही कारण मोबाइल पुस्ताको अधिकांश फुर्सदको समय युट्युब र सोसल मिडियामा खर्च भइरहेको छ ।

भारतमा सन् २०१५ मा पुस्तक खरिद प्रतिव्यक्ति २ सय ३० रुपैयाँ थियो । सन् २०२० मा पुग्दा यो पाँच सय रुपैयाँ पुग्ने अनुमान गरिएको छ । भारतजस्तो ठूलो जनसंख्या भएको मुलुकका नागरिकको पढ्ने चाहाना बढिरहेको प्रवृत्तिलाई बुझेर नै बहुराष्ट्रिय कम्पनीहरुले पुस्तकमा लगानी बढाइरहेको बुझ्न कठीन छैन ।

चीनको अवस्था अझै माथि

जबसम्म ज्ञानमा लगानी गरिँदैन, नागरिकबाट गुणस्तरीय काम लिन सकिँदैन भन्ने कुरा चीनका शासकहरुले जति अरु कसले बुझेका होलान् ? सायद यही कारण हो, अहिले चीनले विशेष सुविधा  दिएर त्यहाँका प्रकाशनगृहहरुलाई विश्वप्रशिद्ध पुस्तकहरुको अनुवाद गराइरहेको छ ।

२५ वर्षअघिसम्म माओवादी नीतिलाई संसारभर पुर्‍याउन सरकारी प्रकाशन गृह जोडतोडले मेहनेत गर्दथे । अहिले ती प्रकाशन गृहको नीति ठीक उल्टो छ । उनीहरु विश्वप्रशिद्ध पुस्तकहरु आफ्ना भाषामा अनुवाद गराएर विद्यालय र कलेजहरुमा पठाइरहेका छन् । एक अर्ब ४० करोड जनसंख्या भएको मुलकका सबै जसो विद्यालय र कलेजहरुमा विश्वप्रशिद्ध कृतिहरुको अनुवाद भएर पुग्नुले उनीहरुको पुस्तक ब्यापारको आँकडा कति छ, केवल अनुमान गर्न सकिन्छ ।

यो पनि पढ्नुहोसपुस्तक चर्चा : गुठी व्यवस्थादेखि अन्तरदेशीय नेपाली कथासम्म‘अहिले चीनमा हरेक विद्यार्थीलाई विदेशी लेखकले लेखेका लेखेका पुस्तक अध्ययन गर्न प्रोत्साहन गरिन्छ ।’ चिनियाँ सरकारको छात्रवृत्तिमा संाघाइको एउटा विश्वविद्यालयमा चिनियाँ भाषा अध्ययन गरिरहेका सन्देश  देउजा भन्छन्, ‘उसै पनि चिनियाँहरुमा पढ्नुपर्छ भन्ने भावना तिब्र छ । त्यसमा पनि संसारका राम्रा पुस्तकहरु चिनियाँ भाषामा अनुवाद भएपछि यसका बारेमा चर्चा हुने गरेको छ ।’

देउजा तिनै व्यक्ति हुन्, जसले चिनियाँ टेलिभिजनहरुमा नेपाली टोपी लगाएर चिनियाँ गीत गाएर दर्शकको मन जितिरहेका छन् । एक महिनाअघि उनी नेपाल आएका बखत उनको ब्याग भरि चिनियाँ भाषाका अनुदित पुस्तक थिए । भन्दै थिए, ‘मलाई चिनियाँ भाषा सिक्न विश्वप्रशिद्ध अंग्रेजी लेखकका पुस्तकले सघाइरहेको छ ।’

देउजाका अनुसार, पार्क र रेल यात्रामा सबैभन्दा बढी पढिरहेका मानिस भेटिन्छन् । आजभोलि हार्डकपीमा भन्दा मोवाइल र ट्याबमा डिजिटल पुस्तक पढ्नेहरु बढेका छन् ।

युरोप अमेरिकामा पनि

बेलायतमा ८३ प्रतिशत घरमा पुस्तकका लागि भिन्दै कक्ष हुने गरेको अध्ययनहरुले बताएको छ । सुसंस्कृत देखिन भए पनि बेलायतीहरु आफ्नो घरमा पुस्तकालय बनाउँछन् भन्ने चलन छ । लामो यात्रा गर्दा आफ्नो ब्यागमा एउटा पुस्तक र एउटा पानीको बोटल बोक्ने बेलायतीहरुको पुरानो संस्कार हो ।

बेलायतबाट प्रकाशन हुने गार्जियन पत्रिकाले एक वर्षअघि सोसल मिडियाले पुस्तक ब्यापारमा असर पारेको छ कि छैन भन्ने खोजी गरेको थियो । उक्त खोजमा पत्रकारहरुको अनुमान विपरीत पुस्तक ब्यापार तीब्र उछाल भएको देखिएको थियो । यो रिपोर्टलाई सन् २०१८ को जुलाई १९ को अनलाइन संस्करणमा अहिले पनि पढ्न सकिन्छ ।

रिपोर्टमा बेलायतमा प्रत्येक वर्ष ५ प्रतिशतका दरले पुस्तकको ब्यापार बढिरहेको तर वर्ष २०१७ मा यो बढेर ५ दशमलब ७ प्रतिशत भएको बताएको छ । डिजिटल युगमा पनि स्टोरहरुमा गएर पुस्तक किन्ने यो संख्यालाई लिएर पुस्तक व्यवशायीहरु निकै खुसी भएको कुरा उल्लेख छ । जबकि डिजिटल भर्सन प्रत्येक वर्ष २२ प्रतिशतका दरले बढिरहेको यसअघि कै रिपोर्टमा उल्लेख छ ।

अमेरिकाको अवस्था पनि यस्तै छ । अमेरिकामा बालबालिका र विद्वानहरुका लागि निस्कने पुस्तकमा बढोत्तरी भएको छ । केही वर्षअघि सम्म अमेरिकामा आख्यानका पुस्तकहरु बढी बिक्री हुन्थे । अहिले यो बजार गैरआख्यानले लिएको छ ।

विश्वका कुनाकाप्चा पुगेर लेखिएका पुस्तकमा अमेरिकीहरुको बढी चासो देखिन्छ । यस्ता पुस्तक लाखौंप्रति बिक्री हुने गरेका छन् । तर, पुस्तक पसलमै गएर पुस्तक किन्ने संख्या भने विस्तारै कम हुन थालेको छ । उनीहरुले अनलाइन संस्करण पढ्ने बानी बढाएका  छन् । अनलाइनमा पाइने पुस्तक सस्तो हुने भएकाले पनि उनीहरुको रुची यसतर्फ बढेको हो ।

संगीत ब्यापारलाई युट्युबले विस्थापित गरेपछि ती पसलहरुमा अहिले श्रृंगारका सामग्री बिक्री हुन थालेका छन् । पहिले प्रारम्भिक सम्झौतामै लाखौं रुपैयाँ लिने गायक-गायिकाहरुले युट्युब च्यानल चलाएका कम्पनीले दिएको रोयल्टीमा चित्त बुझाउनु परेको छ

तैपनि परम्परागत पुस्तक पठनमा कमी नआओस् भनेर अमेरिकाका सार्वजनिक ठाउँहरुमा सिटी लाइब्रेरी स्थापना गर्ने काम तीव्र रुपमा स्थानीय सरकारहरुले बढाएका छन् । यसका लागि अमेरिकी पुस्तक कम्पनी ब्रन्स एण्ड नोभलले बेलायती पुस्तक कम्पनी वाटर स्टोनसँग सहकार्य सुरु गरेको  छ ।

यी दुवै कम्पनी मिलेर अमेरिकी सहरका सीटी लाइब्रेरीहरुमा पुस्तक वितरणको काम सुरु गरेका छन् । यसबाट भएको आम्दानीले न्युयोर्क सिटीमा भएका पुस्तक पसलका महंगो भाडा तिर्न थालेका छन् । सयौं वर्ष पुराना पुस्तक पसल बन्द गर्नु नपरोस् भन्ने योजना अन्तरगत यसो गरिएको ब्रन्स एण्ड नोभलले जनाएको छ ।

फ्रान्स त यो काममा एक पाइला अघि बढेको छ । त्यहाँ पुस्तक र कला व्यापारीलाई सबैभन्दा कम कर लगाइन्छ । सन् १९८१ देखि यता फ्रान्समा पुस्तकमा छुट दिने व्यवस्था पूर्णरुपमा अन्त्य गरिएको छ । सन् ७० को दशकमा फ्रान्सेली प्रकाशकहरुले पुस्तकमा छुट दिएर आफ्नो ब्यापार बढाउने नीति लिएपछि सरकारले यस्तो कदम चालेको थियो । जसरी सुन पसलमा तोकिएको मूल्य मैं सुन किन्न पाइन्छ, पुस्तक सुन जस्तै बहुमूल्य सामग्री भएका कारण यसमा छुट दिनुहुन्न भन्ने फ्रान्सेली सरकारको जिकिर थियो ।

ठूला कम्पनीले दिने छुटका कारण साधारण पुस्तक व्यवशायीलाई आप्ठ्यारो नपरोस् भनेर ल्याएको नीति अहिले पनि कायम छ । फ्रान्स संसारको सबैभन्दा सुसंस्कृत सम्भता भएको मुलक हुनुको कारण पनि पुस्तकलाई महत्व दिने सरकारी नीति पनि हो ।

चिन्ता नेपालकै

एक दशकअघिसम्म काठमाडौंका मुख्य चोकहरुमा क्यासेट बिक्री केन्द्रहरु हुने गर्दथे ।  ती पसलहरुले नेपाली संगीतको ब्यापारलाई ह्वात्तैमाथि उठाएका थिए । तिनीहरुकै बलमा म्युजिक नेपाल, रञ्जना क्यासेट सेन्टर, म्युजिक डट कम जस्ता कम्पनी खुलेका थिए । यी कम्पनीसँग सम्झौता गर्दा रामकृष्ण ढकाल, यम बराल, सुगम पोखरेल, नवीन भट्टराई जस्ता गायकले लाखौं रुपैयाँ पारिश्रमिक पाउने गर्दथे ।

संगीत ब्यापारलाई युट्युबले विस्थापित गरेपछि ती पसलहरुमा अहिले श्रृंगारका सामग्री बिक्री हुन थालेका छन् । पहिले प्रारम्भिक सम्झौतामै लाखौं रुपैयाँ लिने गायक-गायिकाहरुले युट्युब च्यानल चलाएका कम्पनीले दिएको रोयल्टीमा चित्त बुझाउनु परेको छ ।

प्रविधिले ल्याएको यही परिवर्तनको मारमा परेका गायक रामकृष्ण ढकालले घर चलाउन एउटा सहकारीबाट ऋण लिनु परेको र आफ्नो घर गुमाउनु परेको प्रसङ्ग अहिले पनि ताजै छ ।

तर, अरु देशका म्युजिक कम्पनीहरुले भने प्रविधिसँगै आफूलाई परिवर्तन गरे । ती देशहरुका संगीतकर्मीहरुको आम्दानी नयाँ प्रविधिले अझै बढाइदिएको छ । नेपालमा भने नेपाली संगीतलाई प्रवर्द्धन गर्न नसकेको पीडा संगीतकर्मीहरुले भोगिरहनु परेको छ ।

के नेपालमा पनि लेखकका त्यही दिन फर्कन लागेको हो ? यसका लागि नेपाली प्रकाशकहरु के गर्दैछन् ? सरकारले त पुस्तकमा कर लगाएर आफ्नो नियत प्रष्ट पारिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्