२०८३ असार ११

मिनी रंगशाला र बहुप्राविधिक शिक्षालय भवनको अनुगमन गर्दै सांसद दुलाल

चौतारा । सिन्धुपाल्चोक क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य युवराज दुलालले जिल्लामा निर्माणाधीन दुई महत्वपूर्ण पूर्वाधार आयोजनाको अनुगमन तथा निरीक्षण गरेका छन् ।
सांसद दुलालले चौतारास्थित दिनेश रामजी बहुप्राविधिक शिक्षालयको भवन तथा निर्माणको अन्तिम चरणमा रहेको मिनी रंगशालाको स्थलगत अवलोकन गरेका हुन् । निरीक्षणका क्रममा उनले निर्माण कार्यको प्रगति, गुणस्तर तथा बाँकी कामको अवस्थाबारे जानकारी लिएका थिए ।


बहुप्राविधिक शिक्षालयको भवन निर्माण सम्पन्न भएपछि जिल्लाका विद्यार्थीहरूले प्राविधिक तथा व्यावसायिक शिक्षामा सहज पहुँच प्राप्त गर्ने विश्वास व्यक्त गर्दै यो परियोजनाले जिल्लालाई शिक्षाको केन्द्रको रूपमा विकास गर्ने प्रक्रियामा स्तम्भ थपेको बताएका छन् ।


त्यसैगरी, मिनी रंगशालाको निरीक्षणका क्रममा उनले खेलकुद पूर्वाधारको विकासले जिल्लाका खेलाडीहरूको क्षमता अभिवृद्धि तथा खेलकुद गतिविधिको विस्तारमा टेवा पुग्ने बताए । निर्माण कार्यलाई गुणस्तरीय र समयमै सम्पन्न गरी उपयोगमा ल्याउन आवश्यक समन्वय र सहकार्य गर्न उनले जोड दिए ।
अनुगमनका क्रममा प्राविधिक, निर्माण व्यवसायी, जनप्रतिनिधि तथा सरोकारवाला पक्षले आयोजनाको वर्तमान अवस्था तथा बाँकी कामका विषयमा जानकारी गराएका थिए । सांसद दुलालले विकास आयोजनाहरूलाई निर्धारित उद्देश्यअनुसार सम्पन्न गरी जनताले प्रत्यक्ष लाभ लिन सक्ने वातावरण बनाउनुपर्ने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्