चौतारा । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाभित्र रहेका विद्यालयका विद्यार्थीहरूमा निहित सांगीतिक प्रतिभाको खोजी, प्रोत्साहन तथा विकास गर्ने उद्देश्यले अन्तर-माध्यमिक विद्यालय स्तरीय एकल गायन प्रतियोगिता आयोजना गरिने भएको छ।
सिन्धु कला मन्दिर चौताराको आयोजनामा तथा चौतारा साँगाचोकगढी नगरपालिकाको प्रायोजनमा सञ्चालन हुने उक्त प्रतियोगिता यही जेठ २९ गते श्री कृष्ण रत्नगंगा माध्यमिक विद्यालय, चौतारा–५ मा सम्पन्न हुने आयोजकले जनाएको छ।
प्रतियोगितामा नगरपालिकाभित्रका प्रत्येक माध्यमिक विद्यालयबाट एक जना विद्यार्थी प्रतियोगी तथा एक जना शिक्षक प्रतिनिधिको सहभागिता रहनेछ। साथै स्थानीय तहका प्रतिभाशाली विद्यार्थीहरूले समेत प्रतियोगितामा भाग लिन सक्ने व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतियोगीहरूलाई आकर्षक नगद पुरस्कार प्रदान गरिनेछ। प्रथम हुने प्रतियोगीले १० हजार रुपैयाँ, द्वितीय हुनेले ८ हजार रुपैयाँ तथा तृतीय हुनेले ६ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
विशेष आकर्षणका रूपमा प्रतियोगितामा राष्ट्रिय गायक रूपक डोटेल निर्णायकको भूमिकामा उपस्थित रहनेछन्। नेपाली सांगीतिक क्षेत्रमा चर्चित गीत ‘वनकी चरी’ लगायतका लोकप्रिय गीतमार्फत श्रोतामाझ परिचित डोटेलको उपस्थितिले प्रतियोगितालाई अझ विशेष र आकर्षक बनाउने आयोजकको विश्वास छ।
आयोजकले यस सूचनालाई आधिकारिक जानकारीका रूपमा ग्रहण गरी सम्पूर्ण विद्यालयलाई आवश्यक तयारीसहित सहभागिता जनाउन अनुरोध गरेको छ। प्रतियोगिताले विद्यार्थीहरूमा संगीतप्रतिको रुचि अभिवृद्धि गर्नुका साथै स्थानीय स्तरमा लुकेर रहेका प्रतिभाहरूलाई उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्