२०८२ चैत्र १

इनिशा विक हत्याकाण्डको निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाही गर्न माग

सिन्धुपाल्चोक । नेपाल दलित मुक्ति मोर्चा सिन्धुपाल्चोक जिल्ला समितिले सुर्खेत जिल्लामा भएको इनिशा विकमाथि बलात्कारपछि हत्या गरिएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ ।
मोर्चाले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमार्फत प्रधानमन्त्रीको कार्यालय, सिंहदरबारलाई ज्ञापनपत्र बुझाउँदै उक्त घटनाले सम्पूर्ण समाजलाई स्तब्ध र आक्रोशित बनाएको उल्लेख गरेको छ । संगठनका अनुसार यस्तो जघन्य र अमानवीय घटनाले मानवअधिकारको गम्भीर उल्लङ्घन मात्र होइन, दलित समुदायमाथि हुने विभेद, हिंसा र दमनको वास्तविकता पनि पुनः उजागर गरेको छ ।
मोर्चाले जारी गरेको ज्ञापनपत्रमा घटनाको निष्पक्ष, छिटो र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कडा कानुनी कारबाही गर्न माग गरिएको छ । साथै पीडित परिवारलाई राज्यका तर्फबाट उचित क्षतिपूर्ति तथा आर्थिक सहयोग उपलब्ध गराउनुपर्ने, परिवारको सुरक्षा सुनिश्चित गर्नुपर्ने र दलित समुदायमाथि हुने यस्ता अमानवीय हिंसा तथा विभेद रोक्न प्रभावकारी कदम चाल्नुपर्ने माग पनि गरिएको छ ।
त्यसैगरी, घटनाको अनुसन्धान प्रक्रियामा कुनै प्रकारको दबाब, प्रभाव वा लापरवाही हुन नदिन र पारदर्शी ढंगले अनुसन्धान अघि बढाउन समेत आग्रह गरिएको छ।
मोर्चाका जिल्ला संयोजक रविन्द्र कुमार खाती ले मागहरू तत्काल कार्यान्वयन गर्न सरकारसँग आग्रह गर्दै न्याय प्राप्त नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्