२०८२ फाल्गुन २९

सिन्धुपाल्चोकमा २८ उम्मेदवारको जमानत जफत

जमानत जफत

चौतारा/ हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुपाल्चोकका दुवै निर्वाचन क्षेत्रमा उल्लेख्य संख्यामा उम्मेदवारहरूले १० प्रतिशतभन्दा कम मत प्राप्त गरेका छन्। सार्वजनिक मतपरिणामअनुसार क्षेत्र नं. १ र क्षेत्र नं. २ मा गरी २८ जना उम्मेदवार १० प्रतिशत मतको सीमाभन्दा तल रहेका छन्।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा कुल सदर मत ६९ हजार ८८ रहेको छ। यस आधारमा १० प्रतिशत अर्थात् ६ हजार ९०८ मतभन्दा कम प्राप्त गर्ने १४ जना उम्मेदवार रहेका छन्।

उज्यालो नेपाल पार्टीका प्रताप लामाले २ हजार ४२१ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका राममणि न्यौपानेले ४९० मत ल्याएका छन्। मंगोल नेशनल अर्गनाइजेसनका दावा लामाले ३४० मत र श्रम संस्कृति पार्टीका फुर्वा तामाङले २८२ मत प्राप्त गरेका छन्।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का समिर श्रेष्ठले २०१ मत पाएका छन्। राष्ट्रिय जनमोर्चाका दावा ग्याम्छो लामाले ९२ मत प्राप्त गर्दा नेपाल मजदुर किसान पार्टीकी गीता देवी कर्माचार्यले ५६ मत र जनता समाजवादी पार्टी, नेपालका पासाङ शेर्पाले ५५ मत पाएका छन्।

यसैगरी स्वतन्त्र उम्मेदवार सन्तकुमार तामाङले ३९ मत, आम जनता पार्टीका पासाङ तामाङले ३१ मत तथा नागरिक सर्वोच्चता पार्टी नेपालका अशोकबहादुर श्रेष्ठले २९ मत प्राप्त गरेका छन्। स्वतन्त्र उम्मेदवार पदमबहादुर तामाङले २२ मत, मितेरी पार्टी नेपालका राजन सुनचुरीले २० मत र स्वतन्त्र उम्मेदवार सानु तामाङले १७ मत प्राप्त गरेका छन्।

त्यस्तै प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा कुल सदर मत ७४ हजार ३८५ रहेको छ। यस आधारमा १० प्रतिशत अर्थात् ७ हजार ४३८ मतभन्दा कम प्राप्त गर्ने १४ जना उम्मेदवार रहेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपीकृष्ण चौलागाईले १ हजार ६८१ मत प्राप्त गरेका छन् भने उज्यालो नेपाल पार्टीका रामसिं तामाङले १ हजार २३८ मत ल्याएका छन्। मंगोल नेशनल अर्गनाइजेसनका कर्णवीर स्यांवु लामाले १५९ मत प्राप्त गर्दा श्रम संस्कृति पार्टीका भानु श्रेष्ठले १२९ मत पाएका छन्।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का सोमान लामाले १२१ मत प्राप्त गरेका छन् भने राष्ट्रिय मुक्ति पार्टी नेपालका मिङमर तामाङले ९९ मत ल्याएका छन्। नागरिक सर्वोच्चता पार्टी नेपालका सेरबहादुर तामाङले ४७ मत प्राप्त गर्दा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दावा छिरिङ शेर्पाले २९ मत पाएका छन्।

यसैगरी स्वतन्त्र उम्मेदवार विजु श्रेष्ठले २५ मत, दीपक ढकालले २४ मत र नेपाल मजदुर किसान पार्टीका म्हेन्दो तामाङले १७ मत प्राप्त गरेका छन्। आम जनता पार्टीका गणेशबहादुर श्रेष्ठ र स्वतन्त्र उम्मेदवार सुन्दर अधिकारीले समान ११–११ मत प्राप्त गरेका छन् भने मितेरी पार्टी नेपालका महेश कुँवरले ४ मत मात्रै पाएका छन्।

निर्वाचन कानुनअनुसार उम्मेदवारले आफ्नो क्षेत्रमा खसेको कुल सदर मतको १० प्रतिशतभन्दा बढी मत प्राप्त गरे मात्र जमानत रकम फिर्ता हुने व्यवस्था छ। १० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको धरौटी भने राज्यको ढुकुटीमा जम्मा हुने कानुनी प्रावधान रहेको छ।

प्रतिक्रिया दिनुहोस्