बाह्रविसे । हातमा गुलाब बोकेर घर–घरमा मतदाता भेट्दै हिँडिरहेका छन् ३३ वर्षीय युवा उम्मेदवार समिर श्रेष्ठ । राजनीतिशास्त्रमा विद्यावारिधि (पिएचडी) अध्ययनरत श्रेष्ठ सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ बाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपा (माओवादी) का तर्फबाट उम्मेदवार बनेका हुन् ।
युवा, रोजगारी र भ्रष्टाचारको अन्त्यलाई मुख्य एजेन्डा बनाएर चुनावी मैदानमा होमिएका श्रेष्ठले जिल्लाले भोग्दै आएका दीर्घकालीन समस्याको समाधानका लागि आफू उम्मेदवार बनेको बताउँदै आएका छन्। “भूकम्प, बाढी–पहिरो, गरिबी र राज्यको बेवास्ता सहँदै आएको यो जिल्ला सधैं शासकहरूको उपेक्षामा पर्यो,” उनी भन्छन्, “जिल्लाका समस्यालाई सम्बोधन गर्दै युवालाई आफ्नै देशमा स्वरोजगार बनाउने स्पष्ट योजनासहित म जनताको घरदैलोमा पुगेको हुँ।”
संसदमा देशभक्त र जनपक्षीय प्रतिनिधित्व नभए राष्ट्रको अस्तित्व नै संकटमा पर्न सक्ने उनको भनाइ छ। “जेन–जी आन्दोलनको भावना अनुसार सरकार निर्माण हुन सकेन भने र त्यसअनुसार संसदमा प्रतिनिधित्व नभए देशको सार्वभौमसत्ता खतरामा पर्छ,” उनले भने । मतदाताले नयाँ विकल्पको खोजी गरिरहेको दाबी गर्दै श्रेष्ठले आफू र आफ्नो पार्टी नै वास्तविक नयाँ शक्ति भएको जिकिर गरे ।
श्रेष्ठले अग्राधिकारसहितको समाजवादी संघीयता, पूर्ण समानुपातिक प्रतिनिधिसभा, कर्मचारी प्रशासन, न्यायालय, सुरक्षा निकाय र आर्थिक क्षेत्रमा समानुपातिक सहभागिता, नयाँ भूमि व्यवस्था, शिक्षा, रोजगारी र स्वास्थ्यको सुनिश्चितताजस्ता विषयलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन् । यस्ता व्यवस्थाले नेपाललाई वास्तवमै एकीकृत, आत्मनिर्भर र स्वाधीन बनाउन सक्ने उनको भनाइ छ ।
“राजनीतिक परनिर्भरता नतोडेसम्म देशले स्थिरता, आत्मनिर्भरता र समृद्धि प्राप्त गर्न सक्दैन,” उनी भन्छन्, “अहिलेको निर्वाचन नेपाली जनताले जित्नुपर्ने एउटा महत्वपूर्ण लडाइँ हो । मतमार्फत यो लडाइँ जित्न म सम्पूर्ण मतदातालाई अपिल गर्दछु।” पार्टीले निरन्तर भ्रष्टाचार, जनघात, राष्ट्रघात, करछली, मानव तस्करीजस्ता विषयविरुद्ध र समाजवादको पक्षमा संघर्ष गर्दै आएको भन्दै जनताले पार्टीलाई विजयी गराउने विश्वाससमेत उनले व्यक्त गरे ।
काठमाडौँलाई उत्तरी छिमेकी चीनसँग जोड्ने अरनिको राजमार्ग, प्रमुख व्यापारिक नाका तातोपानी र जुगल हिमालसम्म फैलिएको सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ मा श्रेष्ठसहित १८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यस क्षेत्रमा नेकपा एमालेबाट सरेश नेपाल, नेपाली कांग्रेसका जिल्ला सभापति जंगबहादुर लामा, नेकपा (एकीकृत समाजवादी) का माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट भरत पराजुली, राप्रपाबाट राममणि न्यौपाने, उज्यालो नेपाल पार्टीबाट प्रताप लामा, मंगोल नेसनल अर्गनाइजेसनका दावा लामालगायत उम्मेदवार चुनावी मैदानमा छन् ।
प्रतिक्रिया दिनुहोस्