२०८२ माघ ९

प्रदेश सांसद दुलालको राजीनामा, सिन्धुपाल्चोक–२ बाट प्रतिनिधिसभा उम्मेदवारी दिने

युबराज दुलाल

चौतारा/ बागमती प्रदेशसभा सदस्य युवराज दुलालले प्रदेश सांसद पदबाट राजीनामा दिएर सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिने भएका छन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले टिकट दिएपछि दुलालले माघ ६ गते हुने मनोनयन दर्ताअघि सभामुखसमक्ष इमेलमार्फत राजीनामा बुझाएका हुन्।

दुलाल २०७४ र २०७९ को निर्वाचनमा सिन्धुपाल्चोक २ (क) बाट प्रतिस्पर्धा गर्दै दुवैपटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। दुई कार्यकाल गरी आठ वर्षको प्रदेशसभा अवधिमा उनी अधिकांश समय सरकारमा रहेर काम गरेका थिए।

उनले २०७४ देखि २०७७ सम्म बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र २०७९ देखि २०८१ सम्म भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।

प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिन प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएको दुलालको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्