चौतारा | भोलि असोज ३ गते मनाइने संविधान दिवस २०८३ को लाई सफल र भव्य बनाउने उद्देश्यले आज शुक्रबार चौतारास्थित बुद्धपार्क जाने बाटो तथा सिँढी सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । संविधान दिवसको अघिल्लो दिन सञ्चालित यस सरसफाइ अभियानले क्षेत्रलाई सफा, स्वच्छ र आकर्षक बनाउँदै आगामी समारोहलाई थप भव्य बनाउने उद्देश्य राखेको छ ।

जिल्ला समारोह समिति सिन्धुपाल्चोकको आयोजनामा सञ्चालित यस सरसफाइ कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक, इन्द्रध्वज गण लगायत जिल्लाका विभिन्न सरकारी कार्यालयका कर्मचारी र नागरिक समाजका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो । सहभागीहरूले बुद्धपार्क जाने मुख्य बाटो र सिँढीहरूमा जमेको फोहोर, धुलो तथा झारपात हटाउँदै क्षेत्रलाई सफा र व्यवस्थित बनाउने कार्यमा उत्साहका साथ योगदान गरे ।
कार्यक्रमका क्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका नगर उपप्रमुख सीता थापाले संविधान दिवसको महत्त्वबारे आफ्ना धारणा राख्नुभयो र यसखाले सामुदायिक सहभागितामूलक कार्यक्रमहरूले नागरिकहरूमा एकता, स्वामित्व र जिम्मेवारीको भावना बढाउने विश्वास व्यक्त गरिन् । साथै वडा नं ५ का अध्यक्ष शिव श्रेष्ठले पनि कार्यक्रममा आफ्नो उपस्थिति जनाउनुका साथै सरसफाइमा संलग्न सबैलाई धन्यवाद दिदै यस्ता अभियानहरू निरन्तर हुनुपर्ने आवश्यकतामा जोड दिए ।

यसैगरी संविधान दिवसको अवसरलाई थप उत्साहका साथ मनाउन आज साँझ चौतारा टुँडिखेल फल्चामा दीप प्रज्वलन कार्यक्रम पनि आयोजना गरिएको थियो, जसमा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । दीपहरूको उज्यालोले टुँडिखेल क्षेत्र नै उत्सवमय बनेको थियो ।
आयोजकहरूका अनुसार भोलि असोज ३ गते संविधान दिवसको मुख्य दिनमा बिहान चौतारामा प्रभातफेरी समेत निकालिने छ, जसमा सरकारी कर्मचारी, राजनीतिक दलका प्रतिनिधि तथा सर्वसाधारण नागरिकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । प्रभातफेरीपछि विभिन्न औपचारिक कार्यक्रमहरू समेत आयोजना हुने जिल्ला समारोह समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्