२०८१ श्रावण १२
                           

चौतारा अस्पतालमा प्रसूति शल्यक्रिया सेवा सुरु

चौतारा- जनशक्ति अभावमा रोकिएको शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा चौतारा अस्पताल सिन्धुपाल्चोकले पुनः सञ्चालनमा ल्याएको छ ।
अस्पतालले दक्ष जनशक्ति नभएको जनाउँदैे शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा बन्द गरेको थियो । डा. अशोक यादवलाई अस्पतालले नियुक्त गरेसँगै यही आइतवारदेखि सेवा सुरु गरिएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.अमित प्रजापतिको सक्रियता, सामाजिक विकास मन्त्रालय, बागमती प्रदेश र स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाको सहयोगमा अस्पतालले शल्यक्रियामार्फत सुत्केरी सेवा प्रवाह गरेको हो । सिइवोएन्सी सेवा सुरु गरिएसँगै जिल्लावासीलाई अन्यत्र जानुपर्ने बाध्यता हट्नुको साथै वाहिर लानुपर्दा हुने लाखौँ रुपैयाँ खर्च र ज्यानको जोखिम दुबै कम भएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अमित प्रजापतिले भने– ‘बच्चा उल्टो बसेको, बच्चा खेल्ने पानी सुकेको, सुत्केरी हुन तोकिएको म्याद नाघेर पनि सुत्केरी हुन नसकेकालगायतका जटिल प्रकारका शल्यक्रिया पनि सफल रूपमा हुन थालेको छ ।’ शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा सुरु गरे संगै २ जनाको सफल शल्यक्रिया भएको छ । उनले थपे– ‘अत्यधिक रगत चाहिने अवस्था र आईसीययूमै भर्ना गर्नुपर्ने अवस्था बाहेक अन्य सबै प्रकृतिका गर्भवतीको सेवामा हामी २४ सै घण्टा सेवा दिन सक्छौं ।’ अस्पतालबाट करारमा डक्टर र एनेश्थेसिया एसिस्टेन्ट नियुक्त गरी आकस्मिक र जटिल प्रसूति सेवा २४ सै घण्टा सेवा उपलब्ध गराइएको हो । सेवा सञ्चालनपछि जटिल अवस्थाका गर्भवतीलाई सहज पुगेको अस्पतालका डा. अशोक यादवले बताए ।
प्रसूति सेवा रोकिँदा धेरै गर्भवती जिल्ला छोडेर अन्यत्र सहर जान बाध्य भएका थिए । जटिल अवस्थाका गर्भवतीलाई अस्पताल ल्याइँदा पनि सेवा छैन भनी सुत्केरी गराउन धुलिखेल, थापाथलीमा पठाउनुपर्दाको क्षण अत्यन्त पीडादायी हुने स्वास्थ्यकर्मीहरूले बताए । मातृशिशु मृत्युदर घटाउने उद्देश्यले जटिल (शल्यक्रिया) प्रसूति सेवा गृह जिल्लामा उपलब्ध गराउने सेवालाई निरन्तरता दिइएको हो ।
ग्रामीण भेगका महिलामा चेतना बढ्दै गएकाले सुरक्षित सुत्केरी गराउन अस्पताल आउनेको संख्या बढ्दै गएको डा. सदिना देवकोटाले बताइन् । कतिपय महिला नियमित स्वास्थ्य चेकजाँचविना नै एकैपटक सुत्केरी गराउन अस्पताल आउने गरेकाले कहिलेकाहीँ समस्या हुने गरेको उनको भनाइ छ । अस्पतालमा ब्लड बैंकको व्यवस्था नहुँदा भने तत्काल शल्यक्रिया गर्नुपर्ने अवस्थामा समस्या हुने भन्दै उनले त्यस्तो अवस्थामा रगत दिने मान्छे खोजेर समस्या समाधान गर्ने गरिएको बताइन् ।
अस्पतालले निःशुल्क शल्यक्रियालगायत अन्य आवासीय र थप आवश्यकीय सेवा पनि उपलब्ध गराउँदै आएको छ । साधारण सुत्केरीका लागि खाना, बस्नका साथै तिन हजार सहित शिशु र आमाका लागि कपडासमेत उपलब्ध गराउँदै आएको छ ।  अस्पतालमा अस्पताल प्रमुख डा. अमित प्रजापति, एएसबीए तालीम प्राप्त डा. अशोक यादव, डा. सदिना देवकोटा, एनेस्थेशिया एसिस्टेन्ट विवेकानन्द यादव, स्टाफ नर्सहरू ज्ञानी खड्का, नानीछोरी अदुवालगायत समूहले शल्यक्रिया गर्ने गरेको छ । १५ शैयायाको जिल्ला अस्पतालमा अन्य सुविधा जस्तै रक्तसञ्चार गृह, आईसीयू कक्षको अभाव भएकाले सेवा प्रवाहका जटिलता हुने गरेको छ । जिल्लाका ४१ स्थानमा सुत्केरी केन्द्र (बर्थिङ सेन्टर) भएता पनि शल्यक्रियामार्फत प्रसूति सेवा भने जिल्ला अस्पतालमा मात्र हुन्छ ।
उपचारका लागि बाहिर जाँदा धेरै खर्च हुने समस्या अब समाधान भएको छ । अस्पतालले जनस्वास्थ्यलाई मध्यजनर गरेर थपेको सेवाप्रती स्थानीयहरु खुसी छन् ।

प्रतिक्रिया दिनुहोस्