२०८२ फाल्गुन २१

स्थानीय सरकारको पहलमा आँखाको उज्यालो फर्कियो : चौतारामा ८९ जनाको सफल मोतिबिन्दु शल्यक्रिया

चौतारा साँगाचोकगढी नगरपालिकामा सञ्चालन गरिएको दुईदिने निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सफलतापूर्वक सम्पन्न भएको छ । पौष २० र २१ गते सञ्चालन भएको उक्त शिविरबाट ८९ जना ज्येष्ठ नागरिकले आँखाको सफल शल्यक्रिया गराएका छन् ।
नगर स्वास्थ्य शाखा प्रमुख दिनेश नेपालका अनुसार ५१ वर्षदेखि ९४ वर्ष उमेर समूहका नागरिकहरूको मोतिबिन्दुको शल्यक्रिया गरिएको हो । शल्यक्रियापछि दृष्टि फर्किएसँगै ज्येष्ठ नागरिकहरूको अनुहारमा खुसी र आत्मविश्वास झल्किएको देखिन्थ्यो ।
तिलगंगा आँखा अस्पतालका वरिष्ठ आँखा रोग विशेषज्ञ डा. रबा थापाको नेतृत्वमा आएको चिकित्सक टोलीले शल्यक्रिया सम्पन्न गरेको हो । नगरपालिकाले यसअघि नै नगरका १४ वटै वडामा चरणबद्ध रूपमा आँखा परीक्षण शिविर सञ्चालन गरी मोतिबिन्दु पहिचान भएका बिरामीलाई आफ्नै खर्चमा चौतारामा ल्याएर शल्यक्रिया गराएको जनाएको छ ।


चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद सापकोटाका अनुसार गत वर्ष सञ्चालन गरिएको निःशुल्क आँखा परीक्षण तथा उपचार कार्यक्रम प्रभावकारी बनेपछि यस वर्ष पनि निरन्तरता दिइएको हो। “स्थानीय तहबाटै नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने उद्देश्यले यो कार्यक्रम अघि बढाइएको हो,” उनले बताए ।

यस्तै, उपप्रमुख सिता थापाले मोतिबिन्दुको शल्यक्रिया सुरक्षित र भरपर्दो हुने भन्दै यसबारे फैलिएको नकारात्मक सोच त्याग्न नागरिकलाई आग्रह गरिन् । साथै, स्थानीय सरकारले घरदैलोमै ल्याएका स्वास्थ्य सेवाको अधिकतम लाभ लिन उनको अनुरोध थियो ।
शिविरमा चौतारा साँगाचोकगढी नगरपालिकाका साथै छिमेकी जुगल गाउँपालिकाबाट समेत ३० जना ज्येष्ठ नागरिक सहभागी भई मोतिबिन्दुको शल्यक्रिया गराएका थिए । स्वास्थ्य सेवामा पहुँच विस्तार गर्दै ज्येष्ठ नागरिकको जीवनस्तर सुधारमा सहयोग पुगेको स्थानीयको प्रतिक्रिया रहेको छ ।

प्रतिक्रिया दिनुहोस्