२०८२ फाल्गुन २१

साँगाचोकमा सीपमूलक तालिम, फुर्सदको समय आम्दानीमा रूपान्तरण हुने विश्वास

सिन्धुपाल्चोक — चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १२ साँगाचोकमा १२ दिने डल तथा कुसन बनाउने तालिम सफलतापूर्वक सम्पन्न भएको छ । प्रदेश युवा परिषदको आर्थिक सहयोग तथा सम्पूर्ण सीप तथा सचेतना प्रा.लि.को आयोजनामा सञ्चालित उक्त तालिममा विभिन्न उमेर समूहका करिब २५ जना महिलाहरूको सक्रिय सहभागिता रहेको थियो ।
तालिम अवधिभर सहभागी महिलाहरूलाई डल तथा कुसन डिजाइन गर्ने, काट्ने, सिलाइ गर्ने, सजावट गर्ने र बजारमा बिक्रीयोग्य बनाउने व्यावहारिक ज्ञान प्रदान गरिएको थियो । साथै, स्थानीय बजारको माग, लागत मूल्य निर्धारण तथा साना घरेलु व्यवसाय सञ्चालनसम्बन्धी आधारभूत जानकारीसमेत दिइएको आयोजकले जनाएको छ ।


तालिम समापन समारोहमा वडा नं. १२ का अध्यक्ष दिपेन्द्र नेपालले महिलाहरूको सीप र क्षमताको विकासमार्फत आर्थिक आत्मनिर्भरता हासिल गर्न यस्ता तालिम प्रभावकारी हुने बताए । उनले स्थानीय तहले महिला लक्षित सीपमूलक कार्यक्रमलाई निरन्तरता दिँदै रोजगारी सिर्जनामा जोड दिने उल्लेख गरे ।प्रदेश युवा परिषदका कार्यालय प्रमुख लोकबहादुर वाइवाले सीप विकाससँगै आत्मविश्वास बढाउनु नै कार्यक्रमको मुख्य उपलब्धि भएको बताउँदै सिकेको सीपलाई व्यवसायमा रूपान्तरण गर्न सहभागीहरूलाई प्रेरित गरे ।


तालिमकी प्रशिक्षक श्रृजना तिमल्सिनाले छोटो समयमै सहभागी महिलाहरूले राम्रो सीप हासिल गर्न सफल भएको बताउँदै यो सीपले घरमै बसेर फुर्सदको समय सदुपयोग गरी आम्दानी गर्न सकिने सम्भावना रहेको बताइन् ।


कार्यक्रम संयोजक रूपक दुलालले तालिम महिलाहरूको सशक्तीकरण, स्वरोजगार र आर्थिक समावेशीताका लागि महत्त्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा यस्ता थप सीपमूलक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी दिए ।
१२ दिनसम्म सञ्चालित तालिमले महिलाहरूलाई कम लगानीमा सानो व्यवसाय सुरु गर्न प्रेरित गरेको विश्वास व्यक्त गरिएको छ । सहभागी महिलाहरूका अनुसार यो तालिमले घरायसी कामसँगै आयआर्जनको अवसर प्रदान गरेको छ । सहभागीहरूले कार्यक्रम आयोजना गर्ने संस्था सम्पूर्ण सीप तथा सचेतना प्रा.लि. तथा प्रदेश युवा परिषदलाई धन्यवाद व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्