चौतारा साँगाचोकगढी नगरपालिका–११ मा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट २०१ जनाले सेवा लिएका छन्। शिविरमा १५४ जना महिला र ४७ जना पुरुषले विभिन्न स्वास्थ्य सेवा प्राप्त गरेका हुन्।
शिविरमा फिजियोथेरापी सेवा लिनेको संख्या ९९ रहेको छ, जसमा ७६ जना महिला र २३ जना पुरुष रहेका छन्। यस्तै, ४५ जना महिलाले पाठेघरको मुखको क्यान्सर परीक्षण गराएका छन्।
नगरपालिकाले आधारभूत स्वास्थ्य सेवाको पहुँच स्थानीय तहसम्म विस्तार गर्ने उद्देश्यसहित वडा–वडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको जनाएको छ। बाँकी १४ वटै वडामा पनि क्रमशः यस्तो शिविर विस्तार गरिने नगरपालिकाको योजना रहेको छ।
जनस्वास्थ्य सेवा ऐन, २०७५ र नियमावली, २०७७ अनुसार आधारभूत स्वास्थ्य सेवाभित्र समावेश फिजियोथेरापी सेवालाई व्यवहारमा उतार्दै वडास्तरमै सेवा पु¥याइनु चौतारा साँगाचोकगढी नगरपालिकाको उल्लेखनीय पहल मानिएको छ। कानुनी व्यवस्था हुँदाहुँदै पनि धेरै स्थानीय तहमा प्रभावकारी कार्यान्वयन हुन नसकेको अवस्थामा नगरपालिकाको यो अभियानलाई जनस्वास्थ्यतर्फको सकारात्मक र अनुकरणीय कदमका रूपमा हेरिएको छ।
यसैगरी शिविरमा आँखा परीक्षण सेवा पनि प्रदान गरिएको थियो। आँखा परीक्षण गराउनेको संख्या १५६ रहेको छ, जसमा १११ जना महिला र ४५ जना पुरुष रहेका छन्। परीक्षणका क्रममा ५ जनामा मोतियाविन्दु पुष्टि भएको नगरपालिकाले जनाएको छ।
बागमती प्रदेश सभा सदस्य युवराज दुलालसमेत शिविर स्थलमा पुगेर स्वास्थ्य सेवाको अनुगमन गरेका थिए।
नगर स्वास्थ्य शाखा प्रमुख दिनेश नेपालका अनुसार, परीक्षणबाट शल्यक्रियाका लागि छनोट भएका सेवाग्राहीको चौतारामै मोतियाविन्दु शल्यक्रिया गरिने व्यवस्था गरिएको छ। छनोट भएका बिरामीका लागि पौष २० र २१ गते अप्रेसन शिविर सञ्चालन गरिने उनले जानकारी दिए।
रेडियो सिन्धुबाट
प्रतिक्रिया दिनुहोस्