काठमाडौँ/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच बृहत् एकता सम्बन्धी ऐतिहासिक सम्झौता भएको छ।
सोमबार सम्पन्न सम्झौता अनुसार रास्वपाका अध्यक्ष रवि लामिछाने पार्टीको केन्द्रीय सभापति कायमै रहने छन् भने आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने सहमति भएको छ।
मुख्य बुँदाहरु:
दल र चिन्ह: पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ कायमै रहनेछ। साथै दलको झण्डा निलो पृष्ठभूमिमा सेतो गोलाकार बीचमा निलो घण्टीको आकृति तथा चुनाव चिन्ह ‘घण्टी’ यथावत रहनेछ।
जेन-जी आन्दोलनप्रति प्रतिबद्धता: सहमतिपत्रमा गत भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनका शहीद तथा घाइतेहरुका मागलाई यथोचित सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको छ।
दशवर्षे लक्ष्य: अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्र कार्यान्वयनप्रति दुवै पक्ष समर्पित भएका छन्।
अन्य शक्तिलाई आह्वान: सम्झौताले लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य परिवर्तनकामी राजनीतिक शक्ति, समूह र व्यक्तिहरुलाई पनि आह्वान गरेको छ।
यो सम्झौतापछि आगामी निर्वाचनमा तेस्रो शक्तिको रुपमा रास्वपा थप बलियो हुने अपेक्षा गरिएको छ। मेयर शाहको जनप्रियता र लामिछानेको राजनीतिक अनुभवको संयोजनले नेपाली राजनीतिमा नयाँ समीकरण बन्ने विश्लेषकहरुको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्