२०८२ पुष ७

लाभगाउँमा विद्यार्थीलाई न्यानो कपडा, शैक्षिक सामग्री वितरण तथा स्वास्थ्य शिविर सम्पन्न

लाभगाउँ/ मेलम्ची नगरपालिका–८ स्थित लाभगाउँ आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा, शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ।

कान्छीमाया तामाङ फाउन्डेसनका संस्थापक डा. दिलबहादुर थोकरको उपस्थितिमा आयोजित कार्यक्रममा विद्यालयका ३० भन्दा बढी विद्यार्थीलाई न्यानो कपडा प्रदान गरिएको हो।

कार्यक्रमसँगै सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ३५ जनाले स्वास्थ्य परीक्षण गराएका थिए। परीक्षणपछि आवश्यक औषधि पनि निःशुल्क वितरण गरिएको आयोजकले जनाएको छ।

यस्तै, कार्यक्रमको अवसरमा समाजसेवी लाफिङ बुद्ध गुरु शेरबहादुर तामाङले विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गर्नुभएको थियो।

सिन्धु स्पाइडर युवा क्लबका अध्यक्ष अरुण तामाङ र गायक सुक्री दोङलगायत काठमाडौंमा बसोबास गर्ने वडावासी समाजसेवीहरूको पहल तथा व्यवस्थापनमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा विद्यालयले सहयोगी संस्थाहरू तथा व्यक्तिहरूलाई सम्मानपत्र प्रदान गरेको थियो।

कार्यक्रमका अवसरमा डा. थोकरले विद्यालय तथा स्थानीय क्षेत्रको वस्तुस्थिति बुझ्दै आगामी दिनमा पनि यस्तै सहयोगात्मक कार्यक्रम लिएर पुनः आउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

वडा अध्यक्ष जितबहादुर दोङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा तामाङ चलचित्र निर्देशक संघका महासचिव विनय दोङ, समाजसेवी मेन्दो गोले, माया शेर्पालगायतको उपस्थिति रहेको थियो।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष चेङा स्याङबोको अध्यक्षतामा भएको कार्यक्रममा छिमेकी विद्यालय जलवाई देवी माध्यमिक विद्यालयका अध्यक्ष जलबहादुर दोङलगायत विभिन्न सामाजिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

सिन्धु स्पाइडर युवा क्लबका अध्यक्ष अरुण तामाङले जाडोको समयमा विद्यालयमै आएर बालबालिकालाई चिसोबाट बचाउने उद्देश्यले न्यानो कपडा वितरण गरिएकोमा सहयोगी संस्था तथा व्यक्तिहरूप्रति धन्यवाद व्यक्त गर्नुभयो।

चिसो मौसममा न्यानो कपडा पाउँदा विद्यार्थीहरू खुसी भएका छन् भने ग्रामीण क्षेत्रमा घरमै स्वास्थ्य परीक्षण गराउन पाउँदा स्थानीयवासीले सन्तोष व्यक्त गरेका छन्।

विद्यालयका प्रधानाध्यापक दीपक खड्काले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि अविरत रूपमा काम भइरहेको बताउँदै हाल नियमित साप्ताहिक अतिरिक्त क्रियाकलाप सञ्चालन गर्नुका साथै बाल मनोविज्ञानलाई मध्यनजर गर्दै शिक्षण–सिकाइ प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो।

शैक्षिक गुणस्तर र विद्यार्थीको स्वास्थ्यलाई एकसाथ ध्यानमा राखी गरिएको सहयोगप्रति आभार व्यक्त गर्दै उहाँले आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा रहेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्