सिन्धुपाल्चोक/ चौतारा साँगाचोकगढी नगरपालिका–१, स्याउलेमा ११ वर्षीया बालिका कुनसाङ तामाङमाथि छिमेकीद्वारा गरिएको अमानवीय कुटपिटप्रति अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) चौतारा साँगाचोकगढी नगर समितिले घोर निन्दा गरेको छ।
संगठनले सार्वजनिक गरेको विज्ञप्तिमा मोबाइल चोरीको आरोपमा रमेश श्रेष्ठ, उनकी श्रीमती मंगली श्रेष्ठ तथा छोराहरू सुसन र सुशील श्रेष्ठले बालिकामाथि तातो झिर, सिस्नो र शारीरिक यातना दिई कुटपिट गर्नु केवल गैरकानुनी मात्र नभई सम्पूर्ण मानवतामाथिको अपमान भएको उल्लेख छ। विशेषगरी श्रेष्ठ जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा कार्यरत रहेकाले यो घटनाले प्रहरी संस्थाकै नैतिकता र जिम्मेवारीबारे गम्भीर प्रश्न उठाएको संगठनको भनाइ छ।
“यो केवल एउटा परिवारमाथि भएको अन्याय मात्र होइन, संविधान, बाल अधिकार ऐन र अन्तर्राष्ट्रिय सन्धि–सम्झौतामाथिको प्रत्यक्ष उल्लंघन पनि हो,” विज्ञप्तिमा भनिएको छ। बालमैत्री वडा घोषणा गर्ने तयारी भइरहेको बेलामा त्यही क्षेत्रमा बालिकामाथि हिंसा हुनु अझ विडम्बना भएको संगठनले टिप्पणी गरेको छ।
संगठनका माग
अनेरास्ववियु (क्रान्तिकारी) नगर समितिले घटनाप्रति चार बुँदे माग सार्वजनिक गरेको छ।
१. घटनामा संलग्न सम्पूर्ण व्यक्तिलाई तत्काल निष्पक्ष छानबिन गरी कडा कानुनी कारबाही गर्नुपर्ने।
२. पीडित बालिकाको निःशुल्क उपचार, मनोवैज्ञानिक सहयोग र दीर्घकालीन सुरक्षा व्यवस्था राज्यले सुनिश्चित गर्नुपर्ने।
३. प्रहरी संगठनले आफ्ना कर्मचारी वा परिवार संलग्न घटनामा शून्य सहिष्णुता नीति अपनाई उदाहरणीय कारबाही गर्नुपर्ने।
४. स्थानीय तह/वडा कार्यालयले बालमैत्री नीति व्यवहारमै लागू गर्ने गरी तुरुन्तै ठोस कदम चाल्नुपर्ने।
नगर समितिले यस्तो अमानवीय घटनाविरुद्ध सशक्त आवाज उठाउँदै न्याय सुनिश्चित नभएसम्म निरन्तर संघर्ष गर्ने चेतावनी दिएको छ।
प्रतिक्रिया दिनुहोस्