२०८१ श्रावण १२
                           

पहिला खानेपानीकै अभावमा बसाईसनुपर्ने अवस्था, अहिले तरकारी बेचेर कमाउदै

दिपक खत्री /साउन ११ — बलेफी गाँउपालिका –६ डाँडाकटेरीका स्थानीयले भुकम्प पश्चात् चलिरहेको मुहानबाट पानी आपुर्ति बन्द भएपछि खानेपानी समस्या झेले । वर्षौसम्म काकाकुलको अवस्थामा बस्नुपरेको १८ घरधुरी खानेपानीकै अभावमा बसाईसनुपर्ने अवस्थामा पुगेको थियो । नुहाइ धुवाइ गर्न त त्यस्तै हो, पानी खानकै लागि धौ–धौ हुन थाल्यो । बस्तुभाउलाई खुवाउन पनि गाडिमा पानी बोकेर ल्याउनुपर्ने अवस्था थियो । गाउँमूनि २५० मिटर तल बसेरी खोलामा पानी बगेर त्यसै खेर जान्थ्यो ।

यसका लागि ठूलो धनराशी चाहिन्थ्यो, त्यत्रो पैसा गाउँलेसँग थिएन । उनीहरुले संघसंस्थालाई हारगुहार गरे । जापानको परराष्ट्र मन्त्रालयले २९ लाख ५९ हजार १ सय ९७ रुपैया ९३ पैसा दिने भयो । पिस विन्ड्स जापान मार्फत खानेपानी पहुँच तथा कृषि आय सुधार आयोजनाले स्थानीय साझेदार संस्थाको रुपमा काम गर्न अग्रसरता देखायो । स्थानीयले जुक्ति निकाले बसेरी खोलाको पानी लिफ्टिङ गरेर तान्ने र खानेपानी अभावको समाधान निकाल्ने ।

सौर्य उर्जाबाट पम्पिङ गरी बसेरीखोला डाँडाकटेरी खानेपानी आयोजना नाम दिएर २०७७ साल मंसिर २२ गतेदेखि स्थानीय निर्माणमा कस्सिए । ४ महिनामै गाउँलले सौर्य उर्जाबाट पम्पिङ गरी पहराबाट पाईप राखेर खानेपानी आयोजना सम्पन्न गरेर बसेरीखोला पानी सदुपयोग गर्ने सपना साकार पारे । ६७ हजार रुपैयाँ बराबर श्रमदानै स्थानियले गरे । स्थानीयका हरेक घरमा अहिले खानेपानी धारा जडान भएको छ । उनीहरु अहिले भरपुर खानेपानी प्रयोग गरिरहेका छन् । तल मुहानबाट माथि गाउँसम्म पुराउनका लागी दुई ठाउँमा ३—३ एच.पी.को पम्प र सोलार सञ्चालन गर्ने ९—९ वटा सोलार प्यानल जडान गरीएको छ । मुहानका बिचमा र गाउँको शिरमा गरी तीन ठाँउमा ५ हजार लिटरको सङ्कलन ट्यांकी निमार्ण गरिएको छ ।

मुहानमा बनाएको इन्टेकबाट पानीलाई मुहान तल रहेको संकलन ट्याङ्कीमा जम्मा गरिन्छ । उक्त सङ्कलित पानीलाई सोलार पम्पको सहयोगमा बीचमा रहेको ट्यांकीमा पुर्‍याउँछ । बिचको ट्यांकीमा संकलन भएको पानी फेरी सोलार पम्पकै सहायताले गाउँको शिरमा रहेको ट्यांकीमा सङ्कलन गरिन्छ । किफायती प्रविधिको जडानसँगसँगै सोलार प्यानल र पम्प सम्बन्धी आधारभुत तालिम उपभोत्ता समितिलाई सस्थाले दिएको छ ।

यो संगै यस्तै काकाकुल अवस्थामा रहेका बस्तीमा धोबिनीखोला गहते कामिश्वारा ,सिस्नेरी उनेचौर तल्लो गाँउ,अधेरी खोला सुनखानी ,जामुने खोला ढाँड, कदमफेद पिपलटार खानेपानी आयोजना गरी ६ वटा खानेपानी आयोजना सम्पन्न गरीएको पिस विन्ड्स जापानका टिम लिटर डा. रामचन्द्र भुषलले बताउनुभयो

अहिले तरकारी बेचेर आम्दानी गर्छन् स्थानिय


यि आयोजनाले खानेपानी मात्र दिएको छैन, स्थानियको कृषि आय सुधार पनि भएको छ । टोलमा नै पानी आउन थालेपछि पिउनको लागि मात्रै होइन तरकारी खेती गर्नका लागि पनि सजिलो भएको छ ।
पानीको सुबिधापछि स्थानीयले तरकारी खेतिबाट कमाउन पनि थालेका छन् । स्थानिय मनमाया तामाङ भन्नुहुन्छ – ‘धारो राखेदेखि द्येरै सजिलो भएको छ । लसुन ,प्याज ,साग खान खाचो भएको छैन । एक वर्षमा एउटा टनेल भित्रको गोलभेडा बेचेर ३५ हजार कमाइ भयो ।’
तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि स्थानियले तरकारी खेतीलाई विस्तार गरेका बलेफी गाउँपालिका अध्यक्ष गंगा तामाङ बताउनुहुन्छ । टनेलमा मल्चिङ र थोपा सिँचाइ प्रविधिको प्रयोगले उत्पादन दोब्बरले वृद्धि भएकाले तरकारी खेतीतर्फ किसानहरु थप आकर्षित भएका हुन् । “खुल्ला जग्गामा खेती गर्दा खासै राम्रो भएन विस्तारै टनेल बढाउँदै गयौँ ” स्थानिय नेत्र तामाङले भन्नुभयो । उहाँ भन्नुहुन्छ ,“टनेलमा भर्खर लगाइएका गोलभेँडाका बिरुवादेखि फल्न थालेको गोलभेँडा र टिप्नका लागि तयारी गोलभेँडा छन्, टनेलबाट दोब्बर आम्दानी हुँदोरहेछ ।”


अहिले खुर्सानि , गोलभेडा , घिरौला , बन्दा, फर्सिको मुन्टा , करेला , धनिया , काक्रो , घिराउला , सिमि , काउलि जस्ता तरकारी फलाएर किसानले मनग्य आम्दानी गरीरहेको आइस्यापका जिल्ला कार्यक्रम संयोजक गोपिकृष्ण दगांलले बताउनुभयो । विगतमा एक घण्टाको बाटो हिडेर पानी ल्याउनुपर्ने अवस्थाका बस्तीमा अहिले घर घरमा धारा निमार्ण भएको छ । पानीको सुविधा भएपछि तरकारी खेती गरेर कृषकको आम्दानीमा ५२ प्रतिसतले वृद्धि भएको बलेफी ४ का वडा अध्यक्ष सुर्य तामाङले बताउनुभयो ।
खानेपानी पहुँच तथा कृषि आय सुधार आयोजनाबाट मेलम्ची नगरपालिका वडा नं ९ का १५ कृषक समुहका २ सय २१ घरधुरी , सुनकोशी गाँउपालिका वडा नं ६ का १० कृषक समुहका २ सय घरधुरी र बलेफी गाँउपालिका ,वडा नं ४ र ६ का २ सय ५६ घरधुरी लाभान्वित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्