सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका–७ सानोसिरुवारीदेखि वडा नं. १० जल्केनीसम्म जोड्ने सडकको मंगलबार शिलान्यास गरिएको छ ।
करिब २ करोड ३० लाख रुपैयाँ लागतमा निर्माण हुने उक्त सडकको शिलान्यास बागमती प्रदेशसभा सदस्य तथा पूर्व भौतिक पूर्वाधार मन्त्री युवराज दुलालले गरेका हुन । सडक बागमती प्रदेशको पूर्वाधार विकास कार्यालयको बजेटमा निर्माण हुने र सम्झौताअनुसार २०८३ असार १५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
सडक शिलान्यास कार्यक्रममा सांसद दुलालले प्रदेश सरकारले प्रदेश सडक गुरु योजनाअन्तर्गत ग्रामीण सडक सञ्जाल विस्तारलाई प्राथमिकता दिएको उल्लेख गर्दै यस सडकले यातायात तथा आवतजावत सहज बनाउने र कृषि उत्पादनको वसारपसारमा महत्वपूर्ण भूमिका खेल्ने बताउदै आफू भौतिक पूर्वाधार मन्त्री रहेका बेला करिब २५० वटा सडकलाई प्रदेश सडकको रूपमा घोषणा गरी विस्तार गर्ने कार्य भएको उल्लेख गरे ।
त्यसैगरी वडा नं ७ का अध्यक्ष डम्बर बहादुर तामाङले सडकको संरक्षण, सरसफाइ र सुन्दरता कायम राख्ने जिम्मेवारी स्थानीयको रहेको उल्लेख गर्दै सानाेसिरूवारी र सिंगो सिन्धुपाल्चोकको विकासमा महत्त्वपूर्ण भुमिका खेल्दै आएका प्रदेश संसद युवराज दुलाललाई धन्यवाद प्रकट गरे । उनले सांसद दुलाललाई सिन्धुपाल्चोकको भुमिमा फुलेको एक सुन्दर बिरुवासरहको व्यक्तित्वको रूपमा चित्रण गरेका छन् ।
भदौरे गणेश जेभीले ठेक्का लिएको सो सडकमा कालोपत्रे गरिनुको साथै प्लम ढलान, ढलान र पर्खालहरु समेत लगाउने काम गरिने ठेकेदार कम्पनीले जनाएको छ । । सडक निर्माण सम्पन्न भएपछि यसले स्थानीय जनजीवनमा ठूलो सकारात्मक प्रभाव पार्ने अपेक्षा समेत गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्