२०८२ भाद्र ११

कोदारी खण्डको अवरोध हट्दै, व्यापार पुनः सुचारु, ५ सय कन्टेनर भित्रिने तयारी

सिन्धुपाल्चोक । तीन सातादेखि अवरुद्ध अरनिको राजमार्गअन्तर्गत कोदारी खण्ड सञ्चालनमा आएको छ । साउन १७ गते खसेको ठूलो पहिरोका कारण सडक आवागमन बन्द भएको थियो ।

सडक डिभिजन कार्यालय चरिकोटको पहलमा नेपाल हिमालय सीमापार, नेपाल ट्रक कन्टेनर ढुवानी प्रालि, विभिन्न यातायात व्यवसायी तथा स्थानीय सरकारको सक्रियतामा सडक सफा गरी सञ्चालनमा ल्याइएको हो ।

सडक खुलेसँगै ४४ वटा कन्टेनर सामान नेपाल प्रवेश गरिसकेको उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष बुद्धराज बस्नेतले जानकारी दिनुभयो । त्यस्तै, नेपालतर्फबाट २० वटा कन्टेनर सामान लिन चीन प्रवेश गरिसकेका छन् ।

दशैँ लक्षित सामग्री र फलफूल लगातार यस नाकामार्फत नेपाल भित्रिरहेको छ । यससँगै चीनको न्यालम, ढिङ्ग्रे, खासा र जाङ्बु पोर्टमा रोकिएका करिब ५ सय कन्टेनर पनि सडकमा थप अवरोध नआए दुई दिनभित्र नेपाल प्रवेश गर्ने अपेक्षा गरिएको छ ।

यद्यपि, अझै निरन्तर वर्षा जारी रहँदा फेरि सडक अवरुद्ध हुने सम्भावना कायम रहेको अधिकारीहरूले जनाएका छन् । करिब २० दिनसम्म सडक बन्द हुँदा व्यापारीहरूले ठूलो घाटा बेहोर्नुपरेको र कतिपय सामानहरू पहिरो पारीबाट बोकेर ल्याउनुपर्ने अवस्था पनि सिर्जना भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्