सिन्धुपाल्चोक – चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा शैक्षिक सत्र २०८१ मा एसईई परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरूलाई सम्मान गर्दै बधाई तथा शुभकामना कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ।
सहिद स्मृति प्रतिष्ठान भवन, चौतारामा आयोजित विशेष समारोहमा प्रमुख अतिथि रूपमा प्रतिनिधिसभा सदस्य माधव सापकोटाको उपस्थित रहेको थियो भने विशेष अतिथि रूपमा बागमती प्रदेशसभाका सदस्य सरल सहयात्री पोैडेल र अमृता नेपालको उपस्थिति रहेको थियो। साथै कार्यक्रममा प्रमुख जिल्ला अधिकार, सुरक्षा निकायका प्रमुखहरू नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरू, विद्यालयका प्रधानाध्यापकहरू, शिक्षकहरू लगायतको पनि उपस्थित रहेको थियो। त्यसैगरी कार्यक्रमको अध्यक्षता नगर प्रमुख कृष्णप्रसाद सापकोटाले गरेका थिए।
शिक्षा प्रेमी, विद्यार्थी, शिक्षक लगायत समाजका प्रतिष्ठित व्यक्तहरूको उपस्थित रहेको उक्त समारोहको उद्घाटन प्रमुख अतिथि सापकोटाले पानसमा दीप प्रज्वलन गरि गरेका थिए ।कार्यक्रमका क्रममा शैक्षिक सत्र २०८० सालको आधारभुत तहको परिक्षा, माध्यमिक शिक्षा परिक्षा र कक्षा १२ को बोर्ड परिक्षाको समग्र ओैसत जि.पि.ए र सामाजिक परिक्षण मापदण्ड २०७८ बमोजिम कार्यसम्पादनमा प्रथम स्थान हासिल गर्ने श्री सेतीदेवी मा.वि ठूलो सिरूवारीलाई प्रमाणपत्र सहित नगद रू. ३ लाख र दोस्रो स्थान हासिल गर्ने सिद्ध गणेश मा.वि लाई प्रमाणपत्र सहित नगद रू. २ लाख प्रदान गरिएको थियो ।
एसईई परिक्षामा सर्वोत्कृष्ट जि.पि.ए ( ४.००) ल्याई उत्तीर्ण गर्ने रेजिना स्याङतान लाई विशेष सम्मानका साथ प्रमाणपत्र सहित १० हजार प्रदान गरिएको थियो। साथै उत्कृष्ट जि.पि.ए ( ए पल्स ) का साथ उत्तीर्ण विद्यार्थीहरूलाई प्रमाणपत्र सहित ५ हजार प्रदान गरिएको थियो। त्यसै अन्य सम्पुर्ण उत्तीर्ण विद्यार्थीहरूलाई पनि नगर प्रमुखसहित अतिथिहरूले प्रमाणपत्र वितरण गर्दै उज्ज्वल भविष्यका लागि शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माधव सापकोटाले विद्यार्थीहरूलाई शुभकामना दिदै वर्तमान समय प्रतिस्पर्धाको रहेको र आफ्नो ज्ञान सीप र क्षमतालाई थप विकास गर्दै लैजानुपर्ने अवस्थ रहेको बताउदै यसका लागि विद्यार्थीहरूलाई प्रेरित गरे। साथै उनले नगरपालिकाले शिक्षाको क्षेत्रमा गरेको कामको प्रशंसा गर्दै भने ” तपाईहरूको मेहनतले व्यक्तिगत चाहना र सपना पुरा गर्ने मात्र होइन समाज र राष्ट्रलाई समेत अघि बढाउन एक महत्त्वपूर्ण योगदान दिनुपर्ने छ र यसका लागि नगरपालिकाले हामी तपाईहरूको साथमा छोै भन्ने एउटा भरोसा, विश्वास दिलाउन यो कार्यक्रमको आयोजना गरेको हो यसका लागि सिङ्गो नगर परिवारलाई धन्यवाद “।
विद्यार्थीहरूको बधाई तथा शुभकामनाको यस सुखद अवसरमा विभिन्न विषयमा उत्कृष्ट नतिजा हासिल गराउन महत्त्वपूर्ण भुमिका खेल्ने शिक्षकहरूलाई समेत सम्मान गरिएको थियो। यसले शिक्षकशिक्षिकाहरूको मनोबलमा थप वृद्धि गराउने अपेक्षा नगरपालिकाले गरेको छ।
त्यस्तै बागमती प्रदेशसभाका सदस्य सरल सहयात्री पोडेलले कार्यक्रमलाई सम्बोधन गर्दै विद्यार्थीहरूलाई निरन्तर मेहनत, अनुशासन र सकारात्मक सोचका साथ अघि बढ्न सुझाव दिएका छन्। उनले एसईई पास गर्नु मात्र यात्रा सुरु भएको संकेत हो भन्दै अबको यात्रामा आत्मविश्वास, इमान्दारी र लगनशीलता अति आवश्यक रहेको उल्लेख गर्दै शिक्षाले व्यक्तिको जीवन मात्र होइन, समाज परिवर्तन गर्ने आधार तयार पार्ने भएकाले विद्यार्थीहरूलाई समाजप्रति उत्तरदायी र योगदान गर्न सक्ने नागरिक बन्न प्रेरित गर्नुपर्नेमा पोडेलले जोड दिए।
त्यसै गरि बागमती प्रदेशसभाका सदस्य अमृता नेपालले कार्यक्रममा बोल्दै विद्यार्थीहरूको सफलताको खुशीयालीमा सहभागी हुन पाउँदा आफू अत्यन्त हर्षित भएको बताए। एसईई परीक्षा जीवनको एउटा महत्वपूर्ण मोड भएको उल्लेख गर्दै अबको यात्रा अझ चुनौतीपूर्ण र जिम्मेवारीपूर्ण बन्ने हुँदा सबै विद्यार्थीहरूले पढाइ प्रति समर्पित बन्न आवश्यक रहेको धारणा राख्दै शिक्षा मार्फत समानता र सशक्तीकरण सम्भव हुने कुरामा जोड दिए।
नगर प्रमुख कृष्णप्रसाद सापकोटाले कार्यक्रम समापन गर्दै एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई र शुभकामना व्यक्त गरे। उनले शिक्षालाई जीवन परिवर्तनको मूल आधार भन्दै विद्यार्थीहरूलाई निरन्तर मेहनत, अनुशासन र सकारात्मक सोचका साथ अघि बढ्न प्रेरित गर्दै नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखी भविष्यमा पनि यस्ता प्रोत्साहनात्मक कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले शिक्षामा सबैको समान पहुँच सुनिश्चित गर्न अभिभावक, शिक्षक र स्थानीय सरकारबीचको सहकार्य अत्यावश्यक रहेको र विद्यार्थीहरूको सफलताको पछाडि रहेका अभिभावक र शिक्षकहरूको योगदानलाई पनि विशेष धन्यवाद दिए।
प्रतिक्रिया दिनुहोस्