२०८१ चैत्र ११
                           

पाठेघरको मुखको क्यान्सर र आँखा सम्बन्धि शिविर जारी

मोतियाविन्दु भएकाहरुलाई निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविरमा सेवा लिन चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्ण प्रसाद सापकोटाले आग्रह गरेका छन् । हाल नगरपालिकाको सबै वडाहरुमा शिविर भइरहेकाले सेवा लिन नगरबासीलाई अनुरोध समेत गरे ।

यही फागुन १५ गतेदेखि क्रमश प्रत्येक वडाको तोकिएको स्वास्थ्य संस्थाहरुमा चौतारा साँगाचोकगढी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा पाठेघरको मुखको क्यान्सर सम्बन्धि प्रारम्भिक जाँच एवं मोतियाविन्दु (आँखा सम्बन्धि ) निशुल्क स्वास्थ्य परिक्षण शिविर सञ्चालन भइ्हेको छ ।

बिहिबार वडा नं ११ स्थित भीमटार आधारभुत स्वास्थ्य सेवा केन्द्रमा १ सय ५ जना वडाबासिहरुले सेवा लिएका छन् । जसमध्ये महिला ७८ जना र पुरुष २७ जना रहेका छन् । शिविरमा ४७ जना महिलाहरुको पाठेघरको मुखको परिक्षण गरिएको थियो । जसमध्ये १ जनालाई क्यान्सरका लक्षण देखिएको र विरामीलाई थर्मकोगुलेसन प्रविधिबाट उपचार गरिएको छ भने केही महिलाहरुमा आङ खस्ने समस्या देखिएको थियो ।

यस्तै आँखा परीक्षणमा ११ जनालाई मोतियाविन्दु भएको पाइएको जनस्वास्थ्य अधिकृत दिनेश नेपालले जानकारी दिए । यीमध्ये पनि ६ जनाको दुवै आँखामा मोतियाविन्दु भएको पाइएको नेपालले बताए ।

नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा फागुन १६ गते वडा नं ८ इर्खु स्वास्थ्यचौकी, फागुन १७ गते वडा नं ६ स्थित वडा कार्यलयमा पाठेघरको मुखको क्यान्सर सम्बन्धि प्रारम्भिक जाँच एवं मोतियाविन्दु आँखा सम्बन्धि निशुल्क शिविर हुने जनस्वास्थ्य अधिकृत नेपालले जानकारी दिए ।


उनका अनुसार फागुन १८ गते वडा नं १ स्याउले स्वास्थ्यचौकी, फागुन १९ गते वडा नं ३ बतासे स्वास्थ्यचौकी , फागुन २० गते वडा नं २ बतासे आधारभुत स्वास्थ्य सेवा केन्द्र, फागुन २१ गते वडा नं १० जल्किने स्वास्थ्यचौकीमा शिविर हुनेछ ।

उक्त शिविरमा पहिचान भएका मोतियाविन्दु विरामीहरुलाई नगरपालिकाको आयोजना र नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको प्राविधिक सहयोगमा फागुन २०,२१ र २२ गते निशुल्क शल्यक्रिया गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्